बिहिबार , चैत्र १५, २०८०

काठमाडौं :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूसँग बहुमत रहेको स्पष्ट पारेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको पनि बताए ।

‘अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भइसकेको छ। तर, उहाँले प्रधानमन्त्रीबाट म हट्दिन भन्नु असंवैधानिक हो’, उनले भने, ‘केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता तानाशाह र सैनिक शासकबाहेक संसारमा कोही पनि देखेको छैन् ।’

‘लोकतान्त्रिक मान्यताको रक्षा हुने कि नहुने भन्ने नै हाम्रो मुख्य प्रश्न हो’, उनले भने, ‘देशलाई नेतृत्व गर्छु भन्ने व्यक्ति यत्ति अनैतिक बन्न मिल्छ ? उहाँले त फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्दथ्यो ।’

उनले नेकपाको विधान र संसदीय दलको विधानअनुसार आफूहरु अघि बढेको पनि स्पष्ट पारे । रावलले केपी ओलीको गणपुरक संख्या नै नपुग्ने जिकिर गरे ।

‘बहुमतले गरेको निर्णयमात्रै आधिकारिक हुन्छ । केन्द्रीय कमिटीले निर्देशन दिएअनुसार हुन्छ’, उनले थपे, ‘पार्टीको विधान र संसदीय दलको विधानबाहेक उहाँहरुको कुरा स्थापित हुँदैन् ।’

नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले क्लबकै साक्षात्कारमा पार्टीको ह्विप नमान्नेलाई कारबाही गरिने भनेर दिएको चेतावनीमा रावलले आपत्ति जनाए । ‘हिजोसम्म कारबाही नगरेको एकजना सांसदले अरुलाई कारबाही गर्ने कुरा गरेछन् । बरु तीनलाई हाम्रो केन्द्रीय कमिटीले कारबाही गर्नसक्छ’, रावलले थपे, ‘हामीसँग बहुमत छ भनेर देखाउन यस्तो भ्रम फैलाए ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय