राजनीति निकै निर्दयी हुन्छ । कुनबेला कसलाई कहाँ पुर्याउँछ कसैले सोच्नसमेत सक्दैन । कसैले कल्पनै नगरेको घटना राजनीतिमा भइदिन्छ ।

६ महिनाअघि मात्र पार्टी खोलेर राजनीतिमा होमिएका पूर्वसञ्चारकर्मी रवि लामिछाने अहिले देशको शक्तिशाली गृहमन्त्री छन् । यिनै रवि जो न्युज २४ र ग्यालेक्सीफोरके टेलिभिजनमा कार्यक्रम चलाउँदा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नानाथरी आरोप लगाउँथे ।

‘केपी बा’ र ‘नानीका बा’ प्रचण्डलाई चुनावमा हराउनुपर्ने भन्दै कराउँथे । ‘केपी बा’ र ‘नानीका बा’ बाट नेपालको राजनीतिले पार पाउँदैन भन्थे । पार्टी खोले । आफू सभापति बने । देशभर भाषण गर्न गए ।

जहाँ जहाँ पुगे त्यहाँ त्यहाँ ‘केपी बा’ र ‘नानीका बा’ कै कारण राजनीति प्रदूषित भएको बताए । चर्चा बटुले । वाहवाही कमाए । तर, अहिले तिनै ‘केपी बा’ र ‘नानीका बा’ ले बस भन्दा रवि बस्ने, उठ भन्दा उठ्नुपर्ने अवस्थामा छन् ।

अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउन हतारहतार बालकोट पुगेर सही धस्काए । साढे दुई वर्षपछि ‘केपी बा’ लाई प्रधानमन्त्री बनाउन सहमति गरिसकेका छन् ।

आखीरमा तिनै ‘केपी बा’ र ‘नानीका बा’ लाई बोक्नुपर्ने थियो भने गालीगलौज किन गरेको ? त्यो एउटा फगत राजनीतिक स्टन्ट थियो ? रवि लामिछानेमाथि अहिले जनस्तरमा उठेको प्रश्न हो यो ।

‘केपी बा’ र ‘नानीका बा’ लाई बोक्ने अनि उनीहरूकै सरकारमा बसेर सुशासन गर्छु, भ्रष्टाचार नियन्त्रण गर्छु, तपाईहरु हेर्दै जानोस् भन्ने रविको अभिव्यक्ति भ्रमबाहेक केही होइन ।

ठूल्ठूला गफ हाँक्ने रवि अब संसदमा जहिल्यै रक्षात्मक अवस्थामै बस्नुपर्ने हुन्छ । किनभने सुधार गर्छु भन्ने ठाउँमा उनी पुगेका छन् । सबैभन्दा पहिले बालुवाटार काण्डका एक नाइके अर्थमन्त्री विष्णु पौडेलमाथि उनले कारबाही गरेर देखाउन् । यो समाचार मिडिया डबली डट कमबाट साभार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय