बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पु-याउने डरलाग्दो षडयन्त्र भइरहेको बताएका छन् ।

आइतबार प्रचण्ड–माधव पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पु-याउने डरलाग्दो षडयन्त्र भएको बताए ।

यसका लागि शाकाहारी आन्दोलनले नपुग्ने प्रचण्डको भनाइ छ । यस्तो षडयन्त्रको विरुद्ध आक्रमक आन्दोलन गर्नुपर्ने उनको भनाई छ । प्रचण्डले विद्यार्थीहरुलाई आफूहरुको आन्दोलन आवेगमय हुनुपर्ने बताए।

‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन अब आवेग, आक्रोश र आक्रामण हुनुपर्‍यो । बाघ र सिंह गर्जेको जस्तो हुनुपर्‍यो । प्रतिक्रान्तिकारीहरुको मुटु थर्किनुपर्‍यो, हल्लिनुपर्‍यो, ’ उनले भने,‘ रातदिन केही नभनेर हामी केही समय केपीको प्रतिगमनकारी कदमविरुद्ध सशक्त भएर खडा हुनुपर्छ । नत्र उनले टेर्नेवाला छैनन् ।’

उनले माघ ९ गते जनप्रदर्शनमा आफू अग्रभागमा उभिने पनि बताए । उनले भने, ‘९ गते हामी सशक्त रुपमा जाने सोचेका छौं। आन्दोलनको अग्रपंक्तिमा हामी हुन्छौं। हिजो गिरिजाबाबु, माधव नेपाल र झलनाथहरुले लाठी खाएजस्तै मेरो टाउको चिलाइरहेको छ। मलाई लाठी खान मन छ यसपटक।’

यस्तै जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेको इतिहास स्मरण गराउँदै बरु मर्न तयार रहेको तर झुक्न नसकिने प्रचण्डको भनाइ छ । ‘इतिहासको निर्माता जनता हो, अरु कोही होइनन् । जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेका छन् । जनताले सडक संघर्षबाट ठूल्ठूला तानाशाहहरुलाई गलहत्याएको छ । राजा महाराजाहरुको श्रीपेजहरु निकालेर फुटबल खेलेको इतिहास छ । त्यसैले आक्रमक र जुझारु ढंगले जाने गरी कार्यक्रम बनाउनुस् । हामी नेतृत्व गर्न लास्टसम्मै तयार छौं । देशलाई प्रतिक्रान्तिको भड्खालो, अँध्यारोमा हालेको हेर्न सकिँदैन, सकिन्न । हिजो पनि मर्न हिँडेका हौं जरुरी पर्छ भने मर्न तयार तर झुक्न तयार छैनौं,’ प्रचण्डले भने ।

सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ भएको भन्ने आफुहरुले आशंका नगरेको भएपनि प्रधानमन्त्री ओलीको सेटिङमा भने शंका भएको उनले बताए ।

‘एउटा शब्द खुब सुनिन्छ आजभोलि सेटिङ। यो डरलाग्दो शब्द छ अहिले। केपीका मान्छेले भन्दै हिँडेका छन् । म अदालतमाथि शंका गर्न चाहन्न तर ओलीको सेटिङलाई शंका गर्न पाइयो नि। हामी निर्वाचन आयोगलाई शंका गर्न चाहँदैनौं। तर ओली र ओलीको निकटका मान्छेले सेटिङ भइसक्यो भन्दै हिँडेकोलाई त शंका गर्न पाइयो नि,’ उनले भने ।

फरक प्रसंगमा ओली समूहमा लागे र मन्त्री भएका तत्कालीन माओवादीका नेताहरुप्रति लक्षित गर्दै आफूबाहेक एक जना पनि नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको तर, मन्त्री हुन दौडिएको उनले बताए ।

‘नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन् । यति धेरै खरानी घसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु,’ प्रचण्डले भने । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र, संविधान र जनादेशको विरुद्दमा उभिएको बताए ।ओलीले पहिलेदेखि नै गुटबन्दी गर्दै आएको बताउँदै सरकारमा गएपछि दक्षिणपन्थी अवसरवाद लागु गरी प्रतिक्रान्ति गरेको खनालले बताए ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता भिम रावलले विगतमा भएका विभाजनका श्रृङ्खलाहरुलाई समाप्त गर्नेगरी पार्टी एकिकरण भएको भएपनि एकिकरणले ओलीलाई प्रधानमन्त्री बनाउनुबाहेक केही हुन नसकेको टिप्पणी गरे । ओलीले देशलाई स्थायित्व दिन आफैले गरेको हस्ताक्षरलाई आफैले निर्लज्ज रुपमा च्यातेर फ्याकेको बताए ।

सुरेन्द्रप्रसाद पाण्डेले प्रतिगमनविरुद्धको हरेक मोर्चामा युवा विद्यार्थी अग्रपङ्तिमा रहेको इतिहास स्मरण गर्दै यसपालि पनि फेरि विद्यार्थी जाग्ने बेला आएको बताए । अर्का नेता हितमान शाक्यले प्रतिनिधिसभा विघटन संविधानविरुद्ध सशक्त प्रतिकार गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय