बुधबार , फागुण १६, २०८०

काठमाडौं महानगरपालिकाले डोजर चलाएको टुकुचा खोल्साको भूमिगत सुरूङ आजभन्दा १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको तथ्य भेटिएको छ।

 

नारायणहिति दरबारबाट निस्किने बेला नै टुकुचालाई जमिनको सतहभन्दा १५ फिटमुनि ४ सय ४० मिटर लामो सुरूङमा हालेर जयनेपाल हलको आँगन हुँदै तीनधारा मार्गस्थित काठमाडौं प्लाजाको सीमानासम्म पुर्‍याइएको छ। त्यसैले जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म टुकुचा कहीँ कतै देखिन्न।

 

राणा प्रधानमन्त्री वीरशमशेरको छाप लागेको एक दस्तावेजअनुसार बिक्रम सम्बत् १९४९ मा टुकुचामाथि पटांगिनी अर्थात् खुला चउर बनाउन जग्गा अधिग्रहण गरिएको र टुकुचालाई सुरूङभित्र बगाएर माथि पुरिएको देखिन्छ।

 

यस आधारमा इँटाको गुम्बज शैलीमा बनेको यो सुरूङ ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा हो।

 

ऐतिहासिक दस्तावेज तथा तस्बिरहरू सेयर गर्ने फेसबुक पेजमा शुक्रबार राति मनोज मनुजले टुकुचाको सुरूङ राणाकालमै बनेको दस्तावेजसहितको विवरण सेयर गरेका थिए। त्यसपछि हामीले मेसेन्जरमार्फत् मनोज मनुजसँग सम्पर्क गर्‍यौं।

 

हाल अमेरिका बस्ने मनोज यस्ता ऐतिहासिक दस्तावेज तथा तस्बिर संकलन गर्छन्। उनले उक्त दस्तावेजको पूर्ण प्रति हामीलाई पठाइदिए। सबै विवरण पढ्दा सुरूङ खनिएको भूभागको जग्गा वीरशमशेर राणाको पालामा प्रतिरोपनी दुई सय रूपैयाँका दरले अधिग्रहण गरिएको देखिन्छ। जग्गा अधिग्रहण क्रममा त्यहाँ उब्जनी भएको बालीको हरहिसाब गरेर भुक्तानी गर्नूसमेत भनिएको छ।

 

अधिग्रहण गरिएको जग्गामा टुकुचा पुरेर पटांगिनी बनाइएको दस्तावेजमा उल्लेख छ। यो सुरूङ संरचनालाई मनोज मनुजले ‘राणाकालीन इञ्जिनियरिङ मास्टरपिस’ भनेका छन्। उनका अनुसार यसको डिजाइन र निर्माण तत्कालीन इञ्जिनियर जोगलाल स्थापितले गरेका थिए।

 

बिक्रम सम्बत् १९४२ देखि १९५८ सम्म १५ वर्ष ८ महिना शासन गरेका राणा प्रधानमन्त्री वीरशमशेरले आफ्नो शासनकालमा ठूल्ठूला दरबारका साथै विभिन्न सहरी संरचना निर्माण गराएको इतिहास छ।

 

उनले १९४३ फागुनमा रणोद्दीपशमशेरको निजी दरबार ‘नारायणहिति’ लाई जगैदेखि भत्काएर नयाँ दरबार निर्माण गराएका थिए। त्यसैको आसपासएकपछि अर्को थुप्रै दरबार निर्माण गराए जसका लागि त्रिदेवी मन्दिरदेखि नागपोखरी–कमलपोखरीसम्मको भूभाग अधिग्रहण गरिएको सम्पदाविद् तथा इञ्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक सुदर्शनराज तिवारीले बताएका छन्।

 

वीरशमशेरले निर्माण गराएका दरबारमा नारायणहितिबाट दक्षिण–पश्चिमतर्फ रहेको बहादुर भवन एक हो। यसलाई ‘चारबुर्जा दरबार’ भनिन्छ। १९४६ सालमा निर्माण भएको यो भवनमा अहिले निर्वाचन आयोग छ।

 

त्यसको चार वर्षपछि १९५० सालमा सेतो दरबार बन्यो जहाँ अहिले अमेरिकी दूतावासको मनोरञ्जन केन्द्र छ। यसबीच याक एन्ड यती होटल रहेको लालदरबार १९४७ सालमा बन्यो भने त्यसपछि जमल बहालको उत्तरपूर्वी क्षेत्रमा फोहोरा दरबार बन्यो।

 

‘अनेक दरबारहरू बनाउँदै जाने क्रममा हात्तीसार दरबार पनि बन्यो। यो दरबार टुकुचाको पूर्वतर्फ थियो,’ तिवारी भन्छन्, ‘यही दरबारको अगाडि ठूलो आँगन वा पटांगिनी निर्माण गर्न वीरशमशेरकै पालामा जमिन सम्याउनुका साथै टुकुचालाई इँटाको सुरूङभित्र छोपेर जमिनमुनि बगाउन थालेको देखिन्छ।’

 

जमिन सम्याएर बनाइएको पटांगिनीमा राणाकालमा ठूल्ठूला समारोह आयोजना हुने उनले बताए।

 

पुरूषोत्तमलाल जबराको किताब ‘श्री ३ हरूको तथ्य वृत्तान्त (भाग १)’ मा उल्लेख भएअनुसार वीरशमशेरले निर्माण गराएका यी दरबारको वास्तुकला डिजाइन जोगलाल स्थापितले नै गरेका थिए। यिनै स्थापितले टुकुचाको भूमिगत सुरूङ डिजाइन गरेको भनाइ छ।

 

हात्तीसारमा टुकुचा सुरूङभित्र हाल्ने योजना सफल भएपछि वीरशमशेरले नै काठमाडौं उपत्यकाका प्रमुख सहरहरूमा ढल व्यवस्थापनका लागि त्यस्तै सुरूङ निर्माण गराएका देखिन्छन्।

 

वीरशमशेरले बिक्रम सम्बत् १९५४ मा काठमाडौं सहरमा ‘सरसफाइ अभियान’ चलाउँदै बाटोमा ढल व्यवस्थापन गरेको र गल्ली–गल्लीमा सरसफाइ गरेको पुरूषोतमलाल जबराको किताबमा छ।

 

त्यति बेला वीरशमशेरले काठमाडौंको ढल व्यवस्थापन निम्ति बनाएका संरचना अहिलेसम्म बाँकी छन्। ती संरचना जयनेपाल हलको आँगनमा फेला परेको इँटाको गुम्बजजस्तै भएको विज्ञहरू बताउँछन्।

 

सम्पदाविद् तिवारीले जयनेपालमा भेटिएको इँटाको गुम्बज संरचनाको इञ्जिनियरिङ हेर्दा नै राणाकालीन हो भन्नेमा शंका नभएको बताए। उनका अनुसार यस्तो गुम्बज संरचना २००७ सालपछि बनेको छैन।

 

काठमाडौंको भित्री बस्तीका विभिन्न भाग, पाटनको च्यासल र भक्तपुरको हनुमानघाटमा पनि जमिनुमनि यस्तै संरचना रहेको जानकारी दिँदै तिवारीले भने, ‘ती सबै राणाकालमा ढल व्यवस्थापन गर्न बनाइएका हुन्।’

 

यही कुरा हामीलाई जलाधार विज्ञ अजय दीक्षितले पनि सुनाएका थिए। सुन्धाराबाट लगन जाने बाटोमा तहागल्लीनिर यस्तै ढाँचाको ढल निकास प्रणाली भेटिने उनी बताउँछन्।

 

‘काठमाडौं सहरको ढल प्रणालीका लागि राणाकालमै यस्तो संरचना निर्माण गरिएको थियो,’ उनले भने, ‘ती संरचनामध्ये कति जीवित छन्, कति मासिइसके। टुकुचामा फेला परेको संरचना ऐतिहासिक र पुरातात्विक दृष्टिले र राणाकालीन ढल व्यवस्थापन प्रणाली अध्ययन गर्न पनि महत्वपूर्ण छ। यसलाई मास्ने होइन, जोगाउनुपर्छ।’

 

उनले अगाडि भने, ‘जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको भूमिगत सुरूङ खनेर टुकुचा बाहिर निकाल्दा हामीले पाउने भनेको करिब पाँच सय मिटरको खोल्सा मात्र हो जुन ढलमा परिणत भइसकेको छ। त्यसलाई संरक्षण गर्ने हो भने भावी पुस्ताको निम्ति अध्ययनको विषय हुनसक्छ।’

 

प्राध्यापक तिवारी पनि करिब पाँच सय मिटरको भूमिगत टुकुचा खोतलेर कुनै लाभ नहुने बताउँछन्।

 

‘अहिले भूमिगत टुकुचा बाहिर देखिएकोमा भन्दा माथि बनेका भव्य घरहरू भत्किने भए भनेर धेरै जना खुसी देखिन्छन्। ती घर कानुनी रूपमा बनेका हुन् कि होइनन् भन्नेबारे अध्ययन हुनैपर्छ तर राणाकालमै सुरूङ खनेर भूमिगत बगाइएको टुकुचा जमिनमाथि ल्याएर केही लाभ छैन। यसले पुरातात्विक सम्पदा मासिने त छँदैछ, ढल बग्ने खोल्सा ह्वांग भएपछि दुर्गन्ध नभएको ठाउँमा पनि दुर्गन्ध फैलिन्छ,’ तिवारीले भने।

 

कुनै पनि संरचना सय वर्षभन्दा पुरानो छ भने त्यसलाई भत्काउनु वा बिगार्नु हुँदैन भनेर पुरातात्विक सम्पदा संरक्षण ऐनले भन्छ। महानगरले यसको बेवास्ता गर्दै डोजर चलाउने क्रम जारी राखेको छ।

 

महानगर टोलीले शनिबार कमलादीस्थित लक्ष्मी बैंकनिरको पर्खाल भत्काउनुका साथै बाटोमा डोजर चलाएर जमिनमुनि बगेको टुकुचा खन्यो। यहाँ पनि करिब १५ फिटमुनि इँटाको गुम्बज शैलीमा बनेको सुरूङभित्र टुकुचा बगिरहेको भेटिएको छ। वरपरका अन्य घरलाई केही दिनमै भत्काउने चेतावनी दिइएको छ।

 

कानुनअनुसार यस्तो सम्पदा पुरातत्व विभागले संरक्षणमा राख्नुपर्छ। महानगरले विभागको निगरानीबिना हात हाल्न पाउँदैन। जहाँ जहाँ सुरूङ खनिएको छ, त्यो ठाउँ पुरानै ढाँचामा जिर्णोद्धार गरिनुपर्छ।

 

विनाअध्ययन भटाभट डोजर चलाएर सय वर्षभन्दा पुरानो पुरातात्विक सम्पदा फुटाउँदै जाँदा त्यसको भारवहन क्षमता नासिन सक्छ र पछि कामै नलाग्ने हुनसक्छ। पुरातत्व विभागले भने आफूले निगरानी गर्नुपर्ने काममा अहिलेसम्म चासो देखाएको छैन।

 

यसबारे पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरलाई सोध्दा उनले यो विषय आफूहरूको जानकारीमा आइसकेको बताए।

 

‘हाम्रो जानकारीमा आएको छ तर विभागभित्र छलफल गरेर र महानगरसँग परामर्श गरेपछि मात्र थप के गर्ने भन्ने निर्णय हुनेछ,’ उनले भने।

 

भूमिगत टुकुचामाथि निर्माण भएका घर कानुनी हुन् कि होइनन् भन्ने सवाल आफैंमा पेचिलो छ। काठमाडौं महानगरले यी सबै संरचना टुकुचा पुरेर अनधिकृत रूपमा बनाइएका हुन् भन्ने ‘न्यारेटिभ’ स्थापित गर्न खोजेको देखिन्छ।

 

राणाकालमा बनाइएको दरबारको पटांगिनी कहिलेदेखि व्यक्तिका नाममा गयो भन्ने थाहा छैन। राणाहरूले नै बेचे वा पञ्चायतकालमा बेचियो? जे भए पनि यो क्षेत्रमा धेरैअघिदेखि निजी घरहरू बनेका छन्। त्यसैले पहिलेदेखि नै जग्गा किनबेच हुने गरेको सम्भावना छ।

 

त्यस्तो हो भने कैयन पुस्तादेखि किनबेच हुँदै आएको जग्गालाई आज कुनै व्यक्तिले अतिक्रमण गरेको भन्न कठिन हुन्छ।

 

सुरूमा राणाहरूले नै क्षतिपूर्ति दिएर जग्गा अधिग्रहण गरे। त्यो बेलासम्म जग्गा दर्ता गर्ने चलन थिएन। जब जग्गा दर्ता गर्ने चलन आयो, त्यो बेला टुकुचा जमिनमुनि गइसकेको थियो र मान्छेको स्मरणबाट हराइसकेको थियो। टुकुचा सुरूङभित्र हालेको ७३ वर्षपछि मात्र औपचारिक रूपले जग्गा दर्ता गरेर लालपूर्जा दिने अभ्यास सुरू भएको हो।

 

एक सय ३० वर्षअघि नै सुरूङभित्र हालिएको टुकुचाबारे जग्गा किन्ने र बेच्ने मानिसहरूलाई थाहा नहुन सक्छ। राज्यलाई त जयनेपाल हल अगाडिबाट टुकुचा कहाँ हराउँछ थाहा थिएन भने व्यक्तिहरूलाई आफूले किनेको जग्गामुनि टुकुचा छ भन्ने थाहा नहुनु स्वाभाविक छ।

 

इतिहास हेर्ने हो भने आजभन्दा ७७ वर्षअगाडि नै सन् १९४५ मा जयनेपाल हल सञ्चालनमा आइसकेको देखिन्छ। अंग्रेजी पत्रिका ‘नेपाली टाइम्स’ को एक लेखअनुसार जयनेपाल हल खुल्नुअघि यो ठाउँमा राणा प्रधानमन्त्रीहरूले गोही पाल्थे।

 

राणाहरूले गोही पाल्ने ठाउँमा सिनेमा हल खुल्नुले यहाँको जग्गा राणाकालमै किनबेच भइसकेको हुनसक्छ। उनीहरूले नै केही जग्गा अरू व्यक्तिलाई दिएका हुन सक्छन्। अथवा, त्यो सुरूङमाथिको भू-भाग पहिले सार्वजनिक जग्गा थियो र समयक्रममा राजनीतिक साँठगाँठबाट व्यक्तिहरूका नाममा लालपुर्जा बनाएर बिक्री गरियो पनि होला। तर त्यो धेरै पुरानो घटना हो।

 

यसबीच यहाँको जमिन धेरैचोटि किनबेच भइसकेको छ। सुरूमा जसले लालपुर्जा बनाएको भए पनि त्यो काम राज्यकै स्वीकृतिमा भयो। उसबाट ज–जसको स्वामित्वमा जग्गा हस्तान्तरण भयो, त्यसमा पनि राज्यकै स्वीकृतिको मोहर लागेको छ। त्यसबापत राज्यले मालपोत दस्तुर उठाएको छ, उठाइरहेकै छ। यहाँका धेरै घरहरू महानगरबाटै नक्सा पास गरेर बनेका हुन्।

 

धेरै मानिसले टुकुचाको सुरूङ राणाकालमै निर्मितसम्पदा हो र त्यसको संरक्षण नै गर्ने हो भने पनि त्यसमाथिको जग्गा व्यक्तिहरूले अतिक्रमण गर्न नपाउने र उनीहरूलाई हटाउनुपर्ने जिकिर गरेका छन्।

 

सबभन्दा पहिले टुकुचा सुरूङभित्र हालिएको करिब ४ सय ४० मिटर भागको जमिन कहिलेदेखि किनबेच सुरू भयो, त्यहाँका जग्गा व्यक्तिहरूले कानुनसम्मत ढंगले किनेका हुन् वा होइनन् यकिन गर्नुपर्छ।

 

त्यसपछि मात्र कसैले अतिक्रमण गरेको हो वा होइन भन्न सकिन्छ। महानगरले अहिलेसम्म यी सुरूङमाथिका जग्गा व्यक्तिले अतिक्रमण गरेका हुन् वा कानुनसम्मत ढंगले किनेका हुन् प्रस्टसँग भन्न सकेको छैन।

 

कुरा टुकुचा सुरूङको मात्र होइन। काठमाडौं महानगरले टुकुचा खोल्सा पुरानै स्वरूपमा पुनर्स्थापना गर्ने भनेको छ। टुकुचामा पानी बग्न चार मिटर छाड्ने र दायाँबायाँ चार–चार मिटरको करिडोर बनाउने भनेर मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले बताएका छन्। करिडोरमा पैदलमार्ग, साइकल लेन र हरियाली पार्कसमेत निर्माण गर्ने भनिएको छ।

 

‘यो काम पाँच वर्षभित्र पूरा गर्ने उद्देश्य राखेका छौं,’ भूपदेवले भनेका छन्।

 

यो योजनाका पनि जटिलता छन्। काठमाडौंको घना बस्ती बीचबाट बग्ने करिब छ किलोमिटर लामो यो खोल्सा धेरै कम ठाउँमा मात्र दुरूस्त छ। अधिकांश ठाउँमा दायाँ र बायाँ दुवैतिरको साँध मिचिएको छ। कतिपय ठाउँमा राज्यले नै खोल्सा छोपेर त्यसमाथि पैदल मार्ग वा गाडी गुड्ने सडक बनाएको छ। सडक खुलेपछि दुवै किनारका घरमा जान मानिसहरूले त्यही बाटो प्रयोग गर्ने गरेका छन्।

 

मन्त्रिपरिषदले २०६५ सालमै टुकुचा ब्युँताउने निर्णय गरेको थियो। त्यसमा खासै काम भएन। त्यसपछि सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकारप्राप्त एकीकृत बागमती सभ्यता विकास समितिले दुई वर्षअघि टुकुचाको करिडोर व्यवस्थापनका लागि पूर्वसम्भाव्यता अध्ययन गराएको थियो। बोनाफाइड इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालिले तयार पारेको उक्त पूर्वसम्भाव्यता प्रतिवेदन हेर्ने हो भने टुकुचाको अवस्था छर्लंग हुन्छ।

 

उक्त प्रतिवेदनअनुसार भाटभटेनीस्थित टुँडालदेवी मन्दिरबाट चिनियाँ दूतावाससम्मको ७ सय ८० मिटर खण्डमा घर र बाटोले दुवैतिरबाट खोल्सा च्यापेर साँघुरो पारेको छ। टुकुचा कज्याउन माथिबाट कंक्रिटको स्ल्याब हालिएको छ र त्यो स्ल्याबमा पैदलमार्ग बनाइएको छ। दायाँबायाँ पर्खाल लगाइएको छ। खोल्साको दुवैतर्फ चार मिटर खाली छाड्नुपर्ने नियम कार्यान्वयन भएको छैन।

 

यस्तै अवस्था चिनियाँ दूतावासदेखि गैरीधारा (नारायणहिति दरबार संग्रहालयको उत्तर) सम्मको एक हजार मिटर खण्डमा पनि छ।

 

तीनधारा मार्गदेखि बागबजार र त्यहाँबाट अद्वैत मार्गसम्मको ७ सय ४५ मिटर खण्डमा त झन् टुकुचाको दुवै किनारमा बाक्लो बस्ती छ। यहाँ धेरै घर खोल्साको साँधमै बनेका छन्। यीमध्ये कति घरले टुकुचाको सीमा मिचेका छन् वा कति घर नक्सा पास नगरी बनाइएका छन् भन्ने यकिन छैन।

 

महानगरले भनेजस्तो टुकुचा पुरानै स्वरूपमा फर्काएर देखिने गरी जमिनमाथि ल्याउने हो भने किनारमा बनेका धेरै घर भत्काउनुपर्ने हुनसक्छ। कतिपय पैदलमार्ग र गाडी गुड्ने सडक पनि भत्काउनुपर्छ।

 

सबभन्दा पहिला त जयनेपाल हलअगाडिको र काठमाडौं प्लाजानिरको मूल बाटो नै भत्काउनुपर्छ। महानगरले जुन भूमिगत सुरूङ खोतल्न डोजर चलाइरहेको छ, यी बाटाहरू तिनै सुरूङमाथि छन्।

 

जलाधार विज्ञहरू काठमाडौं उपत्यकाका नदी–खोलामध्ये टुकुचा सबभन्दा पहिला प्रदूषित भएको र अहिले त सहरी ढलमै परिणत भइसकेको बताउँछन्। यसमा मूलत: अहिले बर्खाको पानी र ढल मात्र बग्छ। वरिपरिको जलाधार क्षेत्र पूरै मासिएकाले पानीको अर्को स्थायी स्रोत छैन।

 

यो खोल्सामा ढल मिसाउने काम राणाकालबाटै सुरू भएको हो। राणाकालमा जब भित्री बस्तीका रैथानेहरूलाई विभिन्न कारणले बागबजार, डिल्लीबजार, नक्साल लगायत ठाउँमा बसाइँ सारियो, त्यही बेलादेखि टुकुचा आसपास बस्ती विकास हुन थाल्यो। बस्ती बढ्दै गएपछि खोल्सा प्रदूषित हुँदै गयो।

 

बागमती, विष्णुमती लगायत अन्य नदी-खोलाहरू त्यति बेलाका मुख्य बस्तीभन्दा टाढा पर्थे। बीच बस्तीबाट बग्ने टुकुचा खोल्सा नै घरको ढल र दूषित पानी फाल्न सजिलो ठाउँ थियो। त्यसैले बागमती र विष्णुमतीमा कलकल पानी बगिरहँदासम्म टुकुचा ढल मिसिएर डुङडुङती गनाउने गरी प्रदूषित भइसकेको थियो।

 

वर्षौंअघि मासिएको खोल्सा पुनर्स्थापित गर्न भूमिगत पुरातात्विक संरचना भत्काउनु र वर्षौंदेखि बसेका मानिसहरूको बस्ती उजाड्नु कति जायज हो भन्नेबारे पर्याप्त सार्वजनिक बहस र छलफल भएको छैन।

 

काठमाडौं महानगरभित्र गर्नुपर्ने सुधारका काम पनि प्रशस्तै छन् — बागमती, विष्णुमती, धोबीखोलालाई पुनर्जीवन दिने काम, काठमाडौंको फोक्सोका रूपमा काम गर्न सक्ने बृहत टुँडिखेल पार्क स्थापना, अरू स-साना पार्क स्थापना, शिक्षा, स्वास्थ्य लगायतको सुधार।

 

यी सबै कामले ठूलो साधन, स्रोत र समय माग गर्छन्। त्यसैले महानगरवासीका लागि मुख्य प्राथमिकता के हुन् र स्रोत कहाँ खर्च गर्ने? काम कहाँबाट सुरू गर्ने? यसबारे बृहत बहस आवश्यक छ।

 

र बालेन नेतृत्वको महानगरले यस टुकुचाखोला भेट्टाएपछी केहि मानिसहरुले बालेनलाई देउताकै रुपमा समेत हेर्न थालेका छन् । हुन त् यो भावनामा बहकिएर हुनसक्छ तर यो कास शाहासी काम हो भनेर सबैले बुझेका छन् । बालेनलाई देउता भनेरै सम्बोधन गरेका भिडियोहरु अहिले सामाजिक संजालहरुमा भाइरल समेत बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय