बिहिबार , बैसाख १३, २०८१

काठमाण्डाै – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी केही वर्षयता नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गर्नुभएकाे छ । आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

 

उहाँले सामाजिक सञ्जालमा बाबुराम र रवीन्द्र मिश्र उस्तै रहेछन् भन्ने कुरा उठिरहेको उल्लेख गर्दै पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो नाम परिवर्तन भए पनि सार एउटै छ । अहिले पार्टीको नाम मात्रै फेरिएको छ, दिशा र विचार एउटै छ । समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने लक्ष्य हो ।

 

सामाजिक सञ्जालमा म र रवीन्द्र मिश्र उस्तै रहेछन् भन्ने कुरा आइरहेकाे रहेछ । रवीन्द्र मिश्र राजावादीतिर जाँदैछन्, बाबुराम पनि पछि फर्किए भनेर लेखेकाे देख्न सकिन्छ । गुड (सखर) र गोबर हेर्दा त उस्तै–उस्तै हुन्छ तर कति गहिराइमा गएर हिँडेको छ भन्ने कुरा हो, त्यसको आधारभूत कुरा त केही मिल्दैन ।

 

हामी अग्रगमनको कुरा गरिरहेका छौँ । समुच्चतामा समाज रूपान्तरणको कुरा गरिरहेका छौँ भने अर्को मान्छे फेरि पछाडितिर घुमाइ फिराइ राजतन्त्र, एकात्मक राज्यसत्ता, निरङ्कुशतातिर फर्किने अभ्यास गरिरहेको छ । त्यसैले यो एउटै भन्न मिल्दैन, यस कारण युवा विद्यार्थीहरू सामाजिक सञ्जालमा यस्ता कुराबाट मुक्त हुनुपर्छ ।’कार्यक्रममा बाेल्दै अध्यक्ष भट्टराईले संस्कृतिलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयाे ।

 

कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना गर्नु स्वाभाविक भए पनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्न सक्नुपर्ने उहाँकाे भनाइ छ । एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकूल संस्कृतिका कुरालाई परिवर्तन गर्न कुसंस्कारको रूपमा पछिसम्म स्थापित हुने उहाँले बताउनुभयाे ।

 

उहाँले भन्नुभयो, ‘चाडपर्वलाई हामीले गतिशीलतामा हेर्नुपर्छ । कृषिप्रधान कालखण्डमा बनाइएका, ज्ञान र विज्ञानको आविष्कार नभएका बेलामा एउटा भगवानको परिकल्पना गरेर आ–आफ्नो प्रकारका भगवानको आविष्कार गरिएको थियो । किनभने त्याे बेला विज्ञान गतिका नियमहरू थाहा थिएन । जस कारण ठूलो एउटा महाशक्ति हुनुपर्छ, जसले यो चलाइरहेको छ भन्ने अनुमान गरेर सिर्जना गरिएका थिए । धेरैजसाे चाडपर्वमा त्यस्तै देखिन्छ ।

 

पहिला त स्वाभाविक थिए । अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्छ । एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकूल संस्कृतिका कुरालाई परिवर्तन गर्न सकिएन भने कुसंस्कार भएर बस्छ । त्यसपछि मानिसले संस्कृतिको नाममा विभेदकारी, अवैज्ञानिक कुरा पनि पछ्याएर बसेका छन् ।

 

’ अध्यक्ष भट्टराईले आफ्नो पार्टीको लक्ष्य समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै आउँदाे चुनावमा आफ्नो पार्टीको प्रतिनिधि संसदमा पठाउने गरी तयारी गर्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

 

उहाँले नेपालजस्तो बहुजातीय, बहुभाषिक देशमा सङ्घीय संरचना जाति, भाषाअनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताउनुभयो । नेपालको शासकीय निर्वाचन प्रणाली खिचडीजस्तो भएको उहाँकाे टिप्पणी छ । अध्यक्ष भट्टराईले आउँदाे चुनावमा आफ्नो पार्टीको शक्तिहरू सङ्कलन गरी समाजवादी विकल्प निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय