
काठमाडौं:
निर्वाचन आयोगमा वैधानिकता विवाद चलिरहेकै बेला छुट्टै संगठन संरचना तयार गरिरहेको नेकपा ओली समूहमा खटपट शुरु भएको छ ।
नयाँ नेतृत्व चयन गर्ने गरी आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेला रामबहादुर थापा बादल समूहका नेताहरुले बहिष्कार गरेका छन् ।
नेकपा विभाजन हुँदा केपी ओलीतिर लागेका बादलको युवा संघमा ५६ जना रहेको नेता सबित ढुंगानाले बताए । ‘निषेध गरेर जान खोजिएपछि हामी भेलामै गएनौं ।
त्यो भेला गुटको हो भन्ने उहाँहरुले प्रमाणित गर्नुभयो’ ढुंगानाले भने । बादल निकट वीरु तामाङको नेतृत्वमा भेला बहिष्कार गरिएको छ ।
तामाङ तत्कालीन वाईसीएलका उपाध्यक्ष थिए भने ढुंगाना सचिव थिए । ‘३३५ जनाको कमिटीमा ८१ जनाले गरेको निर्णय अवैध हो ।
एक तिहाइले नयाँ नेतृत्व चयन गर्ने भन्ने नै हुँदैन’, ढुंगानाले अनलाइनखबरसँग भने । एमाले र माओवादी एकतापछि युवा संघमा ३३५ सदस्यीय कमिटी बनेको थियो ।
सहसंयोजक रमेश पौडेलको नेतृत्वमा भएको भेलामा ८१ जना मात्र सहभागी रहेको ढुंगानाले बताए ।बादल निकटहरुले बहिष्कार गरेपनि भेलाले नेतृत्व चयन प्रक्रिया भने अगाडि बढाएको छ ।
एक नेताका अनुसार आइतबार नै सहसंयोजक पौडेललाई संयोजक घोषणा गरिएको थियो । तर त्यसमा सबै एकमत नभएपछि नयाँ संयोजक तोक्नेगरी छलफल भइरहेको छ ।
पौडेलले आफूले छोड्दा बचन सिंहलाई संयोजक बनाउनुपर्ने अडान लिएका छन् । ‘मैले संयोजक छोड्दा बचन सिंहलाई अगाडि बढाउँछु’, पौडेलले भने ।
इन्चार्ज महेश बस्नेतले भने नयाँ संयोजक किरण पौडेललाई बनाउन चाहेका छन् ।
सोमबार दिनभर भएको छलफलपछि बहुपदीय संरचनामा जाने सम्भावना बढेको प्रभातविक्रम कट्वालले बताए । तर बहुपदीय संरचनामा जाँदा पनि विवाद हल हुने सम्भावना कम रहेको एक नेताले बताए ।