शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको छ ।

चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरहरुको समर्थन खोजिएको शीर्ष नेताहरुले बताए ।

५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ । भोलि काठमाडौंमा आमसभा गर्दैछ ।

त्यसको अघिल्लो दिन अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको बताएका छन् ।

नेपालमा लोकतन्त्रको हत्या भइरहेको भन्दै प्रचण्डले अघि भने, ‘नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ । लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन हामीलाई चाहियो भनेर औपचारिक अपील गरेका छौं ।

अलग–अलग भेटेर कुरा गरेका छौं ।’ अन्तर्राष्ट्रिय समुदायसँग छिट्टै संयुक्त छलफलसमेत हुनसक्ने उनले सुनाए । छलफलका क्रममा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘संविधानभन्दा बाहिर गएर असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको निर्णयलाई सदर गर्छ भन्ने लागेको छैन ।’ उनले अघि भने, ‘जहाँसम्म त्यस्तै भयो भने के हुन्छ ?

प्रश्न तपाईंहरुको छ, म अहिले धेरै त भन्दिनँ । तर असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक र अलोकतान्त्रिक नै हुन्छ ।’

प्रचण्डले प्रधानमन्त्री निकट मानिसहरुले ‘सेटिङ भइसकेको छ, सर्वोच्च र निर्वाचन आयोगले हामीले भनेअनुसार नै निर्णय गर्छ’ भनेर तलसम्म प्रचार गरेपनि त्यस्तो हुँदैन भन्ने विश्वास व्यक्त गरे ।

उनले अघि भने, ‘सर्वोच्च अदालत, निर्वाचन आयोग संवैधानिक व्यवस्थाअनुसार आफ्नो काम स्वतन्त्र ढंगले गर्छन् भन्ने हाम्रो विश्वास छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय