बुधबार , बैसाख १२, २०८१

१४ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिकता विधेयकतर्फ संकेत गर्दै बाहिरियाहरुलाई भित्राएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपन्च गरिएको दाबी गरेका छन् ।

 

राष्ट्र र राष्ट्रियता सर्वाधिक संकटापन्न स्थितिमा रहेको बताउँदै उनले अहिले बलियो मियो आवश्यक रहेको पनि बताएका छन् ।दशैंको अवसरमा भिडियो सन्देश मार्फत् शाहले सो कुरा बताएका हुन् । ‘बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउन जरुरी छ । नेपाललाई फेरि महान बनाउनु परेको छ,’ उनले भनेका छन् ।

 

एकातिर युवाहरु विदेश पलायन हुने र अर्कोतिर बाहिरियाहरुलाई भित्राउने प्रपन्च रचिएको भन्दै उनले नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भएको बताएका छन् ।अर्कातिर बाहिरियाहरुलाई भित्राउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपन्चप्रति चासो र चिन्ता बढेको छ,’ उनले भनेका छन्, ‘विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, सँस्कृति, सभ्यतामाथि घातक प्रहार हुँदै आएको छ ।’

 

डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको बताउँदै उनले भनेका छन्, ‘देशका प्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था, संगठन एवम् प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको छ ।’अहिले देशलाई दाउँमा लग्ने अवस्था बनेको भन्दै उनले देशले कहिल्यै पनि हार्न नहुने बताएका छन् ।

 

उनले भनेका छन्, ‘हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ । हाम्रा मौलिका धार्मिक, साँस्कृतिक मान्यताहरु विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइदिंदहा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएको छ । व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छ ।

 

सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउँमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौं हाम्रो कुनै कार्यले देश कहिले पनि हार्न हुँदैन ।

 

’राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरु र नेपाली एकता रक्षाका लागि एकजुट हुँदै अभिभावकीय रक्षा व्यवस्थाको रक्षामा समर्पित रहने देशभक्ति नेपालीहरुको चाहना परिपूर्ति गर्न नवदूर्गा भवानीले प्रेरणा प्रदान गरुन् भन्ने कामना पनि उनले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय