शनिबार , बैसाख ८, २०८१

सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ ।

कार्यालयले आज बुधवार एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्धसमेत लगाएको हो ।

कार्यालयका अनुसार होमनाथ गौतम मुख्य सञ्चालक रहेको भारत–सप्तकोसी जेभी काठमाण्डाैलाई साढे दुई वर्षका लागि कालो सूचीमा राखिएको छ । सडक डिभिजन कार्यालय बुटवलले यो ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्नका लागि सिफारिस गरेको थियो ।

रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको काममा ढिलाइ गर्ने हाइग्रिवा/सिद्धि साँई प्रकाश जेभीलाई पनि दुई वर्षका लागि कालो सूचीमा राखिएको छ । यो कम्पनीका सञ्चालक देपेन्द्रबहादुर शाही र नरेन्द्र प्रधान रहनुभएको छ ।

त्यस्तै हेटौँडा महानगरपालिकाको सिफारिसमा भरतपुर चितवनको हाइवे कन्स्ट्रक्सन प्रालिलाई कालो सूचीमा राखिएको छ । नारायण सुवेदी मुख्य सञ्चालक भएको यो कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

शहीद गङ्गालाल हृदय केन्द्र बाँसबारीको सिफारिसमा काठमाण्डाैकाे विधि बिल्डर्स प्रालि पनि कालो सूचीमा परेको छ । विप्लव पोख्रेल सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको हो ।

खलङ्गा जाजरकोटको साइबाबा एन्ड तारा कन्स्ट्रक्सन एक वर्षका लागि कालो सूचीमा परेको छ । सञ्जयाकुमारी राना (शाह) सञ्चालक रहेको यो कम्पनीलाई कालो सूचीमा राख्न टोखा नगरपालिकाले सिफारिस गरेको थियो ।

त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा जुम्लाको अनुकूल निर्माण सेवालाई एक वर्षका लागि कालो सूचीमा राखिएको छ । यो कम्पनीको सञ्चालक तिलबहादुर भण्डारी रहनुभएको छ ।

काठमाण्डाैको नयाँ बानेश्वरमा कार्यालय रहेको पाँचखाल कन्स्ट्रक्सन प्रालिलाई कालो सूचीमा राख्न पर्यटन विकास आयोजना हेटौँडाले सिफारिस गरेको थियो । प्रेमप्रसाद अधिकारी सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको छ ।

गुर्भाकोट नगरपालिका–४ सुर्खेतमा रहेको प्रभु निर्माण सेवालाई पनि एक वर्षका लागि कालो सूचीमा राखिएको छ । रेशमबहादुर शाह सञ्चालक रहेको यो कम्पनीलाई कालो सूचीमा राख्न खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले सिफारिस गरेको थियो ।

रसुवाकाे उत्तरगया गाउँपालिकाको सिफारिसमा सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई एक वर्षका लागि कालो सूचीमा राखिएको छ । यो कम्पनीका सञ्चालक सिद्धिबाबु रेग्मी रहनुभएको छ ।

कपिलवस्तु नगरपालिकाको सिफारिसमा रुपन्देहीको एसएसके निर्माण सेवा प्रालिलाई एक वर्षका लागि कालो सूचीमा राखिएको छ । यो कम्पनीका सञ्चालक सफीउर्रहमान अन्सारी रहनुभएको छ ।

त्यसैगरी कृषि विकास निर्देशनालय डोटीको सिफारिसमा कैलालीको सुर्मादेवी कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालो सूचीमा राखिएको छ । यो कम्पनीको मुख्य सञ्चालक मीनाकुमारी शर्मा कोइराला हुनुहुन्छ ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहको सिफारिसमा नीलगिरि/नेसनल/क्यानोन जेभीलाई पनि एक वर्षका लागि कालो सूचीमा राखिएको छ । नीलगिरि निर्माण सेवा प्रालिका सञ्चालक युवराज डाँगी, नेसनल डेभलपमेन्ट सेवा प्रालिका सञ्चालक धनकुमार थापा र क्यानोन कन्स्ट्रक्सन प्रालिका सञ्चालक गौरव पुडासैनी रहनुभएको छ ।

यी तीन वटै कम्पनी एक वर्षका लागि कालो सूचीमा परेका छन् ।कालो सूचीमा राखिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय