बुधबार , बैसाख १२, २०८१

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अहिलेसम्मको मतपरिणाम हेर्दा सत्ता गठबन्धन साँघुरो बहुमततर्फ अग्रसर देखिएको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत ल्याउन गठबन्धनले १३८ सिट जित्नुपर्छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये हाल १६१ को मतगणना भइरहेको छ।

अहिलेसम्म गठबन्धनका पाँच दलमध्ये नेपाली कांग्रेसले सबभन्दा धेरै २५ सिट जितेको छ भने ३१ स्थानमा कांग्रेस अगाडि छगठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले ७ सिटमा जित हात पारेको छ भने १० स्थानमा अगाडि छ। त्यस्तै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले ६ सिटमा जित हात पार्दा ५ सिटमा अगाडि छ।

सत्ता गठबन्धनकै राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले पनि चुनाव जितेका छन् भने गठबन्धनसँगै मिलेर चुनाव लडेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि १ सिट जितेको छ र ३ सिटमा अगाडि छ।

निर्वाचन बेला नेकपा एमालेबाट विद्रोह गरेको प्रभु शाह समूहका २ जनाले पनि अग्रता लिइरहेका छन्। प्रभु शाह समूहका दुवै उम्मेदवारलाई सत्ता गठबन्धनको साथ छ। सर्लाही–४ बाट चुनाव लडेका अमरेशकुमार सिंहले पनि अग्रता लिइरहेका छन्। उनी कांग्रेसबाट बागी उठेका हुन्।

चुनाव जितेपछि उनको साथ सत्ता गठबन्धनलाई हुने निश्चितप्राय: छ।यसरी हिसाब गर्दा अहिलेको अग्रता कायम राखेको अवस्थामा सत्ता गठबन्धनले ९१ सिट प्राप्त गर्ने देखिन्छ।समानुपातिकतर्फ जारी मतगणनाले पनि गठबन्धनलाई साथ दिइरहेको छ। समानुपातिकतर्फको मतगणनामा पाँचवटा दलले मात्र ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने देखिन्छ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले ३ प्रतिशतभन्दा धेरै मत प्राप्त गरिरहेका छन्।अहिलेकै ट्रेन्डमा समानुपातिक मत आउँदा नेपाली कांग्रेसले ३० प्रतिशत ल्याएको अवस्थामा ३३ सिट र माओवादी केन्द्रले १५ प्रतिशत ल्याएको अवस्थामा १७ सिट प्राप्त गर्ने देखिन्छ। अर्थात् दुवै दल मिलेर समानुपातिकमा ५० सिट प्राप्त गर्ने देखिन्छ। एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले भने थ्रेसहोल्ड पार गर्ने देखिएको छैन।यसरी प्रत्यक्ष र समानुपातिक गरेर सत्ता गठबन्धनले १४१ सिट प्राप्त गर्ने अवस्था छ।

अहिलेको मतगणना अंकगणितलाई आधार मान्दा नेपाली कांग्रेस ९० सिटका साथ अग्रस्थानमा रहने देखिन्छ भने माओवादी केन्द्र ३४ सिटमा पुग्ने देखिन्छ। एकीकृत समाजवादीको ९ सिट, लोसपाको ४ सिट र राष्ट्रिय जनमोर्चाको १ सिट पाउने अवस्था छ। प्रभु शाह लगायतका स्वतन्त्र उम्मेदवारको साथले थप ३ सिट गठबन्धनको पक्षमा छ।

जारी मतगणनामा उलटफेर नभएको अवस्थामा अहिलेकै गठबन्धनको सरकार निर्वाचनपछि पनि बन्ने देखिएको छ। मतगणना जारी रहेका केही स्थानको अग्रतामा हेरफेर आउने सम्भावना भए पनि उलटफेरकै स्थिति भने देखिएको छैन।

त्यस्तै विभिन्न चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरू भएको छैन। त्यहाँको नतिजा पनि अर्थपूर्ण हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय