मंगलबार , फागुण १५, २०८०

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् ।

 

बुधवार दिउँसो विज्ञप्ति प्रकाशन गरेर उपराष्ट्रपति पुनले संविधानको पालना र संरक्षण गर्ने जिम्मेवारी पाएको व्यक्ति संविधानको दायराभन्दा बाहिर जान नमिल्ने बताए ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनले संविधान उल्लंघन गरेको टिप्पणी भइरहेको छ ।उपराष्ट्रपति पुनले राष्ट्रपतिको कदमविरुद्ध औपचारिक रूपमा मुख खोलेका छन् ।

 

पुनले विज्ञप्तिमार्फत भनेका छन्, ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन ।’

 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको सचेततापूर्वक पालन र संरक्षण हुन नसकेको भन्दै आवाज उठ्नु दुःखद् भएको उनले बताएका छन् ।

 

पुनले भनेका छन्, ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’

 

संविधानको पालन र संरक्षणका लागि उनले सबैलाई आग्रह गरेका छन् । ‘संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु,’ पुनले भनेका छन् ।

 

संविधान दिवसको अवसरमा संविधानको पालना र संरक्षण गर्ने प्रतिबद्धता दोहोर्‍याएको तर त्यसको व्यावहारिक कार्यान्वयन नभएको आशय पुनको विज्ञप्तिमा उल्लेख छ ।

 

‘सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यहीँ असोज ३ गते हर्षोल्लासका साथ मनाएका छौं ।

 

यस सुनौलो दिनको अवसरमा हामी सबैले संविधानको पालन र संरक्षण गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएका छौं,’ उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय