बिहिबार , साउन १०, २०८१

नेकपा एकीकृत समाजवादी (एस) पार्टीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं आइतवार एमालेमै फर्किए । रूपन्देहीका पूर्व इन्चार्ज तथा प्रदेशसभा सदस्यमा पार्टीबाट समानुपातिकमा उम्मेदवार सिफारिस भएका डा. चापागाईले एस पार्टी कांग्रेस र माओवादीको पुच्छर बनेकोले पुरानै घरमा फर्किएको बताएका छन् ।एमाले उपाध्यक्ष विष्णु पौडेलसँगको छलफलबाट एमालेमा फर्किन तयार भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरे । चापागाईं फर्किएसँगै अन्य जिल्लाका नेताहरू पनि एमालेमा फर्किने तयारीमा रहेका बताइएको छ ।

 

रूपन्देही–२ मा प्रत्यक्ष टिकट दाबी गरेको नेकपा एसले पार्टीका प्रभावशाली नेता गुमाएपछि अस्तित्व संकटमा परेको समीक्षा पार्टीभित्र हुन थालेको छ । नेता राजु गुरुङले बुटवलबाट चुनावमा उठ्ने भन्दै सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् ।

 

गत हप्ता नेकपा एस गुल्मीको नेतृत्व नै एमालेमा समाहित भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा पार्टी एकता घोषणा नै गरी २ जना केन्द्रीय सदस्य गणेश खनाल र नरेश भण्डारीसहित जिल्ला नेतृत्वले एमालेसँग एकता घोषणा गर्‍यो । पार्टीमा खनाल जिल्ला इन्चार्ज र भण्डारी अध्यक्ष थिए ।

 

नेकपा एसकी सचिव रामकुमारी झाँक्री गुल्मी–२ बाट चुनाव लड्ने तयारीमा रहेर प्रचार कार्यक्रममै जुटेका बेला पार्टी नेतृत्व नै एमालेमा फर्किएपछि उनी अप्ठ्यारोमा परेकी छन् । पार्टी नै एमालेमा फर्किएपछि नेपाली कांग्रेस र माओवादीभित्र गुल्मी–२ नेकपा एसलाई दिन नहुने दबाब बढ्न थालेको छ ।

 

एमालेबाट विभाजन भएर बनेको नेकपा एसलाई जिल्ला नेतृत्व नै जोगाउन मुस्किल पर्न थालेको छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) नेकपा एसका जिल्ला उपाध्यक्ष कृपाललाल यादव, अनेम संघ जिल्ला अध्यक्ष सरिता पौडेल, प्रदेश सदस्य खगेश्वर पन्थीसहित एउटा टीम एमालेमै फर्किएको छ ।पाल्पा, अर्घाखाँची, बाँकेमा पनि पार्टी छाड्ने क्रम जारी छ । पार्टीमा लुम्बिनी प्रदेशका प्रभावशाली नेताहरू महासचिव बेदुराम भुसाल, सचिव रामकुमारी झाँक्री, पोलिटब्युरो सदस्य सोमप्रसाद पाण्डे, अर्का नेता मेटमणि चौधरी, हिराचन्द्र केसी यसै प्रदेशका नेता हुन् ।

 

पार्टी गठन भएको १ वर्षमै एस पार्टीलाई कार्यकर्ता जोगाउन संकट आइलागेको छ । विभाजनमा ठूलो शक्ति पनि नआएको, सबै तहमा पार्टी कमिटी बनि नसकेको र जनाधार तयार भई नसकेको अवस्थामा एकीकृत समाजवादीका लागि आउँदो निर्वाचन कठिन परीक्षा हुने देखिएको छ ।

 

नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले स्वार्थका लागि आएकाहरूले पार्टी छाड्ने गरेको प्रतिक्रिया दिए । ‘कम्युनिस्ट आन्दोलन जोगाऊँ भन्ने साथीहरू अझै सशक्त भएर लाग्नुभएको छ,’ पाण्डेले लोकान्तरसँग भने, ‘पार्टीमा कुनै विचलन छैन । केही स्वार्थी र अस्थिर समूहले छाड्दैमा अप्ठ्यारो परिहाल्ने होइन ।’ स्थानीय निर्वाचनमा पनि पार्टीले सन्तोषजनक नतिजा ल्याउन सकेको थिएन ।

 

आउँदो निर्वाचन पार्टी जीवनका लागि एउटा मत्त्त्वपूर्ण परिघटना हुने एकीकृत समाजवादी रुपन्देहीका नेता अविराम विक बताउँछन् । ‘पार्टीको अवस्था कमजोर भएको छैन,’ नेता विकले भने, ‘पार्टी छाड्ने स्वार्थी समूह हुन् । व्यक्ति आउने जाने क्रम जारी रहन्छ, पार्टीमा काम गर्न नसक्नेहरू छाडेर गएका हुन् ।’

 

आगामी मंसिरमा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एसले रुपन्देही प्रदेशका बाँके, रुपन्देही, दाङ, पाल्पा र गुल्मीमा गरी ५ वटा क्षेत्र दाबी गरेको छ । एमाले नेताहरूले नेकपा एकीकृत समाजवादी अन्नतः एमालेमै समाहित हुने दाबी गर्दै आएका छन् । एमाले यहीँ अभियानमा जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय