
काठमाडौं:
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादास्पद अभिव्यक्ति दिएका छन् ।
नेपाल मगर संघ गण्डकी प्रदेशको सम्मेलनमा पोखरा पुगेका देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको बताएपछि अहिले उनी आलोचनाको शिकार बनेका छन् ।
देउवाले आन्दोअलाका लागि पैसा चाहिने भनेपछि अहिलेसम्म कांग्रेसले गरेका ठुला आन्दोलन पनि पैसाकै बलमा गरिएको अर्थ लागेको छ ।
त्यतिमात्र होइन पैसा नभए देशमा कसैले आन्दोलन गर्न नसक्ने अर्थ समेत उनको अभिव्यक्तिले लागेको चर्चा भैरहेको छ ।
उनले पोखरामा आन्दोलन गर्न आफूसँग पैसा नभएकाले अदालतको आदेश कुरिरहेको बताएका थिए । सभापति देउवाले भनेका छन्, ‘हामीसँग पैसा पनि छैन ।
जबरजस्ती आन्दोलनमा बोलाउन पनि सक्दैनौं, ‘क्रियाशील लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आऊ न भन्यो भने कोही आउँदैनन् ।’
उनको यो अभिव्यक्तिले छुट्टै बहस सुरू हुने पक्का छ । सँगै उनीपनि आलोचनाको केन्द्रमा आउने निश्चित भएको छ । कतिपय सामाजिक संजाल प्रयोगकर्ताले उनको आलोचना सुरू गरिसकेका छन् ।
सर्वोच्च अदालतको आदेश नै अहिलेको समस्या समाधानको निकास हुने भन्दै देउवाले भने, ‘हठात् प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुवीकरणमा लगे, संसद् पुन:स्थापनाको पक्ष/
विपक्षमा बाँडिनु गलत हो, यसको निकास अदालतले दिन्छ।’
उनले अदालतबाट आउने फैसला स्वीकार गर्ने र संसद् पुन:स्थापना भए सदनमा र नभए चुनावमा जाने बताएका छन् ।
आक्रोशित देखिएका देउवाले विवादमा आउनेगरी दिएको यस्तो अभिव्यक्तिले कांग्रेस पार्टीभित्रै तरङ्ग देखिएको छ ।