बिहिबार , बैसाख ६, २०८१

काठमाडौं,

यही फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । प्रधानमन्त्री ओलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा दाहाल नेपाल समूह र जनता समाजवादी पार्टी, नेपालले संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमति गरेको उच्च स्रोतले जनाएको छ ।

नयाँ प्रधानमन्त्रीमा भने कांग्रेस सभापति शेरबहादुर देउवाको नाम अघि सारिएको पनि स्रोतले दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भनेर छुट्टा छुट्टै आन्दोलनमा होमिएका प्रमुख तीन संसद् पूनःस्थापना भएपछि ओलीविरुद्ध शक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा सहमत भएका हुन् । र, उनीहरुबीच सरकार बनाउने विषयमा समेत मोटामोटी सहमति भैसकेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने बरु संसदमै फेस गर्ने बताईरहेको बेला यता तीन दलबीच भने उनलाई हटाउनको लागि नयाँ सहमति बनिसकेको छ । आजमात्रै चितवनको एक कार्यक्रममा कांग्रेस सभापति देउवाले आफूले सत्ताको भाग नखोज्ने तर जिम्मेवारी आईहाले नभाग्ने भनेर अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सानो चित्त नबनाउन सुझाएका थिए । नेता पौडेलले कांग्रेस सत्तामा जाँदा राम्रो सन्देश नजाने भन्दै पाँच वर्ष नै प्रतिपक्षमा बस्न सुझाएका थिए । तर, जवाफमा देउवाले आफूले भाग नखोज्ने, तर जिम्मेवारी आए नभाग्ने भन्दै सरकारको नेतृत्व गर्नेबारे संकेत दिएका थिए ।

उता, नेकपा दाहाल नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले त कांग्रेस सभापति देउवालाई भेटेरै मिलेर सरकार बनाउनेबारे प्रस्ताव गरेका थिए । उनीहरुले आफूहरु प्रधानमन्त्री नबन्ने भन्दै सरकारको नेतृत्व गर्नसमेत देउवालाई आग्रह गरेका थिए । नेकपामा दाहाल नेपाल समूहसँग ९० जना सांसद रहेको भनिएको छ ।

प्रचण्डले त संसद् पूनःस्थापना नहुँदै सरकारको नेतृत्वमा आफ्नो कुनै दाबी नहुने भन्दै देउवालाई बनाउँदा आपत्ति नहुने बताएका थिए । उनले प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिने जनाएका थिए । आजको केन्द्रीय कमिटी बैठकमा समेत दाहालले परिस्थिति आफूहरुअनुकुल नै रहेको बताउँदै ढुक्क हुन नेताहरुलाई आश्वासन दिएका थिए ।

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि भारतबाट उपचारपछि स्वदेश फर्किएलगत्तै राजनीतिक सहमतिका आधारमा सरकार बनाउनुपर्ने धारणा राखेका थिए । नेताहरुको पछिल्लो भनाई नियाँल्दाखेरि परिस्थिति प्रधानमन्त्री ओलीको प्रतिकुल देखिएको छ । हुन त ओलीले पोखरा र झापामा हालै आयोजित छुट्टाछुट्टै कार्यक्रममा सम्बोधनको क्रममा आफूलाई हटाउने भए संसदमा आउन चूनौीत दिएका छन् । तर, सबै मिलेर हटाए केही वर्ष प्रतिपक्षमा बस्ने र फेरि चुनावमा दुई तिहाई जितेर सरकारमा आउने बताईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय