काठमाडौँ ।

नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ ।

प्रचण्ड र नेपालसँग तिक्ततापूर्ण सम्बन्ध राख्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा एमालेका दोस्रो तहका नेताहरू नेपाललाई राष्ट्रपति दिएर भए पनि नेकपा एससँग तत्काल पार्टी एकताको छलफलमा जुटेका छन् ।

यो छलफललाई सहज हुनेगरी प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालसँग सरकारमा सहभागी हुन औपचारिक वार्ता थालेका छन् । प्रचण्ड र एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमको जोडबल र पार्टी केन्द्रीय कमिटीदेखि जिल्ला नेतृत्वसम्मको सुझावका आधारमा नेपाल सरकारलाई निःशर्त समर्थन गर्न भने तयार भइसकेका छन् ।

बुधबार नेपालले केन्द्रीय कमिटीका सदस्य, जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज र जिल्ला कमिटीका अध्यक्ष, सचिवहरूको भर्चुअल बैठक राखेर सरकारमा सहभागिता र वाम एकताका विषयमा सुझाव मागेका थिए ।

पार्टीका अधिकांश नेताहरूले प्रचण्ड नेतृत्वको सरकारलाई तत्काल समर्थन गर्न र विगतका गल्ती कमजोरीको समीक्षा गरी भावी दिनमा मनमुटाव नहुने ग्यारेन्टीसहित एकताको गृहकार्य गर्न पार्टी अध्यक्ष नेपाललाई म्यान्डेट दिइसकेका छन् ।

एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन्। एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेताहरूले नेपालसँग भेटघाट गरी नेकपा एसका नेताहरूलाई पुरानो घरमा फर्कन आग्रह गर्दै एकताको प्रयास थालेका हुन्।

मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि नै नेता नेपालसँग निरन्तर भेटघाट गरिरहेका एमालेका नेताहरूले संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन्। यही सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले मंगलबार साँझ नेकपा एसका अध्यक्ष नेपालसँग भेटघाट गरी एमालेको धारणा राख्दै पुरानै पार्टीमा फर्कन आग्रह गरेका थिए।

उनले एमालेभित्र सम्मानजनक स्थान दिने बताउँदै पार्टी एकता वा समाहितका लागि प्रस्ताव राखेका थिए। नेकपा एसका नेता एवं नेपालका सम्धी सोमप्रसाद पाण्डेको घरमा उनीहरूबीच भेटघाट भएको थियो।

सो भेटघाटमा उनीहरूले सम्भावित योजना र सरकारको विषयमा पनि छलफल गरेको स्रोतको दाबी छ। यद्यपि उनीहरूबीचको भेटघाटबारे कुनै धारणा सार्वजनिक गरिएको छैन।

एमाले र माओवादी केन्द्रभित्र वाम एकताको पक्षमा वकालत गर्दै आएका नेताहरूको प्रतिनिधित्व गर्दै पौडेलले अध्यक्ष नेपालसँग भेटघाट गरी एमालेमै फर्कन आग्रह गरेका थिए।

यस विषयमा एमाले अध्यक्ष ओलीकै पहलकदमी रहनुपर्ने धारणा नेकपा एसबाट आएको स्रोतको दाबी छ। अर्थमन्त्री पौडलेले भेट्नुअघि एमालेकै पूर्वउपाध्यक्ष वामदेव गौतमले पनि नेता नेपाललाई भेटेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय