राजनीति
बृहत पुर्व माओवादीहरुको एकता सुरु, विप्लवसँग वार्ता गर्न कपिलवस्तु पुगे महरा, बाबुराम एकता गर्न तयार

प्रकाशित मिति । ३० पुस, २०७९ ।

विप्लवसँग वार्ता गर्न कपिलवस्तु पुगे महरा, एकताको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग वार्ता गर्न कपिलवस्तु पुगेका छन् । दुई पार्टीबीच एकताको बारेमा चन्दसँग छलफल गर्न महरा कपिलवस्तु पुगेका हुन् ।

भेटमा महराले पूर्व माओवादी जोड्न लागेकाले चन्दलाई पनि पार्टी एकतामा आउन आग्रह गरेका थिए । विप्लव निकट एक केन्द्रीय सदस्यका अनुसार भेटमा महाराले सबै माओवादी मिलेर प्राप्त उपलब्धिको रक्षा गरौँ भनेका थिए । ती नेताका अनुसार विप्लव भने तत्काल पार्टी एकता र सहकार्यका लागि तयार छैनन् ।

विप्लव नेतृत्वको नेकपाको माघ पहिलो साता बस्ने केन्द्रीय समितिको बैठकले आगामी कार्यदिशा र वाम धुव्रिकरणका विषयमा छलफल हुने जनाइएको छ ।

यसैबीचमा माओवादी केन्द्रले वामपन्थी पार्टी र समूहबीच एकताका लागि वार्ता गर्न कार्यदल बनाएको छ । शनिबार काठमाडौंमा बसेको माओवादीको पदाधिकारीको बैठकले कम्युनिस्टहरूका बीच एकताका लागि कार्यदल बनाएको हो ।

कार्यदलको संयोजकको जिम्मेवारी उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ । कार्यदलमा महासचिव देव गुरुङ, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सदस्य रहेका छन् ।

कार्यदलले नेकपा (एकीकृत समाजवादी)सहितका कम्युनिस्टहरूसँग छलफल गर्नेछ । यसअघि एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पनि वार्ताका लागि कार्यदल बनाएका छन् ।

माओवादीले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकताको प्रयास गरिरहेको छ । बाबुरामको पार्टीले माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएको थियो ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी विभाजनमा विदेशी शक्तिको पनि हात रहेको बताएका छन् । शुक्रबार संवाद डबलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले आफूहरुका कमजोरी बताउँदै महराले विदेशी शक्ति माओवादीलाई निशस्त्रीकरण, आकार घटाउन र घृणा पैदा गर्ने अभियानमा लागेको बताए ।

माओवादी केन्द्रका प्रवक्तासमेत रहेका महराले माओवादी नेताले दुई बाटो हिँडेको र दुवै बाटोबाट गन्तव्यमा पुग्न नसकेको बताए । ‘एकथरी माओवादी नेता एम्बुसको बाटोमा हिडे र एकथरी त्यसलाई छल्नुपर्छ भन्दै संसदको बाटोमा । किरण–विप्लव पनि आफू हिडेको बाटोमा अगाडि बढ्न सक्नुभएन । हामी पनि दलदलमा फस्यौं । सबैले आआफ्ना आत्मसमिक्षा गर्न जरुरी छ’, महराले भने ।

आत्मसमिक्षासहित सबै कम्युनिष्ट एक ठाउँमा नआएसम्म समाजवादमा पुग्न नसकिने महराले ठोकुवा गरे । उनले समाजवादको लागि छलफल र बहस गर्न साझा मंच बनाउन आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले अहिलेको व्यवस्थाकै निरन्तरताबाट समाजवादमा पुग्न नसकिने भन्दै क्रमभंग आवश्यकता रहेको बताए । उनले परिवर्तनको लागि एकता हुनुपर्नेमा जोड दिए ।

बास्तोलाले नेपालको संसदीय व्यवस्था निरंकुश रहेको बताउँदै दलाल पूँजीवादबाट पूँजीवादमा पुग्नलाई पनि आन्दोलन आवश्यक रहेकोसमेत बताए ।कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का नेता परि थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्य,

नेकपाका केन्द्रीय सदस्य चिरन पुन, राजु कार्की, जागृत रायमाझी, अरुण गुरुङलगायतले वैज्ञानिक समाजवादीको लागि विभाजित कम्युनिस्ट नेताले नयाँ शिराबाट एकठाउँमा आउनु आजको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले कार्यपत्र प्रस्तुत गरेका थिए भने तिलक थापा मगरले कार्यक्रम संचालन गरेका थिए ।

केही समय अगाडि पछिल्लो भूमिगत जीवनबाट सार्वजनिक भएको लामो समय भइसक्दा पनि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिएनन् । तर, उनले अचानक बुधबार खुमलटार गएर प्रचण्डसँग भेटघाट गरे।

सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र अन्य दुई केन्द्रीय सदस्यसहित प्रचण्ड निवास खुमलटार पुगेका विप्लवले पूर्व माओवादी घटकहरुबीच एकताको प्रस्ताव प्रचण्डसँग गरेका छन् ।

‘बदलिएको परिस्थितिमा सहकार्य र साझेदारीको प्रस्ताव लिएर प्रचण्डलाई भेट्न विप्लव खुमलटार जानु भएको हो,’ खुमलटारनिकट स्रोत भन्छ, ‘पुरानो माओवादीहरुबीचमा एकीरकणबारे छलफल भएको हो । पुरानो एमाले मिल्छ भने पुरानो माओवादी पनि मिल्नुपर्‍यो नि।’

पूर्व माओवादी घटकहरुबीच एकताको विषयमा कुरा भएको हो भन्ने प्रश्नमा प्रचण्डको निजी सचिवालयका एकजना सदस्यले भने-‘सबै कम्युनिष्टहरु ध्रुविकृत हुनुपर्छ, केन्द्रिकृत हुनुपर्छ भनेर अध्यक्ष्यले सार्वजनिक रुपमा आह्वान गरिरहनु भएको छ । यो विषयमा कुरा नहुने भन्ने हुँदैन।’

माओवादी विद्रोहको महत्वपूर्ण समयमा साथमै रहे पनि विप्लव पछिल्लो समय प्रचण्डको कटु आलोचक मानिन्छन् । उनले लामो समय प्रचण्डसँग भेटवार्ता गरेका थिएनन् । प्रचण्डको पहलमा शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको भोलिपल्ट प्रचण्ड भेट्न विप्लव खुमलटार पुग्नुलाई धेरैले अर्थपूर्ण मानेका छन् ।

तर, प्रचण्डको निजी सचिवालय भने आज भेट्नुका पछाडि विशेष कारण नभएको बताउँछ। ‘अहिलेका समसामयिक विषयमा कुराकानी भयो,’ ती सदस्य भन्छन्, ‘भेटौं भन्ने कुरा पहिले नै भइरहेको थियो, आज समय मिलेर भेटेको हो । अरु यसको कारण केही छैन् ।’

अब दुई नेताहरुबीच नियमित भेटघाट हुने बताइएको छ । भेटघाटको पहल दुवै तर्फबाट भएको थियो । पूर्व पोलिटव्युरो सदस्य एवम् प्रदेशसभा सदस्य बीबी खराल, पूर्वमाओवादी बाल सैनिक संगठनका अध्यक्ष लेनिन विष्टलगायतले भेटघाटको पहल गरेका थिए।

गत फागुन २१ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लवबीच तीन बुँदे सहमति भएको थियो।

विप्लवले ओली सरकारले उक्त सहमति पालना नगरेर धोका दिएको भन्दै नयाँ सरकारले आफूसँगका सहमति कार्यान्वयन गर्नुपर्ने माग समेत प्रचण्डसँग गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय