निर्वाचन आयोगले ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाएकोमा जरिवाना गरेको विषयलाई लिएर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् ।
उनले खर्चको विवरण दुई दिन ढिलो हुँदैमा ५ लाख ५० हजार रुपैयाँ जरिवाना लिनु लुट भएको टिप्पणी गरेका छन् । हर्कले फेसबुकमा स्टाटस लेख्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो’, उनले लेखेका छन्, ‘मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै !’
आयोगले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले गरेको खर्चको विवरण नबुझाएकोमा जरिवाना तोकेको छ । यसमा महानगरका मेयरलाई साढे ७ लाख रुपैयाँ र उपमहानगरपालिकालाई साढे ५ लाख रुपैयाँको कारबाही गरेको हो ।