बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा पटकपटक निर्वाचन हुने बताउनुभएको छ ।

“केही व्यक्तिले चुनाव भए लोकतन्त्र समाप्त हुन्छ भन्दै छन्”, उहाँले भन्नुभयो, “लोकतन्त्रमा चुनाव अपरिहार्य कुरा हो ।”

एकहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज कमलादीमा आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उहाँले जनतामाझ जान कोही डराउन नहुने उल्लेख गर्नुभयो ।

निर्वाचन हुन नदिनका लागि विभिन्न षड्यन्त्रहरु भइरहेकोले त्यसका लागि नेपाली जनता सचेत हुनुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

उहाँले जनताको साथ लिएर सरकार अघि बढिरहेको बताउनुभयो । उहाँले निर्वाचनको तयारी तीव्र गतिमा गर्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

“जनतालाई आभास हुने गरी निर्वाचनको तयारी गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे विभिन्न भ्रम फैलाउने गरिएको प्रसङ्गमा प्रधानमन्त्री ओलीले जनतालाई ढुक्कका साथ आफ्नो मतदान गर्न आग्रह गर्नुभयो ।

लोकतन्त्र सुदृढ गर्न निर्वाचन आवश्यक भएको उहाँको भनाइ थियो । इतिहासमा पटकपटक आपसमा लडाउने भिडाउने षड्यन्त्र भएको उल्लेख गर्दै उहाँले देशलाई एकतामा बाँध्नु जरुरी भएको स्पष्ट पार्नुभयो ।

“मेरो जीत आवश्यक छैन, जनतालाई जिताउनु छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । राज्यका विभिन्न निकायलाई धमक्याउने तर्साउने काम भइरहेकामा उहाँले आपत्ति प्रकट गर्नुभयो ।

उहाँले विथोल्ने बिगार्ने तत्वदेखि सावधान हुन जरुरी रहेको उल्लेख गर्नुभयो । ताजा जनादेशका लागि प्रतिनिधिसभा भङ्ग गरेको उल्लेख गर्दै उहाँले जनमत लिनका लागि कोही पनि डराउन नहुने बताउनुभयो ।

बहुमतका नाममा पार्टी फुटाउने चक्रब्युहको रचना गरिएकाले त्यसअघि नै चक्रब्युह तोडिएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

बहुमत भत्काएर देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिए पनि आफूले त्यसलाई सफल हुन नदिएको उहाँले उल्लेख गर्नुभयो ।

विसं २००७ को परिवर्तन नै देशका लागि मुख्य जग भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बेलाबेलामा आन्दोलनका उपलब्धि खोसिने गरे पनि जनताको चेतना भने कसैले खोस्न नसक्ने बताउनुभयो ।

“२००७ सालको परिवर्तनले सर्वाधिक दूरगामी महत्व राख्छ, त्यसकै परिवर्तनको जगमा देशमा अन्य परिवर्तनहरु भएका हुन् ।” उहाँले भन्नुभयो, विसं २००७ अघि साहित्यकार र कविहरुले राणा शासन हटाउनमा अहम् भूमिका निर्वाह गरेको सो अवसरमा उहाँले स्मरण गर्नुभयो ।

“परिवर्तनका लागि कवि र लेखकहरुले जागरण अभियान चलाएका हुन्”, उहाँले भन्नुभयो । “बुद्धिजीवीहरु अलमलिए पनि जनता अलमलिँदैनन्”, उहाँले भन्नुभयो, “वुद्धिजीवीले सही बाटो देखाउन सहयोग गर्नुपर्छ ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले २००७ सालकै परिवर्तनका कारण नेपाल नयाँ युगमा प्रवेश गरेको बताउनुभयो ।

बीचबीचमा विभिन्न विघ्नबाधा आए पनि २००७ सालकै जगमा देशमा महत्वपूर्ण परिवर्तन भएको उहाँले उल्लेख गर्नुभयो ।

“आजको दिन पवित्र दिनका साथै जीवनको अभिन्न अङ्गसमेत बनेको छ”, कुलपति उपे्रतीले भन्नुभयो, “आजको दिन आगामी यात्राका लागि पनि प्रेरणा बन्ने छ ।”

सो अवसरमा प्रधानान्त्री ओलीले राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनुभएका सर्जकलाई नगद र सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो ।

निबन्धतर्फ गणेशप्रसाद भट्टराई प्रथम, रेजिना आपगाई दोस्रो र प्रेमराज सिलवाल तेस्रो तथा कवितातर्फ विक्रमपवन परियार प्रथम, गोविन्दगोपाल खतिवडा दोस्रो र तेज राई तेस्रो हुनुभयो ।

उहाँहरुलाई क्रमशः रु ५० हजार, रु ४० हजार र रु ३० हजार प्रदान गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानलाई देशभरबाट १७३ कविता तथा ७३ निबन्ध प्राप्त भएका थिए ।

कार्यक्रमको समापनमा प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राडा जगतप्रसाद उपाध्यायलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा विभिन्न वेशभूषा र संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय