काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। महानगरले उक्त सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफै खोजिमा जुटेको थियो।

 

महानगरले टुकुचा खोलाको नक्सा संकलन गर्दै मार्किङ सुरु गर्दा काठमाडौको जमलमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि बिहीबार डोजेर लिएर पुगेको थियो।

 

काठमाडौ महानगरपालिका मेयर बालेन शाहले पछिल्लो समय अवैध संरचनाहरु हटाउने अभियानअन्तर्गत नै टुकुचा खोलाको खोजी सुरु भएको थियो।

 

३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको थियो ।

 

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला परपरका क्षेत्रमा नै हराएपछि महानगरले आन्तरिक मार्किङ गर्दै डोजरले खनेको थियो। जय नेपाल हलको कम्पाउण्डमा १५ फिट खन्ने बित्तिकै टुकुचाको खोला भेटिएको छ।

 

उक्त क्षेत्रमा खोला नै पुरेर अतिक्रमण गरेको पुष्टि भएसँगै महानगरले डोजर चलाउन सुरु गरेको छ।

 

लामो समयदेखि स्थानीयबासीहरुले टुकुचा मिचेर संरचना बनाएकाले खोजी गरिदिन महानगरलाई आग्रह गरेको थियो। अब महानगरले यसको सम्पूर्ण क्षेत्र खोज्दै अवैधानिक रुपमा निर्माण भएका सबै संरचना भत्काउने तयारी थालेको छ।

 

यो पनि हेर्नुहोस, फुटपाथ खाली गर्ने बालेनको अभियानविरुद्ध एमाले निकट श्रमिक सडकमा

 

नेकपा एमाले निकटको मजदुर संगठन फुटपाथ खाली गर्ने काठमाडौं महानगरपालिकाको अभियानको विरोधमा उत्रिएको छ ।

 

एमालेको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को घटक संगठन नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिहीबार काठमाडौं महानगरपालिका कार्यालय बाहिर प्रदर्शन गरेको छ । व्यापार गर्न खाली ठाउँ तोकिदिनुपर्ने र त्यो नभएसम्म विहान बेलुकाको फुटपाथमै व्यापार गर्न दिनुपर्ने माग गर्दै संघले ज्ञापनपत्र बुझाएको छ ।

 

नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले स्वरोजगार श्रमिक संघ जिफन्टको घटक संगठन रहेको र उनीहरुको आन्दोलनमा समर्थन रहेको बताए ।

 

उनले मेयर बालेन साहको फुटपाथ व्यापार हटाउने अभियानलाई सही भन्न नसकिने बताए । ‘हेर्दा मेयरकोअभियान विरुद्ध देखिन्छ, उहाँको काम टोटल्ली रङ छ पनि भन्दैनौं, सही पनि होइन’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

 

उनले अघि भने ‘बेलुका ५ देखि ७ बजे खली ठाउँमा बस्दा मेयरलाई टाउको किन दुख्छ ?’ अध्यक्ष श्रेष्ठले दशैं, तिहारका बेला स्वरोजगार श्रमिक भोकै पर्ने अवस्था आएको बताए । उनले महानगरपालिकाले खाली ठाउँमा व्यवस्थित बजार बनाए स्वरोजगार श्रमिकले कर तिरेर व्यवसाय गर्ने बताए ।

 

महानगरपालिकाका मेयर बालेन साहलाई ज्ञापनपत्र बुझाउन गएका संघका पदाधिकारीले बालेनलाई भेट्न नपाएपछि प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाए ।

 

ज्ञापनपत्र बुझाउन गएकी नेपाल स्वरोजगार व्यापार श्रमिक संघ वागमती प्रदेश कमिटी अध्यक्ष माया गुरुङले मेयर बालेन साहले सडकमा रोइरहेको श्रमिकको आवाज नसुनेको बताइन् ।

 

‘यत्रो सडकमा रोइरहेका कराइरहेका जनताको आवाज सुन्नुभएन कसको आवाज सुन्नुहुन्छ ? अहिलेको अवस्थामा सडक पेटीमा फुटपाथमा व्यवसाय गर्ने स्वरोजगार श्रमिकलाई वैकल्पिक स्थान दिन नसके पनि निश्चित टाइम टोकेर गरिखाने वातावरण दिनुपर्‍यो’ उनले भनिन् ।

 

उनले अगाडि भनिन्, ‘हामीलाई थाहा छ सडक पेटीमा बस्नु हुँदैन, त्यहाँ व्यवसाय गर्ने ठाउँ होइन, हाम्रो भनाइ के हो भने २४ घण्टामा २ घण्टा त गरिखाने वातावरण दिनुस् ।’

 

स्वरोजगार श्रमिकको समस्या दीर्घकालीन रुपमा समाधान गर्न खाली ठाउँमा सस्तो बजार बनाउनुपर्ने वा सन्ध्याकालीन व्यापारको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।

 

त्यस्तै काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीबाट जफत गरेको सामान फिर्ता नदिई लिलाम गर्ने गरेको छ । संघले ती सामान सम्बन्धि व्यापारीर्ला फिर्ता गर्नुपर्ने, फुटपाथ व्यापारीको समस्या समाधानका लागि आफूहरुको समेत सहभागितामा नीति बनाउनुपर्ने माग पनि गरेको छ ।

 

‘राज्यले रोजगारी दिन सक्दैन, हजारौं नागरिकले काम देउ भनेका छैनन्’ उनले भनिन्, ‘ उनीहरुलाई सम्बन्धित निकायले व्यवस्थापन गर्नुपर्छ ।’

 

संघले महानगरका सबै वडामा नागरिक बजार वा सन्ध्याकालीन बजारको व्यवस्था गर्नुपर्ने, दर्शै तिहार र छठसम्म विहान बेलुका सडकमै व्यापार गर्न दिनुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय