बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

सर्वोच्च अदालतको आजको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्पमतमा पुर्याएको छ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब ओलीको बहुमत स्वतः गुमेको छ ।

संसदमा नेकपा एमालेको १२१ सिट छ । यसअघि १७४ सांसदको समर्थनसहित नेकपा बहुमतमा थियो । सर्वोच्चले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएपछि ओली र प्रचण्ड नेतृत्वको नेकपा स्वतः खारेज भएको छ । अब माओवादी केन्द्रको ५३ सिट छ ।

ओलीले विश्वासको मतका लागि प्रतिनिधिसभाका २७५ सांसद संख्यामा १३८ मत लिनुपर्नेछ । १२१ एमालेको सांसदमध्ये माधव नेपाल पक्षधर पनि छन् । यसकारण ओली अल्पमतमा परेका छन् ।

अव के हाेला ?

प्रधानमन्त्री केपी शर्मा ओलीले अब साविक नेकपा एमालेको बैठक बोलाउने बताएका छन् । आइतबार बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला अनुसार एमालेको बैठक बस्ने बताएका हुन् ।

‘अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिए पनि राजनैतिक रुपमा यसले मुलुकलाई सही कोर्समै लैजान्छ । अब नेकपा एमालेको बैठक बस्छ’, बैठकमा प्रधानमन्त्रीले राखेको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने पनि ओलीले बताए । राष्ट्रियसभामा नेकपाको उम्मेदवार बनेर निर्वाचित सांसदहरुबारे विशेष निर्णय गर्ने पनि ओलीले बताएका छन् ।

त्यो विशेष निर्णय भनेको राष्ट्रियसभाका सांसदहरु, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचनबाट जितेका प्रतिनिधिहरुलाई जोगाउनेबारे नयाँ विधेयक ल्याउनुपर्ने हुनसक्ने ओलीको भनाइ थियो । नेकपाको एकतालाई मान्यता नदिएकाले अब आफ्नो सरकार संयुक्त बनेको पनि प्रधानमन्त्रीले बताए ।

‘माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने हुन्छ । म त्यो एक महिनाभित्र लिन्छु’, ओलीले भने । आइतबार बसेको बैठकलाई भने एमाले दलको बैठक भनिएको थिएन ।

पार्टी प्रक्रियाकै क्रममा अदालतको फैसला आएकाले सबै सांसदहरुलाई बोलाइएको थियो । अब भने माओवादी केन्द्रबाट एमालेमा आउन चाहनेहरु र एमालेकै सांसदहरुको मात्रै बैठक बस्ने जानकारी ओलीले दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय