मंगलबार , बैसाख ४, २०८१

समाचार विश्लेषण ।

नेपाल कम्युनिस्ट पार्टी राजनीतिक रुपमा विभाजित भइसकेपनि वैधानिक रुपमा एक छ । निर्वाचन आयोगका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता छ । जसको महासचिव विष्णु पौडेल छन् । केन्द्रीय कमिटीमा ४४१ छन् ।

राजनीतिक रुपमा विभाजित भएपनि ओली र प्रचण्ड माधव पक्षले वैधानिकताको दाबी गर्दै आएका छन् । निर्वाचन आयोगले यसबारे अझै निर्णय दिएको छैन । आयोगको निर्णय नआउँदासम्म नेकपा वैधानिक रुपमा ओली र प्रचण्ड अध्यक्ष रहेको नै वैधानिक हो ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि दुई समूहमा विभाजित भएको नेकपा विघटनविरुद्ध सर्वोच्च अदालतको फैसला आएपछि के होला ? यो प्रश्न तेर्सिएको छ ।

विजयी ठानेर प्रचण्ड र नेपालले लड्डु खाइसकेका छन् । उनीहरुले नेकपाको ओली समूहमा गएकालाई फर्काउन आव्हान समेत गरिसकेका छन् । प्रचण्ड र माधव नेपालले पार्टी पुनः एकीकरणका लागि प्रस्ताव अगाडि सार्ने भएका छन् । तर, ओली सकेसम्म सुर्य चिन्ह र झण्डा आफ्नैतर्फ पार्न सक्रिय छन् । त्यो अवस्था नभएमा ओलीले प्रचण्ड र नेपाल समूहसँग मिल्न आत्मालोचनासहित आत्मसमर्पण गर्ने वा पार्टी फु्टाउनेबाहेकको विकल्प रहनेछैन ।

ओलीले अहिलेको अवस्थालाई केलाउँदा आत्मसमर्पण गर्ने कुनै संकेत गरेका छैनन् । बुधबार माटोको विद्युतीय नक्शांनको उदघाटन गर्दा उनले अन्तिम समयसम्म लड्ने बताए । आफूलाई सुर्यसँग तुलना गर्दै ‘सुर्य उदाउँदा पनि रातो र अस्ताउँदा पनि रातो’ भने । ओलीले संसदको सामना गर्ने सल्लाहकार सुर्य थापासँग स्पष्ट पारेका छन् ।

नेकपा फुटाउन ओलीले अध्यादेश ल्याउन सक्ने ठाउँ अझै बाँकी छ । उनले राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याउँदा हाल रहेको एकीकरणको पाँच वर्षसम्म पार्टी फुटाउन नपाउने, केन्दीय समिति र संसदीय दल दुवैमा ४०-४० प्रतिशत अनिवार्य हुनुपर्ने प्रावधान परिवर्तन गरेर अगाडि बढ्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा मात्र नेकपा फुटाउन सकिने कानुनी व्यवस्था रहन्छ । तर, अध्यादेश नल्याउन उनलाई आफ्नै समूहबाट दबाब हुनसक्छ ।

राजनीतिमा निकै जोखिम मोल्दै अगाडि बढिरहेका ओली आफैले चालेको कदम असफल भएपछि पनि हार मानेका छैनन् । उनले अन्तिम समयसम्म हार नमान्ने सन्देश दिइरहेका छन् । यसकारण पनि ओली हार मान्ने भन्दा निरन्तर संघर्ष गर्ने पक्षमा देखिन्छन् ।

प्रचण्ड र माधव नेपालले लड्डु खाएकोमा समेत ओलीले व्यङ्ग्य गरेका छन् । भाइहरुले लड्डु खाएछन् के पाउँछन् हेर्छु भने । यसबाट पनि ओली प्रचण्ड र नेपाललाई प्रधानमन्त्री बन्नबाट रोक्ने दिशामै देखिन्छन् । उनी कि त पार्टी आफ्नो नेतृत्वमै ल्याउन संघर्षरत छन् । अन्यथा पार्टीलाई वैधानिक रुपमा फुटाएर पनि अगाडि बढ्न खोजिरहेका छन् । फेरि ओलीलाई अर्को दुर्घटनाबाट रोक्न उनी पक्षधर केही नेताहरु निरन्तर सक्रिय भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय