मंगलबार , फागुण १५, २०८०

नेता सेवक र जनता मालिक बन्नुपर्छ, व्यापारी र डनले पैसाको आडमा चुनाव लड्छन्, पैसा नहुने गरिबका छोराछोरीले पनि चुनाव लड्न सक्नुपर्छ

 

काठमाडौ। राप्रपा नेतृ तथा नायिका रेखा थापाले जग्गा प्लटिङ गर्नु र खेतबारी बाँझो राख्नु विकास हो? भन्दै प्रश्न गरेकी छिन्।

 

बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै नेतृ थापाले ठूला राजनीतिक पार्टीका नेताहरूले जग्गा प्लटिङ र खेतबारी बाँझो राख्नुलाई विकास ठानिरहेको भन्दै अब त्यसो हुन नदिने बताइन्।

 

राप्रपा प्रदेश नम्बर ‘ख’को कार्यसमिति बैठकमा बोल्दै प्रमुख अतिथि थापाले भनिन्, ‘ठूला राजनीतिक दलका नेताले आफ्नो व्यवसाय फस्टाउने काम मात्र काम गरे। गाउँ-गाउँका जनता अहिले पनि सामान्य उपचार गर्न सहर जानुपर्ने बाध्यता बनाएका छन्। म यी सबै हिसाब-किताब गर्न आएकी छु।’

 

जनतालाई झुक्याउने र पेन्डुलम बनाउने नेतालाई अब पाखा लगाउनुपर्ने उनले बताइन्। ‘नेता सेवक र जनता मालिक बन्नुपर्छ,’ थापाले भनिन्, ‘म काम गर्न सक्छु, म नेपाली दिदीबहिनीहरूलाई चुलोबाट बाहिर निकाल्ने काम गर्छु।’

 

वर्षौंपछि अहिले युवाहरू जागेको भन्दै थापाले यो निर्वाचनबाट निराश बनाउन नहुने बताइन्। ‘युवालाई मैदानमा खेलाडी बनाउनुपर्छ,’ उनले भनिन्, ‘युवा अगाडि बढेनन् भने देश फेरि पछि पर्छ।’

 

थापाले महिला दिदीबहिनीहरूको सुरक्षाका लागि आफू ‘काली’ बनेर आएने बताइन्। ‘महिला दिदीबहिनीहरूलाई राति हिँड्दा कसैले छोयो भने म काली बनेर सुरक्षा गर्न आउँछु,’ थापाले भनिन्।

 

उनले अहिलेको निर्वाचन प्रणाली अत्यधिक खर्चिलो भएको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताइन्। ‘व्यापारी र डनले पैसाको आडमा चुनाव लड्छन्, पैसा नहुने गरिबका छोराछोरीले पनि चुनाव लड्न सक्नुपर्छ,’ थापाले भनिन्।

 

थापाले मुलुकका राज्यका हरेक निकायमा ५१ प्रतिशत महिला सहभागिता हुनुपर्ने भन्दै पार्टीमा यसलाई कठोरसाथ कार्यान्वयन गर्नुपर्ने बताइन्। उनले यदि त्यसो नभएमा र महिलाहरूलाई चुनावी प्रतिस्पर्धा सिफारिस वा मनोनितमा नपारिए आफूले विद्रोह गर्ने बताइन्।

 

नेतृ थापा प्रतिनिधिसभा निर्वाचन २०७९ मा राप्रपाबाट मोरङ क्षेत्र नम्बर ३ मा सिफारिसमा परेकी छिन्। उनलाई मोरङ क्षेत्र नम्बर ६ मा पनि राप्रपाले सिफारिस गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय