शनिबार , फागुण १९, २०८०

सागर भट्टराई

 

 

परिवार,आफन्त,साथिभाई वा कुनै अग्रज व्यक्तिको प्रभावमा परेर राजनीतिमा संलग्न हुनुभएका यहाँहरूलाई स्वागत छ। किनकि ‘राजनीति फोहोरी खेल हो’ भन्ने कुरा सुन्दा सुन्दै युवा पुस्तामा तपाईँहरू सक्रिय रूपमा राजनीतिमा संलग्न हुनुहुन्छ। त्यसो भन्दै गर्दा तपाईँहरूमध्ये कतिपय केबल शक्ति र सम्पत्ति आर्जनकै लागि पनि राजनीतिमा लाग्नुभएको होला। राजनीतिमै लागेर तपाई ‘सेलिब्रिटी’का रूपमा स्थापित हुने रहर पनि होला। ‘दुनियाँ आफ्नाअघि झुक्छन्, समाजका अन्य शक्ति, प्रहरी–प्रशासनदेखि सैनिकहरूसमेतले राजनीतिक नेताका कुरा काट्न सक्दैनन्, नेताको आदेश मान्छन् वा समाजमा एक खालको सम्मान पाइन्छ’ भन्ने कुराले तपाईँ राजनीतिमा संलग्न हुनुभएको होला । त्यही लोभकै कारण कतिपय राजनीतिक दलमा लागेर नेताका रूपमा तपाईँ उदाउनुभएको होला । शान, शक्ति र व्यक्तिगत महत्वाकांक्षा मानवीय स्वभाव हो। तर शक्तिको मोहमाथि नियन्त्रण कायम गरेर राजनीतिलाई समग्र समाजको स्वभिमान र गरीमा बढाउनेतर्फ लाग्नुचाहिँ उत्कृष्ट मानवीय कार्य हो ।

 

तपाईँ केबल व्यक्तिगत शक्तिआर्जनकै लागि राजनीतिमा संलग्न हुनुहुन्छ भने, तपाईबाट समाजले के आश गर्ने ? हिजो राणाकालिन र पंचायती शासनमा भएको पनि त्यही हो, राज्य र प्रशासनका सिमित व्यक्तिहरूमात्रै समाजमा हावी हुन्थे । उतिखेर त्रासका भरमा शासन चल्थ्यो। विधि, विधान होइन, हुकुम र आदेशको रवाफ थियो। शक्ति र सेटिङका भरमा शासन चल्ने त्यस्तो प्रणालीलालाई निरंकुश शासन व्यवस्था भनिन्छ। जनताका आवाजहरू सुनाउने ठाउँ नै नहुने, गरिबहरुको आवाज सत्ता संचालकसम्म या सबै जनतामाझ पुग्न नपाउने त्यस्तो व्यवस्थालाई एकतन्त्रीय व्यवस्था भनियो ।

 

नेपालमा प्रजातन्त्रको घोषणा हुनु पहिले अर्थात् वि.सं. २००४ मा राणाहरूले समेत कानून जारी गराएका थिए। त्यस्तो समयमा यातायात र संचारको अभाव भएका दुर्गम गाउँठाउँका मुखिया र स्थानीय सामन्त, धनीमानी र ठूलाठालुहरुनै श्री ३ को हैसियतमा थिए । राजाकै सिको गर्दै दुरदराजका गाउँहरूमा छोटेमोटे राजाहरू शक्ति र आवाजविहिन गरीबहरूमाथि शोषण गर्थे ।

 

राणा शासनव्यवस्थाको अन्याय र अत्याचारविरुद्ध गंगालाल, धर्मभक्त, शुक्रराज शास्त्री, दशरथचन्द, टंकप्रसाद आचार्य, रामहरी जोशी, विपी, पुष्पलाल, गणेशमान, साहना, मंगलादेवीलगायतले जनताको ठूलो साथ र समर्थनसहित सत्ताविरुद्ध लडे । कैयौँ शहीद भए २०४६ सालको परिवर्तनपछि पनि समाज व्यवस्था असन्तुलित रहेको ठहर गर्दै बाबुराम, प्रचण्ड, मोहन वैद्यहरुले जनयुद्ध उठाए र राज्यविरुद्ध युद्ध लडे ।

यी आन्दोलनहरूमा फेरि हजारौँ नेपालीहरूको ज्यान गयो। यहाँनिर युवा मित्रहरूलाई प्रष्ट पारौँ, कतिपय आजका नवयुवाहरू हिजोको राजतन्त्र र यसका शोषण र षड्यन्त्रहरूका बारेमा बेखबर छन् । तिनका लागि राजतन्त्र या राजसंस्था भन्नु धेरैजसो सामाजिक संजालमा देखिने, राजदरबार हत्याकाणडमा मारिएका राजपरिवारको तस्वीर, राजाले लगाएको दौरा सुरुवाला हँसिलो मुस्कानवाला तस्वीर’हरू मात्रै छन ।

 

युट्युब, टिकटक र फेसबुकमा भाइरल हुँदा त्यसैमार्फत समेत राम्रो पैसा कमाईन्छ र त्यसमाथि सामाजिक संजालमा गफ चुटेरै भएपनि नाम कमाउन पनि सजिलो छ। उडन्ते गफ लडाउनेहरूका लागि फेसबुक र टिकटक चर्चाका राम्रा प्लेटफर्म भएका छन्। यस्ता मनुवाहरू जे बोल्दा बढी वाहवाही पाइन्छ, त्यही बोल्छन्। धुर्मुससुन्तलीले चितवनमा क्रिकेट स्टेडियमका लागि पैसा उठाउने कुरा गर्दा यिनीहरू धुर्मस र सुन्तलीकै पक्षमै चर्का स्वरमा बोले, अहिले धुर्मस सुन्तलीको अतिमहत्वाकांक्षा असफल हुँदा तिनैलाई सरापेर सामाजिक संजालमा भ्युज् बटुलिरहेका छन्। अतः यस्ता ‘पपुलिस्ट’हरुका पासोमा नपर्न पनि युवा पंक्तिलाई म आग्रह गर्छु।

 

कलाकारितामा ठूलो क्रेज भएका धुर्मस–सुन्तलीको लोकप्रियता ‘क्रिकेट स्टेडियम काण्ड’बाट र अवसान भएबाटै पनि हामी नेपालीहरूले आफ्नो चेतनाको खुट्टी छाम्नुपर्छ। एउटै व्यक्ति वा कुनै अमुक ‘इश्वरदूत’ आएर दुनियाँका सबै दुःखबाट मुक्त गरिदिन्छ भन्ने सन्देश बोकेका आध्यात्मिक–कथाहरू सुनेर ‘त्यस्तो पनि हुन्छ होला भन्नेहरुले धुर्मुस सुन्तलीको महत्वाकांक्षा र असफलताबाट केही सिक्नैपर्छ। प्रणालीले सबैलाई नियन्त्रण गर्ने हो, एउटा व्यक्ति केही हो, तर एउटै व्यक्तिबाट सबैथोक सम्भव हुँदैन भन्ने कुरा हामीले बुझ्नैपर्छ।

 

विश्वभर सामाजिक संजाल प्रचलित हुनुपूर्व पत्रिका, रेडियो र टेलिभिजनमार्फत खासगरी समाजका थोरै शिक्षित मान्छेहरूले पहिले समाज, धर्म, विज्ञानलगायत अनेक विषयमा धारणा बनाउँथे । गम्भीर अध्ययनमा रुची नहुनेहरूले अचेल फेसबुकलगायत समाजिक संजालबाटै आएका कुराहरू बाट आफ्नो धारणा बनाउने गर्छन् । चकलेटी सेलिब्रिटी’ होईन, वैचारिक राजनीति गर्नेहरूलाई चिनौँ। समाज विकाशबारे निरन्तर आफू अपडेटेड बनौ । खासगरी समाज विज्ञान, अर्थशास्त्र र समाजशास्त्रसम्बन्धी किताबहरू पढौँ । किनकि तपाईँले राजनीति गर्ने समाजको लागि हो । ठूलो भनिएको कुनै नेतासँग बसेर फोटो खिचेर सामाजिक संजालमा सेयर गर्दैमा समाजमा रवाफ त झल्केला तर त्यसरी समाज बुझिन्नँ।

 

 

राजनीति गर्नुपूर्व राम्रोसँग विश्व जगतको समाज बुझ्नुपर्छ । कोही किन धनी हुन्छ र किन गरीब हुन्छ, त्यो राम्ररी बुझ्नुपर्छ । शासनसत्ता र त्यसको वरपर रहने धनी र शासनसत्ता पर रहने मान्छेहरू किन गरीब हुन्छन् भन्ने कुरा पनि राजनीति गर्नेले बुझ्नैपर्छ । अहिलेसम्म संसारभर किन प्रायः पुरुषहरूकै दबदबा छ?, अमेरिकाजस्ता देशमा पनि महिलालाई नेताका रूपमा किन स्विकारिँदैन भनेर जान्न लैंगिक सवालका बिषयहरु पनि खोतल्नु पर्छ । समाजमा आफ्ना बैनी, आमा, श्रीमती र छोरीहरूको सामाजिक पहुँचलाई ख्याल गर्दै लैंगिक मुद्धालाई गम्भीरताका साथ अध्ययन गर्नुहोस्। सडक, बिजुली र भव्य बिल्डिङहरूलाई विकाश र समृद्धि भनिने गरेको छ। अहिले पनि विकाशको त्यस्तै परिभाषा हाम्रो राजनीतिमा व्याप्त छ, त्यसभित्रको मनोविज्ञान के होला, जान्नुहोस् । देशमा रेल र सडक आउँदा त्यसले कति प्रतिशत र कुन तहको मान्छेको जीवन बढी लाभान्वित हुन्छ, सो कुरा बुझ्ने प्रयत्न गर्नुहोस्।

 

शक्ति के हो र कसरी बन्छ भन्ने जान्न सम्पत्ति र सामाजिक पहिचानका सम्बन्धलाई जोड्नुहोस् । भाषा, धर्म, भूगोल र राजनीतिको अन्तरसम्बन्ध बुझ्नुहोस । जात र छुवाछुतकै कारण हाम्रो समाज किन पछाडि पर्यो, त्यसको कारण खोतल्नुहोस्। समाजका एकथरी मान्छेहरू अचेल ‘आरक्षण(समावेशिता)ले गर्दा क्षमतावानहरूले जागिर खाने अवसर गुमाए’ भन्दै ढ्याङ्रो पिट्ने गरेका छन्। तर हजारौँ वर्षदेखि दक्षिण एसियामा खास जातिले मात्रै जातीय र धार्मिक हारहारिकै कारण स्वतः आरक्षण कसरी पाउँदै आएको थियो भन्ने जान्न बिआर अम्बेडकर र नेपाली लेखकहरूका जात र छुवाछुतसम्बन्धी गम्भीर पुस्तकहरू खोतलेर हेर्नुहोस्। समाजमा खास कुनै जातिका मान्छे किन ‘स्वतः क्षमतावान’ किन हुन्छ र कोही किन ‘स्वतः असक्षम’ हुनपुग्छन् भन्नेबारे नजानिकन निम्छराहरूको पक्षमा भोलि तपाईँले कसरी आवाज उठाउन सक्नुहोला, कानूनहरू बनाउन सक्नुहोला? अतः आफूलाई एक गम्भीर अध्येता बनाउनुहोस् र मात्रै राजनीतिमा सहभागी हुनुस्।

 

समाज आफैँमा एक जटिल संरचना हो। समाजको यही जटील संरचनालाई उपयोग गरेर कतिपय ‘भाग्यमानीहरू’ लाभ हाँसिल गरिरहेका छन्। ‘एकबारको जीवन हो, जसरी हुन्छ शक्ति र सम्पत्ति दोहन गरेर मोज गरौँ’ भन्ने धन्दामा छन्। माथि नै उल्लेख गरियो, तानाशाह र बादशाहहरूको उदेश्य त्यही हो । समाजका जटिलतम् समस्याहरू बुझेर हरदम चिन्तन र मननमा लाग्ने नेताहरू तपाईँहरूले आफूभित्र हुर्काउने गर्नुहोस । राजनीति गरेर शक्ति र सम्पत्ति धेरैले कुम्ल्याएका छन् तर समग्र जगतकै लागि राजनीति गर्ने चिन्तन यहाँहरूमा आओस ।

 

यसका लागि आफैँ उदाहरणीय बन्नुहोस्, सरल जीवन जिउनुहोस् । अति उपभोक्तावादी र देखावटी संस्कृतिले समाजमा नकारात्मक बिचार बढेको छ। त्यसले वातावरण र मानव संस्कृति नै प्रदुसित भएको छ। अन्यायमा परेका र निमुखाबर्गसङ विनम्र बन्नुहोस्, अन्याय गर्नेहरूसँग नझुकीकन न्यायको भाषा बोल्नुहोस्। खुकुरी बनेर पीडकको पक्षमा होइन, अचानो बनेर पीडितका पक्षमा उभिनुहोस्। पीडितकै ठाउँमा आफूलाई उभ्याएर उनीहरूको हितका लागि लड्नुहोस्। झण्डा बोक्ने, नारा भट्याउने र शक्तिका धाक लगाउनेहरू राणाशाही र राजशाहीमा पनि थिए, आज पनि टन्नै छन्। तिभन्दा फरक बन्नुहोस्। न्याय र समताको वकालत गर्ने एउटा सरल र विनम्र राजनीतिज्ञ बन्नुहोस्।

 

मानव कल्याण र मुक्तिका लागि कसैले राजनीति गर्छ भने त्यो अवश्य नै विचार, सिद्धान्त वा दर्शनबाट निर्देशित हुन्छ। राजनीति गर्ने आजका युवाहरूले यो आदर्शलाई बुझ्नैपर्छ। किनकि विचार भन्नु बाटो हो, विचार भन्नु गन्तव्य पनि हो । कुनै गन्तव्य नभइकन कतै हिँडियो भने कहाँ पुगिन्छ? आफूलाई नयाँ पुस्ता ठान्ने राजनीतिज्ञहरूले यी सामान्य आदर्श र तथ्यहरूलाई ख्याल गरेमा तपाईँहरूको राजनीति मूल्यसहितको हुनेछ ।

धन्यवाद !

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय