मंगलबार , चैत्र ६, २०८०

काठमाडौं – मंसिर ४ गते भएको प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन परिणामले पाँच महिना अघि मात्रै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई राष्ट्रिय राजनीतिको बलियो शक्तिका रुपमा स्थापित गराइदिएको छ।

पूर्व संचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापना भएको छोटो समयमै जुन कमाल गरेर देखाइदियो त्यसले धेरैलाई अचम्मीत बनाइदिएको छ। प्रत्यक्ष तर्फ ७ सिट र समानुपातिक तर्फ माओवादी केन्द्र बराबरै मत ल्याएर उक्त पार्टीले दुनियाँ चकित बनाइदिएको छ।

रास्वपाले छोटो समयमै यत्ति धेरै कमाल गर्नुका पछाडी ठूला भनिएका राजनितीक दलहरु प्रतिको वितृष्णा त प्रमुख कारण हो नै संचारकर्मबाट राजनितीमा उदाएका रवि लामिछाने प्रतिको आकर्षण र विश्वास पनि अर्को महत्वपुर्ण पाटो हो।

टेलिभिजनबाट जनताका सवाललाई दरो खरो रुपमा उठाउने लामिछानेले राजनितीको मैदानमा हाम फालेको छोटो समयमै चामत्कारीक परिणाम ल्याएर आफुलाई प्रमाणित गरिदिएका छन्। टेलिभिजनको स्क्रिनमा बज्ने उनको दरिलो आवाज अब संसदमा गुन्जने छ।

राजनीतिमा प्रवेश गरेको छोटो समयमै रवि लामिछानेले प्राप्त गरेको सफलता ठूलो भए पनि यो सफलता प्राप्त गर्नका लागी उनले गरेको मेहनत र संघर्ष पनि कम छैन। संचारकर्ममा रहँदा जनताका सवालहरुलाई दरिलोसँग उठाउने र भुँइ मान्छेहरुलाई प्रमुख बिषय बनाएकै कारण उनले यो स्केलको सफलता पाएको मान्न सकिन्छ।

रोचक कुरा त के छ भने १२ बर्ष सम्म सशस्त्र जनयुद्ध गरेर आएको नेकपा माओवादी केन्द्र अहिले भर्खरै मात्रै खुलेको रास्वपासँग लोकप्रिय मतमा प्रतिष्पर्धा गरिरहेको छ। प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले रवि लामिछाने नेतृत्वकको राष्ट्रिय स्वतन्त्र पार्टी हाराहारीकै लोकप्रिय मत प्राप्त गरिरहेको छ।

अहिले सामाजिक संजालमा ट्रेड नै चलेको छ सत्र बर्ष , सत्र हजार र सत्र सिट भन्ने। सत्र हजार मान्छे मारेर आएको माओवादी केन्द्र शान्ति प्रक्रियामा आएको १७ बर्षमै १७ सिटमा खुम्चीएको भन्दै व्यंग्य चलिरहेको छ । यता ५ महिना अघि मात्रै खुलेको रास्वपा भने करिब २२ सिट सहित संसद प्रवेश गर्ने तयारीमा रहेको छ।

प्रचण्डको असफलता र रवि लामिछानेको सफलतासँग उनीहरु विचको तिक्त सम्बन्धको चर्चा पनि चल्ने गरेको छ। रवि लामिछानेले चितवन ३ बाट चुनावी प्रतिष्पर्धा गर्ने तयारी गरे पछि प्रचण्ड चितवनबाट भागेर गोरखा पुगेको चर्चा पनि हुन्छ जुन सत्य निकट देखिन्छ। चितवन ३ मा प्रचण्डले उठाएका गठबन्धनका उम्मेदवार तेस्रो भएका छन्।

प्रचण्ड गोरखा नगएको भए रवि लामिछानेले चितवन ३बाटै चुनावी प्रतिष्पर्धा गर्ने पक्का पक्की थियो। प्रचण्डलाई हराएर राष्ट्रिय राजनितीमा छलाङ मार्ने रविको हिसाब किताब रहेको थियो ।

यद्यपी प्रचण्ड गोरखा पुगे पछि चितवन २ बाट प्रतिष्पर्धा गरेका लामिछानेले सर्वाधिक मतान्तरले चुनाव जित्ने सांसदको रेकर्ड पनि बनाएका छन्।

तत्कालिन अवस्थामा एमाले अध्यक्ष केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम चलाएर चर्चामा आएका लामिछाने ओली पछि प्रधानमन्त्री भएका प्रचण्डसँग पनि सोही कार्यक्रम चलाउन चाहन्थे तर प्रचण्डले लामिछानेलाई हटाएर आफ्नै कार्यकर्तालाई कार्यक्रम चलाउन दिए पछि प्रचण्ड र रविको दुस्मनी सुरु भएको थियो।

प्रचण्डले सिधा कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रम चलाउन नदिए पछि त्यसैको झोकमा रविले सिधा कुरा जनतासँग कार्यक्रम सुरु गरेका थिए। त्यहि कार्यक्रमको सफलताको जगमा उनी अहिले राजनितीमा होमिएर छोटो समयमै यत्ती ठूलो सफलता प्राप्त गर्न सकेका छन्। त्यहि बेला टेलिभिजनको स्क्रिनबाट रविले प्रचण्डलाई च्यालेन्ज दिएका थिए।

आफुलाई भेट्न समेत नदिएको भन्दै प्रचण्ड सँग फायर भएका लामिछानेले एक दिन प्रचण्डले भेट्छु भनेर खोज्दा पनि समय नदिने व्यक्तित्व निर्माण गरेर देखाउँछु भन्दै वाचा गरेका थिए।

भनिन्छ इख नभएको मानिस र विख नभएको सर्प काम लाग्दैन। प्रचण्डसँगको इखलेनै सिधा कुरा जनतासँग कार्यक्रम चलाएर निकै लोकप्रिय भएका रवि लामिछानेले राजनीतिमा समेत चमत्कार गरेका छन्।

अहिले प्रचण्ड रविको प्रगती देखेर थुक निल्ने अवस्थामा पुगेका छन्। सत्ता राजनीतिको चाबी प्रचण्डको हातबाट फुत्कीएर रवि लामिछानेको हातमा पुगेको चर्चा पनि चल्न थालेको छ।

प्रचण्डहरुलेनै अब रविको सहयोगका लागी हात जोड्नु पर्ने अवस्था आएको छ। त्यसैले त होला अहिले बजारमा हल्ला छ बदला त यस्तो होस् जुन रवि लामिछानेले प्रचण्डसँग लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय