३० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् ।

 

माओवादी केन्द्रका चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाए । ‘

 

मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो बामपन्थी आन्दोनल बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । मैले अंगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन’ ओलीले भनेका छन्, ‘प्रचण्ड हात लुकाइलुकाई हिँड्थे, म अलिकलि सचेत थिएँ । नभन्दै मैले अंगालो मारेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे ।’ओलीले अगाडि भने, ‘म एकता, एकीकरण भन्ने, प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने ।

 

’आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको ओलीको आरोप छ ।२०७४ मा वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता भएको थियो । तर तत्कालीन प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा भंग गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो ।

 

ओलीले आफ्नो समूहको बैठक राखेर केन्द्रीय कमिटी विस्तार गरे भने प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीलाई पार्टीबाट निष्कासन गरेका थिए ।

 

यद्यपि दुबैको कारबाहीलाई निर्वाचन आयोगले वैधता दिएन । बरु २३ फागुन २०७७ मा सर्वोच्च अदालतले नामसम्बन्धी विवादमा फैसला गर्दा नेकपाको एकता नै खारेज गरिदियो । यससँगै एमाले र माओवादी केन्द्र व्यूँतियो ।एमाले अध्यक्ष ओलीले भने माओवादी केन्द्र, एमालेमा समाहित भएको दाबी गर्दै आएका छन् ।

 

रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतका नेताहरु अहिले पनि एमालेमा रहेको भन्दै उनले प्रचण्डले आफ्नो समूह मात्र लगेको र त्यसलाई नै माओवादी केन्द्र भन्ने गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय