मंगलबार , चैत्र ६, २०८०

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्रको असन्तुष्टि भुसको आगोझैं बल्ने संकेत देखिएको छ।बिहीबार रातिसम्म चलेको एमाले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘दस भाइ’ समूहलाई आत्मालोचना गर्न दवाव दिएपछि एमालेभित्रको असन्तुष्टि चुलिने देखिएको हो। बिहीबारको बैठकले आत्मालोचना गरे मात्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ‘टिकट’ दिने निर्णय गरे पनि एमालेभित्रका ‘माधव नेपाल पक्षधर’ नेताहरूले कुनै प्रतिक्रिया दिएका छैनन्।

 

एमालेको विवादमा माधव नेपालतिर उभिएर पार्टी विभाजन हुँदा एमालेतिरै रहेका नेताहरूलाई पार्टीभित्र ‘दस भाइ समूह’का नामले चिनिने गरिएको छ। उक्त समूहमा उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, नेताहरू रघुजी पन्त, अमृतकुमार बोहरा, घनश्याम भुसाल, डा. भीम रावल लगायत छन्।

 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लाबाट सर्वसम्मत सिफारिसका १० नेता यसपटकको सिफारिसमा भने डा. रावलबाहेक कोही पनि सर्वसम्मत हुन सकेनन्। उनीहरूको निर्वाचन क्षेत्रमा ओली पक्षधर नेताहरूले आफ्नो दावी प्रस्तुत गरेपछि उम्मेदवारका लागि धेरै जनाको नाम सिफारिस गरिएको छ।

 

डा. रावल अछाम–१ बाट सर्वसम्मत सिफारिस भएपछि उनलाई रोक्न अध्यक्ष ओली नै अगाडि सरेका छन्। उनले सुदूरपश्चिमका नेताहरू बोलाएर रावललाई सर्वसम्मत सिफारिस गर्नुको कारण र आधार मागेको बताइएको छ। टिकट नपाउने भयकै कारण पछिल्लोसमय मौन बसेका रावलको उम्मेदवारीसमेत सुरक्षित नरहेको नेताहरू बताउँछन्।

 

‘दस भाइ समूह’ ओलीको पुस ५ गतेको प्रतिनिधिसभा विघटन गर्ने कदमका विरूद्ध सडकमा उत्रिएको थियो। उनीहरूले ओलीको कदमलाई प्रतिगामी, संविधानविरोधी, लोकतन्त्रविरोधीसंज्ञा दिएर संघर्ष गरे पनि पार्टी विभाजनपश्चात् १० बुँदे सहमति गरी एमालेमै रहेका थिए। ओलीले आत्मालोचनाको नाममा उनीहरूलाई संसद विघटनको समर्थन गर्न बाध्य पार्ने रणनीति लिएका छन्। यसले उनीहरूको भविष्य असुरक्षित देखिएको छ।

 

दस भाइसमेत विभाजित भएपछि उनीहरूबिच खेल्न र पेल्न ओलीलाई सजिलो भएको छ। दस भाइमध्ये उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई खुलेर ओलीको पक्षमा लागेका छन्। गोकर्ण विष्ट लगायतका केही नेताहरूसमेत पैरवीमा लागे पनि ओलीले विश्वास गरिसकेको देखिँदैन। स्थायी समिति सदस्य घनश्याम भुसाल भने वैचारिक रूपमा ओलीको विपक्षमा उभिएका छन्। नेता रावल पछिल्लोसमय टिकट नपाउने भयकै कारण मौन बसेको एमालेवृत्तमा चर्चा छ।

 

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली टिकटको दौडबाट बाहिरिने निश्चित छ। नेता भुसालसमेत टिकट पाए पनि जीत निकाल्न कठिन भएकाले बरू चुनाव नलड्ने तर ओलीसामु नझुक्ने मनोविज्ञानमा रहेको नेताहरू बताउँछन्। अमृतकुमार बोहरा लगायतका नेताहरू पनि सक्रिय राजनीतिबाट बाहिर देखिन्छ भने नेता रघुजी पन्त समानुपातिकको सूचिमा परेका छन्।

 

एमालेमा दस भाइ समूह मात्र होइन, पूर्वमाओवादी समूहसमेत ‘घर न घाट’को हुने संकेत देखिएको छ। निर्वाचन आयोगलाई समानुपातिकको बन्दसूचि पेश गर्दा आफूहरूसँग सल्लाह नगरेको भन्दै उनीहरू पनि ओलीसँग चिढिएको चर्चा छ।

 

निर्वाचनमा अवसर पाए आफूहरू माओवादीमै फर्किने चाहना राखेका नेताहरूप्रति माओवादी नेतृत्व भने सकारात्मक देखिएको छैन। पदका लागि जस्तोसुकै कदम चाल्नेलाई अवसर दिए भोलि फेरि धोका हुने माओवादीको विश्लेषण छ।

 

पूर्वमाओवादी नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा लामा तामाङ लगायतका नेताहरू पनि प्रतिनिधिसभामा टिकट पाउनेमा विश्वस्त देखिएका छैनन्। टिकट पाए पनि अधिकांशले चुनाव जित्ने सम्भावना नदेखिएको उनीहरूको आंकलन छ।

 

नेकपा विभाजनपछि एमालेतिर लागेका नेताहरूमाथि ओलीले बेलाबखत कटाक्ष गर्दै आएका छन्। मुख्यतः जनयुद्धको विषयलाई लिएर ओलीले गरेको कटाक्षले उनीहरूको आत्मस्वाभिमानमा चोट पुगेको बताइएको छ।

 

निर्वाचनको टिकट बाँड्ने दिन नजिकिँदै गर्दा नेपाल पक्षधर र पूर्वमाओवादी नेताहरू ओलीप्रति सशंकित देखिएका छन्। गत स्थानीय निर्वाचनमा समेत ओली समूहले नेपाल पक्षधर र पूर्वमाओवादी समूहलाई छानिछानि अन्तरघात गरेको एमालेभित्र चर्चा छ।

 

ओलीले टिकट दिइहाले पनि जिल्लाका ओलीपक्षधर नेता–कार्यकर्ताले असहयोग गर्ने कारण दस भाइ र पूर्वमाओवादी नेताहरूको राजनीति असुरक्षित देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय