बुधबार , बैसाख १२, २०८१

काठमाडौं:

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला पार्टीभित्र एक्लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमको कांग्रेसले विरोध त गर्यो तर सडकमा सशक्त रुपमा आफ्नो उपस्थिति देखाउन सकेन ।

खासगरी सभापति देउवा र प्रधानमन्त्री ओलीबीच सहमति भएर नै प्रतिनिधिसभा विघटन भएको राजनीतिक वृत्तमा चर्चा छ ।

संवैधानिक निकायमा नियुक्तीहरु देखि लिएर विभिन्न विषयमा ओलीसँग सम्झौता र भागबण्डा गरेको देउवामाथि पार्टीभित्रैबाट आरोप छ । संसद विघटनमा नेकपाको दाहाल–नेपाल समूह सडक आन्दोलनमा छ ।

तर, सभापति देउवाले भने संसद विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतलाई पर्खनुको विकल्प नभएको भन्दै आन्दोलन चर्काउन नहुने अडान लिएका छन् ।

कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूह भने आन्दोलनमा जानुको विकल्प नभएको भन्दै आफ्नो उपस्थिति देखाईरहेको छ ।

नेताहरु पौडेल, सिटौलामात्रै नभएर युवा नेताहरू गगन कुमार थापा, प्रदीप पौडेल पनि ओलीको कदमविरुद्ध सडकमा उत्रिएका छन् ।

उनीहरुले ओलीको कदम प्रतिगामी भन्दै देशव्यापी रुपमा कार्यकर्ता उतारिरहेका छन् । हिजोमात्रै वीरगन्जमा उपसभापति विमलेन्द्र निधि पनि ओलीको कदमविरुद्ध सडक संघर्ष अघि बढाउनुपर्ने भन्दै सशक्त रुपमा अघि बढ्ने लाईनमा उभिएका छन् ।

पार्टीभित्र देउवा अहिले एक्लिएको उनीनिकट नेताहरुको दाबी छ । नागरिक समाजको स्तरबाट पनि देउवाको कदम प्रभावकारी नभएको निश्कर्ष निकालिएको छ ।

अहिले ओलीको कदमविरुद्ध नागरिक आन्दोलन नै सुरु भएको छ । उनीहरुले दैनिक विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

नागरिक आन्दोलनको कार्यक्रममा पत्रकार नारायण वाग्लेले त अब तेस्रो जनआन्दोलन सुरु हुने उद्घोष नै गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय