बिहिबार , फागुण १०, २०८०

धरानमा सडकपेटी अतिक्रमण गरेर बसेका फुटपाथका पसलहरू हटाउन सुरु (भिडियो हेर्न तलको ल्निक क्लिक गर्नुहोस)

 

२ असोज, धरान

 

धरान उपमहानगरपालिकाले धरानको फुटपाथका पसलहरू हटाउन थालेको छ ।

 

आज पहिलो दिन धरान-२ को नरेन्द्रपथमा रहेको फुटपाथ हटाएको छ । बिहान ६ बजे नगर प्रहरीले फुटपाथमा पसल थाप्न प्रयोग गरिएको सामाग्री हटाउनका साथै जफत गरेको छ ।

 

भानुचौक देखि पश्चिम नरेन्द्रपथमा व्यवस्थित सब्जिमण्डि भएर पनि फुटपाथमा सडक नै ढाक्ने गरी खाट राखेर, प्लास्टिक टाँगेर पसल थाप्दा सडकमा सर्वसाधारण आउजाउ गर्न नै समस्या हुने भन्दै धरान उपमहानगरपालिकामा स्थानीयवासीले गुनासो गरेपछि भर्खरै सम्पन्न कार्यपालिका बैठकमा समेत फुटपाथ हटाउने निर्णय भएको थियो ।

 

सोही निर्णय अनुसार फुटपाथको पसल हटाउने बारे सूचना जारी गरी माइकिङ गर्दा समेत अटेरी गरेको पाइएकोले आज बिहान ६ बजे नै फुटपाथको पसल राख्ने स्थानहरू हटाएको र उठाएको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए । अव यो अभियान निरन्तर जारी रहने पनि बताइएको छ ।

 

बजार अव्यवस्थित भएको जनगुनासो पछि धरान उपमहानगरपालिकाले फुटपाथ हटाउने निर्णय गरी अभियानको थालनी गरेको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए । धरान २ को नरेन्द्र पथमा मात्रै होइन धरानका अरू पनि स्थानमा सडकलाई अवरोध गर्ने गरी पसल गरिएको पाइएमा फुटपाथ हटाइने बताइएको छ ।

 

मोरङका उद्योगीको चिन्ता : ब्याजदर धान्नै नसक्ने अवस्थामा पुग्यो

 

ब्याजदरको कारण उद्योगधन्दा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै सरकार उद्योग जिम्मा लिन तयार हुनुपर्ने चेतावनी दिएका छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मोरङका उद्योगी व्यवसायीले वाणिज्य बैङ्कहरूको बढ्दो ब्याजदर धान्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

 

बैकमा पैसा जम्मा गरेर व्याज खानेहरू लभान्वीत हुने तर उद्योगीहरू समस्यामा पर्ने नीति बैङ्कहरूले लिएको उद्योगी व्यवसायीको गुनासो छ । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल ६ महिनामा बैङ्क ब्याजदर दोब्बर हुँदा उद्योगी व्यवसायी मारमा परेको बताउँछन् ।

 

कोभिड पछि लयमा फर्की नै लागेका उद्योग व्यवसाय बैङ्कको ब्याजदर र आफूखुसी ४ प्रतिशतसम्म स्प्रेड दर कायम गरेको कारण थला पर्ने अवस्थामा पुगेको उनले बताए ।

 

बैङ्कहरूले नाफा कमाइरहने तर उद्योगी व्यवसायी र उपभोक्ता सधैँ मारमै पर्ने अवस्था प्रति नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कले चासो नदिएको उनले सुनाए । हाल जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ का केही प्रावधानहरू समेत व्यवसायमैत्री नभएको उनको टिप्पणी छ ।

 

उद्योगीहरूले एकल अङ्कको ब्याजदर कायम गर्नु पर्ने र औद्योगिक प्रयोजनका कर्जाको ब्याजदर फरक गर्नुपर्ने उनीहरूको माग छ । यस्तै अवस्था कायम रहे मुलुकको आर्थिक गतिविधिहरू सञ्चालन गर्न कठिन हुने र अर्थतन्त्र झनै प्रतिकुल हुने उनीहरू बताउँछन् ।

 

धरान-१७ मा रहेको सप्तरङ्गी पार्कलाई बहुजातिय पार्क बनाउनेबारे छलफल – पार्क भित्र सांस्कृतिक पहिचान झल्किने बस्तुहरू बनाउन जातीय संस्थाहरूलाई आव्हान

 

भर्खरै सम्पन्न धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा धरान-१७ मा रहेको सप्तरङ्गी पार्कलाई बहुजातिय पार्क बनाउने प्रस्ताव गरिएकोमा सोही अनुसार धरान उपमहानगरपालिकाले छलफल अघि बढाएको छ ।

 

निकै लामो समय देखि सप्तरङ्गी पार्कको बारेमा चुनावी मुद्दा बन्दै आएको पार्क थुप्रै चुनाव सकिए पनि अझै व्यवस्थित हुन नसक्दा धरान उपमहानगरपालिकाले यसलाई धरानका विभिन्न जनजातीय सङ्घसंस्थाको सहकार्यमा बहुजातिय पार्क बनाउने प्रस्ताव अघि सारेको छ ।

 

सोही अनुसार मेयर हर्क साम्पाङले धरानका विभिन्न जनजातीय सङ्घसंस्थाका पदाधिकारीहरुसंग प्रारम्भिक छलफल सुरु गरेका छन् ।

 

धरान उपमहानगरपालिकाले एक्लै सप्तरङ्गी पार्कको संरक्षण र सम्वद्र्धन गर्दा धेरै ठुलो खर्च लाग्ने भएकोले पार्कलाई विभिन्न जात जातिको धर्म, संस्कार र पहिचान झल्किने गरी बहुजातिय पार्ककोरुपमा विकास गर्नका लागि धरानका सबै जनजातीय सङ्घ संस्थाहरूलाई धरान उपमहानगरपालिकाले छलफलका लागि आव्हान गरेको थियो ।

 

जसमा पहिलो दिन केही सीमित जातीय संस्थाका पदाधिकारीहरूको मात्रै सहभागिता भएको थियो भने अव आउने बिहीबार बृहत् छलफल हुने गरी पहिलो छलफल टुङ्गिएको छ ।

 

छलफलमा धरान उपमहानगरपालिकाको प्रस्ताव स्वागतयोग्य भएको जातीय सङ्घसंस्थाका पदाधिकारीले बताए । उनीहरूले उपमहानगरको यो प्रस्तावको बारेमा सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।

 

छलफलमा मेयर साम्पाङले पार्क भित्र विभिन्न जनजातीय सङ्घ संस्थाका प्रतिनिधिहरूले आफ्नो संस्कार संस्कृति समेटिने खालका तोकिएको क्षेत्र भित्र बनाउनुपर्ने बताएका थिए ।

 

सप्तरङ्गी पार्क भित्र प्रवेश गरेर बाहिर निस्किदा साँच्चै यहाँको जाति, भाषा, संस्कार संस्कृतिको बारेमा जानकारी दिने खालका बस्तुहरू जातीय सङ्घ संस्थाहरूले बनाउनुपर्ने मेयर साम्पाङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय