शुक्रबार , बैसाख ७, २०८१

नेकपा एकीकृत समाजवादीले गत भदौमै प्रतिनिधि सभा र प्रदेश सभा चुनावलगत्तै नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरेको थियो। १ भदौमा बसेको एकीकृत समाजवादीको सचिवालयको बैठकले माओवादीसँग एकताको प्रस्ताव पारित गरेको थियो।

४ मंसिरको चुनावका लागि साझा घोषणा पत्र बनाउने समाजवादीको निर्णयमा माओवादी केन्द्रले पनि सहमति गरेको थियो। माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मस्यौदा समितिको संयोजक बनाइएका थिए। तर, सो समितिले पूर्णता पाएन, उनीहरु आआफ्नो घोषणा पत्र लिएर चुनावमा होमिए।

गठबन्धन बनाए पनि चुनावी नतिजा यी दलहरुले सोचेजस्तो आएन। गठबन्धनको एउटा घटक कांग्रेस पहिलो दल बन्दा माओवादी केन्द्र तेस्रो र एकीकृत समाजवादी सातौँ स्थानमा छन्। समाजवादीले थ्रेस होल्ड कटाउन कठिन त छ नै सत्ता गठबन्धनका दलहरुको बहुमत पुग्ने सम्भावना पनि निकै कम देखिन्छ।

ठीक यही अवस्थामा एकीकृत समाजवादीले चुनावी समीक्षा, पार्टीको भावी रणनीति र कार्यक्रम तय गर्न मंगलबार (१३ मंसिर) सचिवालय बैठक बोलाएको छ। भदौमै माओवादीसँग पार्टीएकता गर्ने निर्णय गरिसकेको एकीकृत समाजवादीले यही बैठकबाट त्यसबारे निर्णय गर्न सक्ने नेताहरु बताउँछन्।

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच लामो छलफल भएको छ। हात्तीवनस्थित प्रचण्डका नातेदारको घरमा दुई अध्यक्षबीचको लामो छलफलमा आगामी सत्ता समीकरण, पार्टीको भविष्य, स्वतन्त्र र राप्रपा लगायतका दलहरुको उदय र कांग्रेसको एउटा पक्षबाट भएको ‘धोका’ लगायतका विषयमा विश्लेषण भएको थियो।सोमबार नै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका प्रचण्ड र नेपालले त्यसपछि छुट्टै छलफल गरेका हुन्।

‘उहाँहरुबीच समसामयिक राजनीति, पछिल्लो चुनावी परिणाम, यसले देशलाई पार्ने प्रभाव लगायतका विषयमा कुराकानी भएको हो,’ नेपाल निकट एक नेताले भने।

प्रधानमन्त्री देउवाले नयाँ सरकार गठनको लागि बहुमत जुटाउने गृहकार्य गरिरहेका छन्। गठबन्धनका दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकार बनाउन केही सिट अपुग हुनसक्छ। किनभने समानुपातिकतर्फ एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउने सम्भावना न्यून हुँदै गएको छ।

प्रधानमन्त्री देउवा यही गठबन्धन कायम राखेर नयाँ सरकार बनाउन आवश्यक बहुमत पुर्याउने कसरतमै छन्।माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताबीच अहिले दुई वटा प्रश्नमा छलफल भइरहेको देखिन्छ– निर्वाचनपछि पार्टी नै एकता गर्न सहमत भैसकेका माओवादी र एकीकृत समाजवादीबीच तत्काल एकता होला त? अहिलेको गठबन्धनले नै सरकार बनाउने अवस्था आउँदा यी दुई दल एक भएर सरकारमा जालान कि छुट्टाछुट्टै?

एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले चुनावको अन्तिम परिणाम आएपछि मात्र त्यसबारे निर्णय हुने बताए।उनले गठबन्धनमा रहेको, विचार मिल्ने भएकोले एकताको सम्भावना रहे पनि मत परिणाम विश्लेषण गरेर मात्र निष्कर्षमा पुगिने बताए।

‘राजनीतिमा सबै सम्भावना हुन्छ, गठबन्धन साझेदार भएर चुनाव लडयौँ,’ हमालले भने, ‘चुनावी समीक्षा र परिणाम विश्लेषण नगरी यही हुन्छ भन्न सकिँदैन। भोलि (मंगलबार) सचिवालय बैठक बस्छ, त्यसले एउटा ठोस निर्णय गर्नसक्छ।’

पार्टीभित्र छलफल नचलेको भएर एकताको विषयमा नेताहरु खुल्न खोज्दैनन्।एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चुनाव, सरकार गठनको प्रयास लगायत विषयमा प्रष्ट छलफल भएपछि मात्रै यसबारे भन्न सकिने बताए।

‘अहिले हामीले पाएको पोजिसन, मतपरिणाम, राष्ट्रिय पार्टी बन्छ कि बन्दैन, त्यसपछि मात्र आगामी रणनीतिमाथि छलफल हुन्छ,’ खनालले भने, ‘पार्टी एकता तत्काल होलाजस्तो लाग्दैन।’

तर, सोमबार माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ। राष्ट्रिय पार्टी नबनेको अवस्थामा आफ्नो शक्ति कमजोर हुने नेपालले विश्लेषण गरेका छन्।

२३ फागुन २०७८ मा सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग गरिदिएपछि एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका थिए। माधव नेपाल लगायतका नेता एमालेमा भए पनि प्रधानमन्त्री केपी ओलीको संसद् विघटनविरुद्ध थिए। अलग–अलग दलको अस्तित्वमा रहे पनि माधव नेपाल समूह ओलीविरुद्ध माओवादी केन्द्र, कांग्रेसलगायत दलसँगै उभियो।

ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि एमाले विभाजनको आधार बनायो। २८ असार २०७८ मा सर्वाेच्च अदालतले दोस्रो पटक पनि संसद पुनस्र्थापना गरेर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो।देउवा प्रधानमन्त्री भएको एक हप्तामै एमालेबाट माधव नेपाल लगायतका नेताहरुले विद्रोह गरे र नेकपा एकीकृत समाजवादी बनाए।

त्यसयताको राजनीतिक कोर्समा माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै कित्तामा छन्। यी दलहरु सत्तामा र चुनावी गठबन्धनमा छन्। स्थानीय चुनावमा गठबन्धन बनाएका उनीहरुले प्रतिनिधि सभा र प्रदेश सभा चुनाव पनि मिलेर लडे।

चुनावको परिणामले पनि यी दुई दल मिल्ने सम्भावना रहेको नेताहरु बताउँछन्।एमालेले पनि माओवादीसँग संवाद सुरु गरेको छ। प्रचण्डलाई टेलिफोन गरेर लामो समयको संवादहिनता तोडेका ओलीले प्रचण्डसँग सरकार निर्माणकै विषयमा छलफल गर्न सक्ने सम्भावना रहेको उनी निकट नेताहरुले बताए।

सरकार निर्माणको यही दौडधुप र जोडघटाउले दुई पार्टीबीच एकता गराउन सक्ने एकथरी नेताहरुको भनाइ छ। तर, समाजवादीका सबै नेता एकताको पक्षमा उभिने सम्भावना कम छ। चुनावअघि नै पार्टी परिवर्तन गर्ने प्रयास गरेका केही नेताहरुले चुनावमा एमालेको शक्ति देखेर उतै फर्किनुपर्ने मत राख्न थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय