शुक्रबार , चैत्र १६, २०८०

काठमाडौँ। प्रतिनिधिसभामा चौथो ठूलो दल बन्दै गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुद्दा मिल्ने दलसँग सरकारमा सहभागी हुन तयार देखिएको छ । पाँचौं ठूलो दल बन्न लागेको राप्रपा भने तत्काल सरकारमा नजाने भएको छ ।

पहिलो पटक निर्वाचनमा भाग लिएर राष्ट्रिय पार्टी बनेको रास्वपाका नेताहरू निर्वाचनपूर्व आफूले गरेका वाचा पूरा गर्ने प्रतिबद्धता आए सरकारमा सहभागी हुन तयार रहेको बताउँछन् ।

कांग्रेस नेतृत्वको सत्तारूढ पाँचदलीय गठबन्धन र संसद्मा दोस्रो पार्टी बन्न लागेको एमालेका नेताहरूसँग उनीहरूले मुद्दाका आधारमा सरकारमा सहभागी हुने/नहुने निर्णय लिने बताउने गरेका हुन् ।

राप्रपाका नेताहरू भने अत्यावश्यक परे कुनै गठबन्धनलाई बाहिरैबाट समर्थन गर्ने तर सरकारमा सहभागी नहुने बताउँछन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागी बन्नका लागि प्रस्ताव आइरहेको बताए ।

‘सरकार हाम्रो प्राथमिकतामा छैन,’ उनले भने, ‘कुनै पक्षलाई सरकारमा बहुमत पुग्ने अवस्था रहेन र राप्रपाको समर्थनले बहुमत भएर सरकार गठन हुने अवस्था आए समर्थन गर्न सक्छौं, गठन अड्काउँदैनौं ।

’ राप्रपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । ‘पाँचदलीय गठबन्धनसँग जाने कि एमालेसँग भन्ने विषयमा निर्णय गरेका छैनौं । हाम्रो प्राथमिकता प्रतिपक्षमा बसेर काम गर्नुपर्छ भन्ने छ ।’

रास्वपाका प्रवक्ता मुकुल ढकाल मुद्दाका आधारमा राजनीति गर्नेमा पार्टीका सबै नेता एकमत रहेको बताउँछन् । ‘हामीले चुनावमा जनतासामु वाचा गरेका थियौं । पूरा गर्ने गरी दलहरूसँग सामान्य छलफल भइरहेको छ,’

उनले भने, ‘हामी स्पष्ट छौं, भागबन्डाका आधारमा होइन, एजेन्डाका आधारमा सरकारमा जाने/नजाने निर्णय गर्छौं ।’ केन्द्रीय समिति बैठक बसेर निर्णय गर्ने उनले बताए ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा रहेको पाँचदलीय गठबन्धनले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ९० सिट जितेको छ । समानुपातिक प्रणालीबाट गठबन्धनलाई केही सिट नपुग्ने देखिएको छ ।

त्यसैले सत्तारूढ गठबन्धनले सत्ता साझेदारीका लागि अन्य दलसँग छलफल चलाइरहेको छ । प्रतिनिधिसभामा पहिलो पटक प्रतिनिधित्व गर्दै गरेका जनमत पार्टी र नागरिक उन्मुक्ति

पार्टीले कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुने संकेत गरिसकेका छन् । चुनावी तालमेल गरेका एमाले, राप्रपा र जसपाको प्रत्यक्षतर्फको सिट संख्या ५८ छ । निर्वाचन आयोगले समानुपातिकतर्फका १ सय १० सिट दलहरूलाई बाँडफाँट गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय