बिहिबार , बैसाख १३, २०८१

काठमाडौं:

एसिया प्रशान्त क्षेत्रमा ‘व्यवस्थापन विकास’मा सक्रिय भनिएका संस्थाहरू आबद्ध रहेको

एउटा क्षेत्रीय स्तरको संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको सम्मानबारे सामाजिक सञ्जालमा टीकाटिप्पणी जारी छन्।

विशेषगरी फेसबुक र ट्विटरमा कतिपय प्रयोगकर्ताहरूले उनलाई ‘दूरद्रष्टा तथा राष्ट्रनिर्माता’ भनिएकोमा व्यङ्ग्यात्मक टिप्पणीहरू गरिरहेका छन्।

केहीले भने अघोषित भारतीय नाकाबन्दीका बेला उनले लिएको अडानको उदाहरण दिँदै सम्मानको बचाउ गर्दै ओलीको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

सरकारी सञ्चारमाध्यमहरूले पनि ओलीले पाएको सम्मानलाई प्रमुखताका साथ प्रचारप्रसार गरेका थिए।

ओलीले यसअघि पनि विभिन्न स्थानमा लिएका मानार्थ विद्यावारिधि र सम्मानहरूको आलोचना हुने गरेको थियो।

मनोवैज्ञानिकहरू चाहिँ ओलीसहित नेताहरूले जहाँ पनि र जस्तो पनि सम्मान ग्रहण गर्न जानुलाई प्रभावकारी ढङ्गले जिम्मेवारी वहन गर्न नसकेर ‘मैले केही गरेको छु है’ भनेर देखाउन खोज्ने मनोवृत्तिसँग तुलना गर्छन्।

के हो सम्मान?
एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (आमो) ले ओलीलाई शुक्रवार राजधानी काठमाण्डूमा उक्त सम्मान प्रदान गरेको थियो।

त्यसलाई ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड-२०२०’ भनिएको छ।

त्यसलाई सरकारी र अन्य केही सञ्चारमाध्यमहरूले पनि “ओली एसियाकै दूरदर्शी नेताका रूपमा” सम्मानित भएको भन्दै खबर प्रकाशन र प्रसारण गरेका थिए।

सरकारी मुखपत्र गोरखापत्रले शनिवार प्रथम पृष्ठको मुख्य समाचारको पूरकका रूपमा “प्रम ओली एसियाली दूरदर्शी नेता” शीर्षकमा उक्त समाचार छापेको छ।

शुक्रवार प्रधानमन्त्रीको सचिवालयले पनि ‘प्रधानमन्त्री केपी शर्मा ओली एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्डबाट सम्मानित’ भन्दै सञ्चारमाध्यमहरूलाई उक्त कार्यक्रमका तस्बिरहरू प्रेषित गरेको थियो।

मानार्थ सम्मान
सरकारी सञ्चारमाध्यमहरूले निकै महत्त्व दिएको र सामाजिक सञ्जालमा आलोचित बनेको उक्त सम्मान खासमा मानर्थ सम्मान मात्र भएको आयोजकले बताएका छन्।

आयोजक आमोका काउन्सिल सदस्य एवम् नेपाल व्यवस्थापन सङ्घका महासचिव मोहन ओझाले “उक्त अवार्ड एसियाभरका उत्कृष्ट नेताहरू छानेर नदिइएको” बताए।

उनले भने, “नेपाल भ्रमण वर्ष पनि भएकाले आमोलाई हामीले यसपालिको कार्यक्रम नेपालमा गर्न आग्रह गर्‍यौँ। त्यो स्वीकृत भएर नेपालमा आयोजना गरियो। खासमा आमोले जुन देशमा कार्यक्रम आयोजना गर्छ त्यहाँका कार्यकारी प्रमुखलाई यस्तो सम्मान दिने गर्छ।”

तर आमोले यस्तो सम्मान दिन थालेको गत वर्षदेखि मात्र हो। उसले गत वर्ष मलेशियाका राष्ट्रपति महाथिर मोहम्मदलाई यस्तै सम्मान दिएको थियो।

धेरैले महाथिरसँग तुलना गरेर यो सम्मान खासमा सबै नेताहरूको कार्यक्षमता हेरेर दिइन्छ भन्ने ठानेको हुनसक्ने ओझाले बताए।

उनले भने, “यो त मानार्थ सम्मान मात्र हो यसमा कुनै त्यस्तो छनोट प्रकृया अपनाइएको हुँदैन। यसको त्यस्तो धेरै विरोध र प्रशंसा हुनुपर्ने जस्तो मलाई लाग्दैन।”

नाम एसिया राखिएको भए पनि आमो एसियाभरि नै क्रियाशील छैन।

यसका सदस्यहरू पनि एसियाभरि सबै देशमा नरहेको ओझाले बताए।

आमो स्वतन्त्र, गैरराजनीतिक र गैरनाफामूलक संस्था रहेको उसको आधिकारिक वेबसाइटमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय