काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोगले सानामात्रै नभएर ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान गरिरहेको बताउनुभएको छ । आयोगको कार्यालय हेटौँडाले आज शुक्रवार आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवम् सुशासन प्रवर्द्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त सिलवालले ठूला भ्रष्टाचारका मुद्दाको पनि अनुसन्धान गरिरहेको उल्लेख गर्नुभयो ।

 

सहभागीले ठूलालाई छाडेर साना मुद्दामा आयोग केन्द्रित भएको गुनासो गरेपछि त्यसको जवाफ दिँदै उहाँले ललिता निवासको जस्तै धेरै मुद्दाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो । सरकारी सम्पत्ति दुरुपयोगका विषयमा महत्त्वपूर्ण अनुसन्धान भइरहेको उहाँको भनाइ थियो ।

 

मधेस प्रदेशको साइकल खरिद प्रकरणलगायत महत्त्वपूर्ण अनुसन्धान आयोगले गरिरहेको सिलवालले बताउनुभयो । भ्रष्टाचार निवारण ऐन २०५९ मा बनेको भन्दै उहाँले संशोधन हुन नसक्दा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचार निवारण ऐन २० वर्षसम्म जस्ताको तस्तै त्यहीँ ठाउँमा रहेको छ ।’ सिलवालले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम नगर्न पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सुझाव दिनुभयो ।

 

पालिकाका प्रमुख, उपप्रमुख एवम् भ्रष्टाचार निवारणका क्षेत्रमा काम गरेका सङ्घ संस्थाका प्रतिनिधि एवम् सहभागीले राखेका जिज्ञासाको उहाँले जवाफ दिनुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले ऐन कानुन सबैलाई समान भएको भन्दै भ्रष्टाचार नियन्त्रणमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले समाजका सबै तह र तप्काको सहयोगविना भ्रष्टाचार निबारण गर्न नसकिने बताउनुभयो ।

 

त्यस अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँँडाका प्रमुख नरहरि घिमिरेले भ्रष्टाचारका कारण, असर, लागत, आयोगसम्बन्धी संवैधानिक व्यवस्था, काम कर्तव्य, अधिकारलगायत विषयमा कार्यपत्र पेस गर्नुभएको थियो । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले गलत नीतिका कारण भएका नोक्सानको सुनुवाइ गर्ने निकाय नहुँदा नीजि क्षेत्र प्रभावित बनेको बताउनुभयो ।

 

कार्यक्रममा जिल्लाका पालिकाका प्रमुख र उपप्रमुखले काम गर्दा भए गरेको अफ्ठ्याराका विषयमा प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय