बिहिबार , चैत्र १५, २०८०

Nepali Rajneeti

नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना भएसँगै केपी ओलीले नैतिकता आधारमा प्रधानमन्त्री पदबाट राजीनामा नदिइ पदमा टाँसिएर बसेको भन्दै आक्रोश पोखेका छन् ।

ओली पक्षले सत्तामा टाँसिरहने नियतका साथ सांसदलाई आफ्नो पक्षमा पार्न सुटकेशमा पैसा बोकेर हिँड्न थालेको आरोप समेत लगाए ।

शनिबार गृहजिल्ला गोरखाका अगुवा नेता कार्यकर्ताहरूसँगको छलफलमा उनले ओली पक्ष सांसद खरिदका लागि सुटकेस बोकेर हिँडेपछि उनीहरुको योजना कुनैपनि हालतमा सफल हुन नसक्ने बताए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान र देशको पक्षमा साहसिक फैसला गरेको टिप्पणी गर्दै उनले न्यायालयमाथि जनताको भरोसा अझ बढेर गएको बताए ।

उनले भने, ‘संसद पुनःस्थापनासँगै सबै चिज ठीकठाक र सरल हुन्छ भन्ने छैन । ओलीले एकपछि अर्को जसरी अनैतिक कार्यको श्रृखंला अगाडि बढाएका छन् । यसप्रति हिजो आन्दोलनरत पक्ष सबै चनाखो रहनुपर्ने हुन्छ ।’

उनले ओलीले अब जस्तोसुकै कदम चालेपनि त्यसको सामना गरिने उनले बताए । अब नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुने बताउँदै उनले भने , ‘मलाई पूरा विश्वास छ, नेपाली काँग्रेस, जसपा लगायतका राजनीतिक दलहरुले कुनै पनि हालतमा ओलीको योजनालाई साथ दिने छैनन् ।’

कार्यक्रममा पार्टीभित्रका एकताका बाँकी कामहरु छिट्टै पूरा गर्ने र गोर्खाको समग्र विकास निर्माण र पार्टी निर्माणको विषयमा छलफल भएको थियो ।

ratopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय