बिहिबार , चैत्र १५, २०८०

एजेन्सि:

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय छैटौं संयुक्त आयोग बैठकमा सहभागी हुन भारत पुगेका नेपालका परराष्ट्रमन्त्रीले झुकेर ढोग गरेजस्तो तस्विर सार्वजनिक भएको छ ।

भारतको हिन्दुस्तान टाइम्स पत्रिकाले भारतीय रक्षामन्त्री राजनाथ सिंह र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भएको भेटवार्ताको तस्वीर सार्वजनिक गरेको छ ।

पत्रिकाले छापेको तस्वीरमा परराष्ट्रमन्त्री ज्ञवालीले दुई हात जोडेर शिर निहुराएर रक्षामन्त्री सिंहलाई ढोगेको देखिएको छ । भारत भ्रमणमा रहेका मन्त्री ज्ञवालीको सो तस्वीरलाई पत्रिकाले महत्व दिएर छापेको छ ।

कथित राष्ट्रवादको नाममा झण्डै दुईतिहाइ बहुमत पाएर सरकार बनाएको नेकपाको कामचलाउ सरकारका मन्त्रीले भारतीय रक्षामन्त्री सिंहलाई जसरी ढोगेका छन् त्यो शैलीको ढोगाइ कुटनैतिक किसिमको भएन भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका भिम रावलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणले नेपालको स्वाभिमानलाई झुकाउने र नेपालको कुटनीतिलाई कमजोर बनाउनेबाहेक अन्य केही पनि उपलब्धि नभएको टिप्पणी गरेका छन् ।

भारतसँगको सिमा विवाद समाधानको लागि नेपालका राजनीतिक दलहरु एकमत रहेको र सरकारलाई पूरा साथ दिएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर कदम नचालेको पनि उनको टिप्पणी छ ।

भारत भ्रमणको क्रममा मन्त्री ज्ञवालीले सिमा विवादको बारेमा एक शब्द पनि उच्चारण नगरेको रावलको दाबी छ ।

खासगरी लिम्पियाधुरालगायत सीमा विवादका विषयमा निर्णायक सहमति हुन्छ भन्ने गरी गरिएको राजनीतिक प्रचारबाजी दिल्लीबाट ज्ञवाली फर्केसँगै निरर्थक साबित भएको छ।

‘अब सीमा समस्यालाई छिटो समाधान गर्न दुवै मुलुक प्रतिबद्ध भएको’ भन्ने प्रतिक्रिया यस्ता भ्रमणपश्चात् सदैव सुनिने औपचारिक वाक्यजस्तो बन्न पुगेको छ, जो यसपालि पनि दोहोरिन पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय