शनिबार , बैसाख ८, २०८१

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको हालत अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पजस्तै हुने चेतावनी दिएका छन् ।

संविधान विपरीत मनमानी तरिकाले काम गर्ने ट्रम्पलाई जाँदाजाँदै महाअभियोग खेप्नु परे झैं ओलीलाई पनि यस्तै सामना गर्नुपर्ने उनले बताए ।

संसद विघटनको विरोधमा जसपा सप्तरीले बुधबार सदरमुकाम राजविराजमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले जाँदाजाँदै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या देवी भण्डारीलाई पनि महाअभियोगको सामना गर्नुपर्ने बताए ।

‘जाँदाजाँदै ट्रम्पमाथि जसरी महाअभियोग लाग्यो, भोली नेपालमा पनि असंवैधानिक तरिकाले संसद विघटन गर्ने दुवै जनाविरुद्व यस्तो नहोला भन्न सकिन्न,’ उनले भने, ‘लोकतन्त्रमा यो सम्भव छ ।’

आफूले जे चाहन्छु त्यही हुन्छ भन्ने मानसिकता प्रधानमन्त्रीले बोकेको भएपनि त्यो काम नलाग्ने उनको भनाइ थियो । ‘प्रधानमन्त्रीको यो ताकतमा कुनै दम छैन,’ उनले भने, ‘नेपालमै ठूला राजा महाराजाहरु आएर गएको अवस्था छ ।’

प्रधानमन्त्री ओलीले धेरै झुठ बोलिरहेको उनको आरोप छ । सुरुमा संवैधानिक तरिकाले संसद विघटन गरेको बताउने प्रधानमन्त्रीले असंवैधानिक चर्चा हुन थालेपछि राजनीतिक निर्णय गरेर विघटन गरेको बताउनुले असंवैधानिक कदम चालेको भनेर प्रधानमन्त्रीले स्वयं स्वीकारेको उनले बताए ।

संसद विघटनलाई सदर गराउन प्रधानमन्त्रीले सर्वाेच्चलाई धम्क्याउने काम गरिरहेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीको कदम सदर भए देशमा राजनीतिक अन्यौलता र संकट उत्पन्न हुने उनको भनाइ छ ।

आफूहरु सर्वाेच्चलाई सम्मान गर्ने गरेको बताउँदै अध्यक्ष यादवले सर्वाेच्चले सही निर्णय गर्ने विश्वास व्यक्त गरे ।

संवैधानिक व्यवस्था र राजनीतिलाई लुडो खेल जस्तै बनाइएको बताउँदै उनले जसरी लुडोमा सर्पको मुखमा परेपछि गोटी पुनः तल आउँछ त्यसरी नै संवैधानिक व्यवस्थाको रहेको उल्लेख गरे ।

ओली महाप्रतिगमनकारी र प्रचण्ड धोकेबाज : राजेन्द्र महतो

विरोध सभालाई सम्बोधन गर्दै जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाप्रतिगमनकारीको संज्ञा दिए ।

नेता महतोले पहिलो प्रतिगमन अधिकारविहीन संविधान बनाएरै भएको बताए । ‘संविधान बन्ने बेला नै ओलीले पहिलो प्रतिगमन गरे,’ नेता महतोले भने, ‘छातीमा गोली हानेर अधिकार खोसेर संविधान जारी गरे । गत पुस ५ गते संसद विघटन गरेर अर्काे प्रतिगमन गरे । त्यसैले उनी महाप्रतिगमनकारी हुन् ।’

नेता महतोले नेकपाका अध्यक्ष प्रचण्डलाई धोकेबाजको संज्ञा दिए । मधेश, लिम्बुबान, मगरात, थरुहटसहित विभिन्न राज्य बनाइदिने र बराबरको अधिकार दिने नाममा १७ हजार जनतालाई मारेर प्रचण्डले संविधान बनाउने बेला यी सबै कुरा बिर्सेको बताए ।

‘संविधान बनाउने बेला प्रचण्डले केपी ओलीसँग मिलेर जनताको अधिकारलाई बिर्सेकाले उनी धोकेबाज भएको उनको भनाइ छ ।

आफूहरु अधिकारका लागि आन्दोलन गरिरहँदा उनीहरु कुर्सीका लागि आन्दोलन गरिरहेको बताउँदै नेता महतोले संसद पुर्नस्थापना भएमा या चुनावै भएमा पनि मधेशले अधिकार नपाउने र अधिकारका लागि निर्णायक आन्दोलन त्यसपछि पनि हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय