Nepali Rajneeti

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङले संसद पुनःस्थापना पछि सरकार झन् बलियो भएको दावी गरेका छन् ।

नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्बाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनःस्थापना पछि दह्रो भएको बताए ।

प्रतिनिधि सभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरूलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको टिप्पणी समेत गरे । उनले भने, ‘हिजो पुनःस्थापना नहुँदा सम्म केपी ओली त केयर टेकर हो निर्वाचन घोषणा गरिराखेको छ ।

निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठिक थिएन यो ठिक होइन भनिराथ्यौं । अव त त्यो दुःख पनि गर्न नपर्ने भयो ।

संसद पुनःस्थापित भयो प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वास लगायतका कुराहरु के छ स्थिति मैले तपाईहरुलाई बताई नै सके उहाँ त हिजो भन्दा झन दह्रो पो हुनुभयो ।’

प्रतिनिधि सभा पुनःस्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्र सम्मत भएको बताउने गरेको समेत बताए । तर अहिले पुनःस्थापित भएपछि फेरि संसदमा फर्किएकाले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि बताए ।

प्रतिनिधि सभा पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्बाङले सरकारले प्रस्तावको सामना गर्ने बताए ।

अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरूलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्बाङले बताए ।

नेता नेम्बाङले कानूनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताए । अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै नेता नेम्बाङको भनाइ छ।

पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको टिप्पणी समेत गरे । Ratopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय