मंगलबार , चैत्र ६, २०८०

भारतीय अतिक्रमणमा रहेको नेपालको दार्चुलास्थित भूमि नक्सामा समेट्ने विषयमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अत्यधिक बहुमतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाध्य पारिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।नेकपाका अध्यक्ष रहेका दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न तत्कालीन नेकपाको बहुमतले तत्कालीन प्रधानमन्त्री ओलीलाई बाध्य पारेको बताए ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको चुनाव गठबन्धनको दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा दाहालले उक्त कुरा बताएका हुन् ।

 

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्ने नेकपाको निर्णय मान्न तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई बाध्य पारिएको तत्कालीन नेकपाका अध्यक्ष दाहालले बताएका हुन् ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन पहिले दार्चुलाको खलंगामा आयोजित चुनावी सभामा आफ्नो नेतृत्वमा आगामी सरकार बन्ने र कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउने दाबी गरेका थिए । उक्त अभिव्यक्तितर्फ इंगित गर्दै दाहालले वास्तविकता अर्कै रहेको दाबी गरे । ‘उहाँले नक्साको कुरा गर्नुभएछ ।

 

मलाई यहाँ व्याख्या गर्ने समय छैन नत्र सबै पोल खोलिदिन्थे । केपी ओलीले होइन नक्सा बनाएको कोही भ्रममा नपर्नुहोला । म पनि अध्यक्ष थिए । मसिहत नेकपा स्थायी कमिटीको अत्यधिक बहुमतले यो नक्सा बनाउन लगाएको हो । यो नक्सा बनाएको केही समयपछि केपी ओणलीले आत्मसमर्पण गरेका छन्,’ दाहालले भने, ‘नक्सा बनाउन पार्टीभत्रको अत्यधिक बहुमतले निर्णय गरेपछि केपी ओलीलाई बाध्य पारिएको हो । यो नै सत्य हो र यसलाई संसारको कुनै तागतले झुटो सावित गर्न सक्दैन ।’

 

नक्साले संसद्बाट वैधानिकता पाउनका लागि कांग्रेस र मधेस केन्द्रित दलहरूको भूमिका रहेको दाहालको भनाइ थियो । नक्सा पारित गर्न भने सबै राजनीतिक दलहरूको भूमिका रहेको उनले दोहोर्‍याएका थिए । नक्सा संसद्बाट पारित भएपछि भारतसँग वार्ता गर्न भनेको तर ओलीले नमानेको दाहालको भनाइ थियो । ‘भारतसँग वार्ता र संवाद गरेर समस्याको स्थायी समाधान गर्नुपर्छ भन्दा कहिल्यै हिम्मत नगर्ने,’ उनले भने ।

 

सीमा विवादलाई ओलीले निर्वाचनमा प्रयोग गर्नका लागि थाती राखेको दाहालको आरोप थियो । ‘चुनाव आएपछि राष्ट्रवादका कुरा गर्छन् सत्तामा गएपछि लम्पसार पर्छन् केपी ओली । मैले नजिकबाट राम्रोसँग देखे, बुझेको छु,’ उनले भने ।

 

त्यस्तै, दाहालले एमाले नेतृत्वमा संघीयता र लोकतन्त्र विरोध चुनावी गठबन्धन बनेको बताए । उनले भने, ‘उहाँ जुन गठबन्धनमा हुनुहुन्छ । नेपालमा फेरि सामन्ति, निरंकुशतन्त्र फर्काउनुपर्छ भन्ने, यो देशको एकता खल्बल्याउनुपर्छ भन्नेसँग उहाँको गठबन्धन छ । हलोसँग छ के के सँग छ के के ।’

 

सोही सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नक्साबारे ओलीले भ्रम फैलाएको बताएका थिए ।

 

कालापानीबारे ओलीले दार्चुलामा हैन भारतसँग कुरा गर्नुपर्थ्यो : प्रधानमन्त्री देउवा

दार्चुलामा प्रतिनिधिसभाको एउटामात्र निर्वाचन क्षेत्र छ । जहाँ कांग्रेसका नेता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू गठबन्धनका उम्मेदवार छन् । प्रदेशतर्फ दार्चुला (१) मा कांग्रेसका विक्रमसिंह धामी र दार्चुला (२)मा माओवादी केन्द्रका मानबहादुर धामी उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय