
काठमाडौं ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् ।
अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको चेतावनी छ ।
अदालतको फैसला अनपेक्षित, तर स्वीकार्छौं : प्रदीप ज्ञवाली
परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताएका छन् । तर, फैसला मानेर जाने मन्त्री ज्ञवालीले बताए ।
‘सामान्यतया अपेक्षित थिएन, फैसला । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उनले भने ।
जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो समस्या भने अब कायमै रहने चिन्ता ज्ञवालीले व्यक्त गरे ।
‘जे समस्या हुने देखेका थियौं, त्यो त कायमै रहने भयो । तर, यो कुरा पछि भयो । अहिलेलाई अदालतको फैसला स्वीकार गर्छौं’, उनले भने ।