मंगलबार , फागुण १५, २०८०

नेपाली कांग्रेसमा ठूलो विद्रोह सुरु भएको छ । पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाको समूहले विद्रोह थालेको हो ।

 

शेखर कोइराला समूहले गत महाधिवेशनमा पदाधिकारीहरु सहित सभापति पदमा ४० प्रतिशत भन्दा धेरै मत ल्याएको थियो । कांग्रेसको परम्परा अनुसार पार्टीभित्रको प्रतिपक्षीलाई हरेक अवसरमा ४० प्रतिशत भाग दिइँदै आएको थियो । तर, हालका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका प्रतिपक्षीलाई वास्ता नगरी माओवादी र समाजवादीलाई भाग दिन थालेपछि कांग्रेसमा विद्रोह भएको हो ।

 

विद्रोही शेखर समूहले समानुपातिकमा ४० प्रतिशत हिस्सा माग्दै विद्रोह थालेको हो । विद्रोही पक्षका नेताहरुले आज काठमाडौंमा एक भेला राखी विद्रोहको घोषणा गरेका हुन् । उनीहरुले समानुपातिक सूची सच्याएर ४० प्रतिशत हिस्सा नदिइएमा सर्वत्र विद्रोही उम्मेदवार उठाउने भएका छन् ।

 

‘माओवादीलाई दिइएको सबै ठाउँमा हामी विद्रोही उठाउँदैछौं’– शेखर समूहका एक नेताले भने । उनका अनुसार विद्रोही उम्मेदवार बन्नेहरुको सूची तयार पार्ने काम भइरहेको छ ।

 

‘समानुपातिक टिकट वितरणमा सभापति शेरबहादुरजीकी पत्नी आरजू देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हावी भएका छन्, हामी यो मान्दैनौं, कांग्रेसको टिकट माओवादी अध्यक्षले वितरण गर्ने कुरा हामी मान्न तयार छैनौं’– शेखर समूहका ती नेताले सनराइज खबरलाई बताए ।

 

शेखर समूहका नेता तथा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसी भने आफूहरुको सरोकार प्रचण्डसँग नभएको बताउनुहुन्छ । ‘हाम्रो माग सभापति शेरबहादुर देउवासँग हो’– जगदीश्वरको भनाई छ ।

 

विद्रोही समूहले शनिबार राजधानीमा विशाल भेला राखेको छ । सो भेलाबाट पार्टी सभापतिको एकलौटी र मनोमानी विरुद्ध कडा खबरदारी गरिने भएको छ । शनिबारको भेलापछि पनि सभापति देउवाले समानुपातिक सूची नसच्याएमा कडा विद्रोहमा उत्रने चेतावनी जगदीश्वर नरसिंहले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय