मंगलबार , चैत्र ६, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सुकुम्बासीका विषयमा जथाभावी नबोल्न एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई चेतावनी दिएका छन् ।

मंगलबार मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गरेर सुकुम्बासीको समस्या बल्झाउने भूमिकामा ठूलो भूमिका रहेको आरोप लगाएका छन् ।

ओलीले काठमाडौंको थापाथलीमा सुकुम्बासीको पक्षमा अभिव्यक्ति दिँदै बचाउ गरेपछि मेयर शाहले ओलीलाई मुख सम्हाल्न चेतावनी दिएका छन् ।

‘कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला’, मेयर शाहले भनेका छन् ।

‘सम्माननीय पूर्वप्रधानमन्त्री केपी ओलीज्यू, अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ’, उनले भनेका छन् ।

‘तपाईबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो’, मेयर शाहले भनेका छन्, ‘किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन ।’

‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाईको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन’, शाहले भनेका छन् ।

‘सुकुम्वासीहरू तपाईका लागि भोट बैंक मात्रै रहे’, मेयर शाहले भनेका छन्, ‘बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरूमा प्रयोग गर्नु भयो ।’

‘त्यो पनि राजनीतिक स्वार्थवश’, उनले भने, ‘तपाईलाई जनता, नदीनाला र नेवाः सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुन्धारा)

सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवाः सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनु भयो ?’

‘यी सबै हेर्दा नेवाः सभ्यता जोगाउने, नदीक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन’, उनले भनेका छन् ।

‘अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला’, मेयर शाहले भनेका छन्, ‘कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय