शुक्रबार , चैत्र १६, २०८०

काठमाण्डौ ।

जनयुद्धकालका शीर्ष तीन नेता हुन् प्रचण्ड बाबुराम र वैद्य । अहिले तीनै जना फरक फरक बाटोमा छन् । सशस्त्र युद्धमा एकसाथ संघर्ष गरेका अन्य थुप्रै नेताहरु तितरवितर भएको अवस्था छ ।

फेरी एकजुट हुनुपर्ने विषयमा कहिलेकाँही चर्चा हुने गरे पनि त्यो सफल हुन सकेको छैन ।

शान्ति प्रक्रियापछि, अझै भनौँ संविधान जारी भएपछि प्रचण्डको साथ छोडेर बाबुरामले फरक बाटो समातेका थिए । त्यसपछि दुवै जनाले एकअर्कालाई आरोप प्रत्यारोप गर्न थाले ।

तर २६ औँ जनयुद्ध दिवसका दिन अपवादका रुपमा देखिने एउटा दृश्य देखियो । जनयुद्धकालभरी साथ रहेका प्रचण्ड र डा. बाबुराम भट्टराई एउटै मन्चमा देखियो ।

र कार्यक्रम पनि यस्तो थियो कि जहाँ प्रचण्डको सहभागिताप्रति पनि आशंका हुन सक्छ । तर त्यस्तो भएन ।

डा. बाबुराम भट्टराईले लेखेको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा प्रचण्ड पुगेका हुन् । र बाबुरामले प्रचण्डकै हातबाट पुस्तक बिमोचन गराए ।

अनि प्रचण्डले बाबुरामको वौद्धिकताको प्रशंसा मात्रै गरेनन्, भट्टराई र आफूलाई इतिहासले अलग हुन नदिने उल्लेख गरे ।

जनयुद्धकालिको स्मरण गर्दै प्रचण्डले बाबुराम र आफूबीच चुम्बकको सम्बन्ध रहेको भन्दै घुमाउरो शैलीमा फेरी सहकार्यको प्रस्तावसमेत गरे ।

तर भट्टराईले भने अब प्रचण्डसँग सहकार्य वा एउटै पार्टीमा रहने कुरा सम्भव नरहेको आशय व्यक्त गरे । संविधान जारीपछि प्रचण्डको साथ छोडेर नयाँ शक्ति पार्टी निर्माण गरेका भट्टराई अहिले जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष छन् ।

जुन उद्धेश्यले प्रचण्डको साथ छोडेका थिए, त्यो प्राप्त भएको त देखिदैन । तर पनि अब प्रचण्डसँग दलीय हिसाबले मिल्न नसक्ने भट्टराई बताउँछन् ।

जनयुद्धका कालका अर्का हस्ती हुन् मोहन वैद्य । उनी पनि अहिले न प्रचण्डसँग न बाबुरामसँग । छुट्टै दलको नेतृत्व गरेर बसेका छन् । वैद्य त प्रचण्ड र बाबुरामसँग मिल्न नसक्ने मात्रै होइन, आक्रोषित नै छन् । आफूले सच्चा कम्युनिष्टको नेतृत्व गरेको बताउन वैद्यले अरु नेताहरुले स्वार्थका लागि विचार र सिद्धान्त त्यागेको आरोप लगाउने गर्छन् ।

प्रचण्ड, बाबुराम र वैद्यसँगै छुटाउन नहुने अर्को नाम हो रामबहादुर थापा । जो अहिले गृहमन्त्री छन् । कहिले वैद्य त कहिले प्रचण्डको हात समात्ने गरेका थापा अहिले प्रधानमन्त्री केपी ओलीको सारथी बन्न पुगेका छन् ।

त्यस्तै अर्का महत्वपूर्ण पात्र हुन्, नेत्रविक्रम चन्द विप्लव । जो भूमिगत रुपमा नेकपाको नेतृत्व गरिरहेका छन् । विप्लव नेतृत्वको दललाई सरकारले प्रतिबन्ध गरेको छ । यसरी जनयुद्धमा एकसाथ रहेका नेताहरु अहिले मिल्न नसक्दा उनीहरु सबैको राजनीतिक हैसियत कमजोर बन्दै गएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय