जनकपुरधाम : पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले देश र संविधानमाथि खतरा बढेको बताएका छन्। उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि तथा नेपालको लोकतन्त्रमा कालो बादल छाएको बताए।
जनकपुरस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनःनिर्माणको भूमीपूजा गर्दै पूर्व राष्ट्रपति यादवले उनले प्रतिगमनको अवस्था पुनः दोहोरिनसक्ने भएकाले जनतालाई सचेत रहन आग्रह गरे। उनले भने
, ‘दुई-दुई पटक सदनबाट पास भएको नागरिकता विधेयकलाई राष्ट्रपतिज्युले प्रमाणीकरण गर्नुपर्थ्यो। राष्ट्रपति संस्थाको मर्यादा, गरिमा, कर्तव्य बुझेर काम गर्नुपर्ने थियो।
तर आज उहाँले संविधान उल्लंघनको काम गर्नुभएको छ। यसले लोकतन्त्रमा कालो बादल छाएको छ।’
दुई-दुई पटक संसद विघटनपछि अदालत, पाँच दलीय गठबन्धन, नागरिक समाज, मिडिया र हरेक नेपालीको प्रयासले संविधान ट्र्याकमा आएको बताउँदै उनले एकपटक फेरि संविधानको उल्लंघन भएकाले सबै नेपाली सजग रहन आग्रह गरे।
संघीय आयोजना कार्यान्वयन इकाई जनकपुरले धुलिखेलस्थित गणपति बाबा निर्माण सेवा प्रालिसँग १० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी पुरानो मौलिक वास्तुकलामा आधारित भई आधुनिक निर्माण सामग्री
प्रयोग गरी सरस्वती मावि विद्यालय भवन बनाउन लागेको हो। थप दुई तल्ले आरसीसीभवन, ९ वटा कक्षाकोठा, प्रत्येक तल्लामा महिला–पुरुष शौचालय, विद्यालय परिसर सुधार लगायतका कामहरु गराउन लागेको हो।
२०७९ असोज २ गते सम्झौता कार्यादेश भई भवनलगायतका अन्य निर्माण कामहरू २०८० मंसिर ३० गतेसम्म अर्थात् १५ महिनामा सम्पन्न गरिने छ। शिलान्यास कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरी, मन्त्रालयका सचिव
डा. रमेश सिंह, जनकपुरधाम उप-महानगरपालिकाका नगर प्रमुख मनोज साह, उपप्रमुख किशोरी साह, बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, वडाध्यक्ष परमेश्वर साह लगायतकाहरुको सहभागिता थियो।