प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलिबाट संसद्मा उपस्थित नहुने बताउनुभएको छ ।
नेकपा एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले भोलिदेखि कुनै पनि हिसाबले संसद् राख्न खोज्नु तमासा मात्र भएको बताउँदै भोलि बाट प्रचलन अनुसार नै संसद्मा उपस्थित नहुने बताउनुभएको हो ।
अध्यक्ष ओलीले सांसदहरूलाई चाडपर्वको शुभकामना दिँदै भन्नुभयो – ‘सबै माननीयहरूलाई हार्दिक बधाई, दसैँ लगायत सबै चाडपर्वको शुभकामना, हामीले सानदार रूपमा आफ्नो कार्यकाल पुरा गरेका छौ।’
बैठकमा अध्यक्ष ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई बिदाइ गर्दै मङ्सिर ४ को निर्वाचनमा चमत्कारिक परिणाम आउने गरी खटिन निर्देशन समेत दिनुभएको छ। ‘मङ्सिर ४ मा आम निर्वाचन हुँदै छ ।
यो निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हासिल गर्नुपर्छ । त्यसका लागि तपाईँ हामी सबैले आआफ्नो ठाउँबाट सम्पूर्ण शक्ति लगाउनुपर्छ’, अध्यक्ष ओलीले भन्नुभयो । उहाँले जो, जसले, जहाँ जे जिम्मेवारी पाइन्छ, त्यो जिम्मेवारी पुरा गर्न देश र जनतालाई शिरमा राखेर अघि बढ्नुपर्ने बताउनुभयो।
‘हामी आन्दोलन छोडुवा र पार्टी फोडुवा होइनौं ।’ ओलीको भनाइ उद्धृत गर्दै नेता खिमीलाल भट्टराईले बताउनुभयो ।