शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई एकताबद्ध गराउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुपर्ने बताएका छन् ।

संसद विघटनविरुद्ध प्रचण्डले चालेको कदम सही सावित भएको बताउँदै गौतमले पार्टी एकीकरणको सबैभन्दा बढी पहल पनि प्रचण्डले नै गर्नुपर्ने बताए ।

‘उहाँले (प्रचण्डले) चाल्नुभएको कदम सही सावित भएको छ । केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्ने छ । यस्तो अवस्थामा फेरि पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो,’ न्युज एजेन्सी नेपाल एनएएनसँग कुरा गर्दै गौतमले भने ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले नेकपा फुटाएको बताउँदै गौतमले पार्टी एकताको सुरुवात ओलीलेसमेत गर्नुपर्ने बताए । ओली र प्रचण्डले पहल नगरे आफूहरुले एकताका लागि दबाव दिने गौतमले बताए ।

‘एउटा हुँदाखाँदाको पार्टीलाई फुटाएर उहाँहरु हिँड्नु भएको छ । हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरुले एकता गर्नको निम्ति पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ,’ गौतमले भनेका छन्, ‘एकताको पक्षमा रहेका साथिहरु जति हुनुहुन्छ अब हामी एकताबद्ध हुन्छौं र नेतृत्वलाई हामीले एकतामा आउनको निम्ति एकताबद्ध हुनको निम्ति एउटा ठूलो दबाव सिर्जना गर्छौं ।’

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । त्यसलगत्तै नेकपा दुई खेमामा विभाजित भएको छ । एउटा खेमाको नेतृत्व केपी शर्मा ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड–माधव नेपालले गरेका छन् । उपाध्यक्ष वामदेव गौतम भने दुवैतिर नलागी पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन् ।

संसद विघटन गर्ने ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेकाले अब ओलीले पार्टीमा आत्मालोचना गर्दै तुरुन्तै राजीनामा गर्नुपर्ने गौतमले बताए ।

‘प्रधानमन्त्री ओलीले चाल्नु भएको कदम असंवैधानिक भइसकेपछि आफूलाई सच्याउनको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ । हिजै राजीनामा गर्नुपर्थ्यो,’ गौतमले भने, ‘मैले गल्ती गरेको थिएँ, म आफूलाई सच्याउन चाहन्छु त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय