शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं– राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्।

स्वतन्त्र उम्मेदवारी दिँदै धरान उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित हर्क साम्पाङको पानी अभियान जस्तै आफ्ना निर्वाचन क्षेत्रमा लामिछाने सक्रिय देखिएका हुन्।चितवनमा रहेका लामिछानेले प्रतिनिधि सभा सदस्यको शपथ नलिँदै त्यहाँका जनताका स–साना समस्यालाई प्रत्यक्ष सम्बोधन गर्ने कोशिश गरेका छन्।

रामनगरबासीको पानीको समस्या समाधान गर्ने वाचादेखि चारकोसे झाँडी सरसफाईसम्ममा लामिछाने सहभागी भइरहेका छन्।साम्पाङ पनि चुनाव जीत्नासाथ धरानमा पानीको समस्या समाधानका लागि आफैं श्रमदानमा सक्रिय भएका थिए। त्यति मात्र नभएर मुख्य दलका नेतालाई समेत आफूले पानी ल्याउन गरेको श्रममा सहभागी गराउन साम्पाङ सफल भएका थिए।

उनको अभियानमा हातेमालो गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान त पुगे नै साम्पाङको प्रशंशा गरी फर्किए।साम्पाङको सोही शैलीलाई अहिले लामिछानेले पछ्याएका छन्। चितवनमा अभूतपूर्व जीत निकालेको उनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चर्चाबीच लामिछानेका गतिविधि कतै सस्तो लोकप्रियता मात्र त होइनन्? भन्ने संशय पनि खडा भएको छ।

लामिछाने मात्र होइन उनको पार्टीबाट ललितपुर–३ मा जीत निकालेकी डाक्टर तोषिमा कार्कीको गतिविधि पनि सोही शैलीमा अगाडि बढेको छ। सांसदको काम नीतिगत काम गर्नुपर्ने भए पनि कार्यकारी निकायको काममा हौसिएर हस्तक्षेप गर्ने प्रयत्नका रुपमा पनि उनीहरूको गतिविधिको व्याख्या हुन थालेको छ।

सांसदका रुपमा लामिछाने र उनको पार्टीले आगामी दिनमा कस्तो नीति र व्यवाहार देखाउला त्यसको परिक्षण गर्न बाँकी भए पनि प्रारम्भिक चरणका गतिविधिलाई भने धेरैले नियाँलेका छन्।यद्यपि लामिछानेको राजनीतिक पर्दापण भने चर्चा योग्य रहेको छ।प्रतिनिधि सभातर्फ चितवन–२ मा भारी मतकासाथ बिजयी लामिछानेले ठूला दलका किल्लाहरू नै हल्लाइदिए। लामिछानेले ४९ हजार २६१ मत पाएका थिए। यो सर्वाधिक मध्यको एउटा परिणाम हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीपछि लामिछानेको मत आएको थियो।उनका प्रतिस्पर्धी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री तथा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९९ मत मात्र ल्याएका थिए। लामीछाने २०३१ साल भदौ २० गते भक्तपुरको नगरकोटमा जन्मिए। उनको बाल्यकाल काठमाडौंको चाबहीलमा बित्यो। उनले एसएलसी सम्मको अध्ययन भृकुटी मेमोरीयल स्कुल र बिजय मेमोरीयल स्कुलबाट गरेका थिए।

पढाईमा अब्बल लामिछानेले ६६.३ प्रतिशत अंक ल्याएर एसएलसी पास गरेका थिए।पछिल्लो समय सामाजिक, वैदेशिक रोजगारीमा पुगेका नेपालीका समस्या र ठगहरूका विषयलाई मिडियामा उठाउँदै आएका रबि त्यो समय धेरैजसो मनोरञ्जनात्मक कार्यक्रमहरू गर्थे।अमेरिकाबाट फर्किएपछि भने लामिछाने विवादमा नफसेका होइनन्।

निर्वाचनको सम्मुखमा नै उनको नागरिकता विवाद सतहमा ल्याइयो तर यसमा उनी बिचलित नभएको तथा प्रक्रियागत काम गरेको जवाफी प्रस्तुतीमा उत्रिन परेको थियो।पारिवारिक विषय, टेलिभिजन कार्यक्रम, आत्महत्या दुरुत्साहनको आरोपदेखि चुनावी महासंग्रामसम्मको सफलताले लामिछानेलाई सँधै मिडियाका केन्द्रमा नै राखिरह्यो। उनको जीतपछिका कामका कारण सस्तो लोकप्रियतामा त नगाँजिएलान् भन्ने मतदाताले संकोच गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय