बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव ल्याउन फेल हुने भएकाले प्रचण्ड-माधव समूह डराएको बताएका छन् । त्यहीकारण प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको उनको दाबी छ ।

ओली समूह निकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता नेम्वाङले अविश्वासको प्रस्ताव फेल भए फेरि एकवर्षसम्म अर्को राख्न नपाइने संवैधानिक व्यवस्था रहेको बताए । संसद विघटन भएको दिनमा अविश्वासको प्रस्ताव लगेको सुनेको भन्दै उनले भने, ‘मरेको प्रतिनिधिसभा व्यूँतिएपछि त्यो अविश्वासको प्रस्ताव पनि बाँच्यो होला नि भन्दा साथीहरु चुइँ बोल्नुहुन्न ।’

‘किन नबोलेको भन्दा एउटा त अविश्वासको प्रस्तावको सदस्य संख्या ठीक होइन । अरु बेलाका लागि भनेर गरिएको हस्ताक्षर प्रयोग भयो भनेर प्रश्न उठकै हो’ उनले भने, ‘अर्कोतिर उहाँ कुद्दै कहाँ जानुभयो रे ! त्यो ठाउँबाट तिमीहरुको आन्तरिक मामिलामा हामी किन पर्ने भन्दा अविश्वासको प्रस्तावको विजोग मात्र होइन, हरिबिजोग ।’

अविश्वासको प्रस्ताव हो भन्नासाथ अगाडि बढ्ने र फेल हुने उनको दाबी छ । नेता नेम्वाङले भने, ‘झन चाँडो निकालौैं भनेको केपी ओली त एक वर्षसम्म छुनै नसकिने भयो । त्यसकारण आज साथीभाइहरुलाई साह्रै अप्ठ्यारो पर्‍यो ।’

उनले संसद पुनस्र्थापनापछि प्रधानमन्त्री ओली झन बलियो भएको दाबी समेत गरे । संसद भंग गरेर मध्यावधि चुनाव घोषणा गरेपछि सरकार कामचलाउ भयो, महत्वपूर्ण निर्णयहरु गर्न पाइँदैन भनेको भन्दै नेम्वाङले भने, ‘अब त त्यो दुःख पनि गर्न नपर्ने भयो । संसद पुनस्थापित भयो, उहाँ झन दह्रो हुनुभयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय