काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धुमपान निषेध गरेको छ।

 

महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ।

 

सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ।

 

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ।

 

ललितपुर महानगरपालिकाले यसअघिनै सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थको सेवनमा प्रतिवन्ध लगाइसकेको छ।

 

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।

 

यो पनि हेर्नुहोस, रवीन्द्र मिश्रलाई राप्रपामाराप्रपामा राजेन्द्र लिङ्देनपछिको वरीयता

 

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता पाउने भएका छन् ।

 

विवेकशील साझा पार्टीको बृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच जारी एकता बैठकहरुले मिश्रलाई लिङ्देनपछिको वरीयता दिंदै एकता टुंग्याउने सहमति नजिक पुगेका हुन् ।

 

मिश्रको पद भने उपाध्यक्ष नै हुनेछ । उनले यसअघि गर्दै आएको सहअध्यक्ष पदको दावीबाट पछि हट्ने संकेत दिएका छन् । हालसम्मको समझदारी कार्यान्वयन भए उनी हाल रहेका ६ उपाध्यक्षभन्दा माथिल्लो वरीयतामा देखिनेछन् ।

 

स्रोतका अनुसार असोज पहिलो साता प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी घोषणा गर्नुअघि यो प्रक्रियाले औपचारिकता पाउनेछ । एकता प्रक्रियामा मिश्रसँग को–को सहभागी हुने भन्ने स्पष्ट भइसकेको छैन । कतिपयले मिश्र राप्रपामा प्रवेश गर्न लागेको भनी चर्चा गरे पनि उनी निकटस्थले यो दुई पक्षबीचको एकता प्रयास नै भएको दाबी गरेका छन् ।

 

मिश्रले अहिले यसबारेमा खुलेर टिप्पणी गर्न अस्वीकार गरे । आफू प्रतिनिधिसभा चुनावमा काठमाडौंबाट उठ्ने टुंगो भएको, बाँकी सबै विषय छलफलमा रहेको उनले बताए । ‘प्रष्ट के हो भने म चुनावमा उठ्छु, असोज पहिलो सातासम्ममा म उम्मेदवारी घोषणा गर्छु’, उनले भने ।

 

मिश्र पक्षका नेताहरुले राप्रपासँगको बैठक सकारात्मक मोडतर्फ अघि बढे पनि केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी, केन्द्रीय समिति सबैको टुंगो नलागुन्जेल यो प्रक्रिया पूरा नहुने भन्दै अडान लिएका छन् ।

 

राप्रपाका नेताहरु मिश्रसँग सहकार्य गर्न इच्छुक हुँदै गर्दा बुद्धिमान तामाङ लगायत नेताहरुले वरीयताको विषयमा प्रश्न उठाइरहेका छन् ।

 

वैकल्पिक राजनीतिको मुद्दा उठाउँदै सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका मिश्र पछिल्ला दिनहरुमा मार्ग परिवर्तन भन्दै संवैधानिक राजसंस्था, हिन्दुबौद्ध राष्ट्र, संघीयता खारेजीलगायत मुद्दा उठाउन थालेका छन् ।

 

परराष्ट्र सचिव पौड्याल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

 

तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

 

सचिव पौड्याल द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकका लागि मंगलबार दिल्ली पुगेका थिए ।

 

भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सचिव पौड्यालले बुधबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।

 

दुतावासका अनुसार भेटका क्रममा पौड्याल र विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय सम्बन्ध र सहकार्यको विषयमा कुरा भएको छ ।

 

यसअघि मंगलबार पौडेल र क्वात्राबीच सचिवस्तरीय बैठक सम्पन्न भैसकेको छ। बैठकमा दुई देशबीच बाँकी रहेका सीमाका कामलाई द्विपक्षीय संयन्त्रमार्फत टुंग्याउने विषयमा छलफल भएको छ ।

 

त्यस्तै अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र भारतको मोतीहारीदेखि चितवनसम्म एलपी ग्यासको पाइपलाइन तीव्र रुपमा विस्तार गर्ने सहमति भएको छ ।

 

बैठकमा सीमा, कनेक्टिभिटी, पूर्वाधार विकास, व्यापार, संस्कृति, विद्युत सहकार्य र नागरिकस्तरको सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय