निषेधित क्षेत्रमा प्रवेश गरेपछि हेलिकोप्टर नियन्त्रणमा

प्रकाशित मिति ।

संखुवासभा — संखुवासभाको भोटखोला गाउँपालिकाको हटियामा अनुमति बिना निषेधित क्षेत्रमा हेलिकोप्टर उडान गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अल्टिच्युड एयरको हेलिकोप्टर नियन्त्रणमा लिएको हो ।

गृह मन्त्रालयले दिएको उडान अनुमति अनुसार उडान नभरी हेलिकोप्टर सिधैं निषेधित क्षेत्रमा गएपछि प्रहरीले अल्टिच्युड एयरको ९ एन एएमएक्स कल साइन भएको हेलिकोप्टर नियन्त्रणमा लिएको छ ।

भोटखोला गाउँपालिकाको जेनेरेटर बोकेर काठमाडौंबाट उडेको हेलिकोप्टरले निषेधित क्षेत्रमा जानुभन्दा पहिले जिल्ला प्रहरी कार्यालय खाँदबारीमा अवतरण गरेर जाँच पछि मात्रै भोटखोलाको हटिया उडान गर्ने अनुमति लिएको थियो ।

प्रहरीले हेलिकोप्टरका पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएर प्रहरीचौकी हटियामा राखेको भोटखोला गाउँपालिकाका अध्यक्ष वागंछेदर भोटेले बताए । उनका अनुसार हेलिकोप्टरले भोटखोला गाउँपालिकाको माक्पालुंगमा रहेको टेलिकमको टावर सञ्चालनका लागि जनेरेटर ल्याएको थियो ।

चौकीका प्रहरी, दुरसञ्चारका कर्मचारी लगायतको रोहवरमा जनेरेटर हेलिकोप्टरबाट निकालिएको उनले बताए ।

प्रहरीले भने यस घटनाबारे गृहलाई पत्र लेखी पठाउन लागेको र गृहकै निर्देशन अनुसारको कामकारबाही गरिने जनाएको छ ।

पोखरा विमानस्थल : प्रसन्नता र प्रश्न

आधा शताब्दीदेखिको सपना र दशक लामो गृहकार्यको उपलब्धिस्वरूप पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई उद्घाटन हुनु निःसन्देह खुसीको कुरा हो । अन्नपूर्ण हिमशृंखलाको ‘आँगन’ पोखराको पर्यटकीय सम्भावनालाई यो विमानस्थलले अझै व्यापक बनाउने अपेक्षा राख्न सकिन्छ ।

चौबीसै घण्टा उडान–अवतरण गर्न सकिने पूर्वाधार र देशमै पहिलो पटक ‘प्यासेन्जर बोर्डिङ ब्रिज’ सुविधासहितको विमानस्थलले तालहरूको सहरका रूपमा परिचित यस सुन्दर नगरीमा अझै हिस्सी थप्ने निश्चित छ । तथापि, महँगो ऋण लिएर बनाइएको विमानस्थल सञ्चालनमा उचित ध्यान पुर्‍याइएन भने अहिले हर्षबढाइँको विषय बनेको यो परियोजनाले कुनै विन्दुमा पुगेर मुलुकलाई पिरोल्न पनि सक्छ । तसर्थ, राष्ट्रिय गौरवको नाम दिइएको यस विमानस्थललाई बेलैदेखि सुव्यवस्थित ढंगले चलाउने प्रबन्ध मिलाउनु अपरिहार्य छ ।

पुरानो विमानस्थलदेखि तीन किलोमिटर पूर्व छिनेडाँडा क्षेत्रको २ सय हेक्टर क्षेत्रफलमा निर्मित विमानस्थलको आइतबार उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडान भने फागुन दोस्रो सातापछि मात्रै हुनेछ । पुस अन्तिमसम्म एरो थाईले क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडानको विस्तृत प्रतिवेदन बुझाउने तालिका छ ।

त्यसपछि नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को प्रावधान अनुसार एआईपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन) मा त्यसलाई प्रकाशन गर्नेछ, जसको अवधि ४२ दिन हुन्छ । अनि मात्रै यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि योग्य मानिनेछ । आशा गरौं, योजना अनुसारै अन्तर्राष्ट्रिय उडान थालिनेछ, र गत जेठमा मात्रै सञ्चालनमा ल्याइएको भैरहवास्थित मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलकै नियतिबाट यो नगुज्रियोस् भनेर पनि उत्तिकै हेक्का पुर्‍याइनेछ ।

चिनियाँ ऋणमा बनेको पोखरा विमानस्थलबारे आजै सम्पूर्ण रूपमा नकारात्मक दृष्टिकोण राख्न पक्कै जरुरी छैन, तर यसको अर्थ यो परियोजनाउपर आलोचनात्मक चेत नै राख्न हुन्न भन्ने होइन । मुलुकको आफ्नै क्षमताले बनेका होऊन् या विदेशी अनुदान–ऋणमा, जुनसुकै परियोजनाको पनि हरकोणबाट लाभ–लागत विश्लेषण गरिएको हुनुपर्छ, त्यही अनुरूप त्यसको सञ्चालनमा ध्यान दिइनुपर्छ । ऋणमार्फत बनाइने परियोजनाका हकमा त झनै सतर्कता अपनाउनुपर्छ । त्यस हिसाबले यो विमानस्थल पनि प्रश्नातीत छैन ।

सर्वप्रथम त, उद्घाटनको पूर्वसन्ध्यामा काठमाडौंस्थित चिनियाँ दूतावासले यो विमानस्थल आफ्नो महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को एक हिस्सा भएको बताएको छ । नेपालले यसअघि नै बीआरआईमा हस्ताक्षर गरिसकेको सन्दर्भमा यो विमानस्थल उक्त परियोजनाकै एक हिस्सा नै हो भने पनि खासै फरक पर्ने त केही होइन, तर नेपाली अधिकारीहरूले यसलाई चिनियाँ बुझाइ मात्र भएको र दस्तावेजले त्यस्तो नबोल्ने बताएका छन् ।

यो फरक–फरक धारणा आफैंमा आश्चर्यर्जनक छ । तात्त्विक अन्तर धेरै नपर्ने भए पनि बीआरआई आफैंमा भूराजनीतिक परियोजना भएकाले यस्ता विषयहरू पारदर्शी र दुवै देशका अधिकारीहरूको न्यूनतम समान बुझाइमा आधारित हुन जरुरी छ । कम्तीमा जे हो त्यो दस्तावेजमा बोलिनुपर्छ, जे होइन त्यो भनिनु हुन्न ।

विमानस्थल निर्माणबारे दुई देशका अधिकारीहरूले पटक–पटकको वार्तापश्चात् ऋण सम्झौता गरे पनि यो काम पारदर्शी तवरले भएको भने थिएन । कतिपय वैदेशिक परियोजनाका दस्तावेजजस्तो यो सम्बन्धी कागजात सार्वजनिक पहुँचमा पनि छैन ।

नेपाल सरकारले सन् २०१६ मार्चमा चीनसित यो विमानस्थल बनाउन करिब साढे २१ करोड अमेरिकी डलर ऋण लिने सम्झौता गरेको थियो । यसको २५ प्रतिशत निर्ब्याजी हो भने बाँकीको वार्षिक २ प्रतिशतका दरले ब्याज तिर्नुपर्छ । ऋणको अवधि २० वर्षको मात्रै छ । वार्षिक १ प्रतिशतभन्दा कम ब्याज तिर्नुपर्ने र लामो भाका भएकालाई मात्र सहुलियतपूर्ण ऋण मान्न सकिन्छ ।

पोखरा विमानस्थलका हकमा नेपालले वार्षिक ३२ लाख डलरजति त ब्याज मात्रै तिर्नुपर्छ । ऋणको साउँ र विमानस्थल सञ्चालन खर्च छँदै छ । त्यस हिसाबले साउँ–ब्याज तिरेर, सञ्चालन खर्च धानेर विमानस्थललाई लाभको परियोजना बनाउन र एउटा खराब नमुना बन्नबाट रोक्न सरकारले आजैदेखि हरसम्भव उपाय लगाउनुपर्छ ।

अहिलेलाई अन्तर्राष्ट्रियतर्फ बुद्ध एयरले पोखराबाट बनारस उडानका लागि पहल गरेको छ । अन्य विदेशी वायुसेवाले पनि मौखिक रूपमा पोखराबाट उडान भर्न चासो देखाएका छन् भनिएको छ, जसलाई मूर्त रूप दिन नेपाली पक्षले पनि उचित तदारुकता देखाउनुपर्छ  ।

वार्षिक ८ लाखसम्म यात्रुको आवागमन धान्न सक्ने भनिएको विमानस्थलको आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने क्षमता छ, जसबाट अधिकतम लाभ लिन कुनै कसर बाँकी राख्नु हुँदैन । जसरी हुन्छ, प्रभावकारी सञ्चालन गरेर विमानस्थललाई साँच्चिकै गर्व गर्न लायक बनाउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय