महराले भने: चुनाव लड्छु, दाङ-२ बाटै लड्छु (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

 

२६ भाद्र, काठमाडौं

 

आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीका बिषयमा मौन रहँदै आएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफू दाङ –२ बाटै निर्वाचन लड्ने उद्घोष गरेका छन्। उनले आफू प्रतिनिधिसभा निर्वाचनमा लड्ने र आफ्नै चुनावी क्षेत्रबाट लड्ने समेत बताए।

 

महरा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दाङ २ बाटै निर्वाचित भएका थिए। ‘म चुनाव लड्छु, त्यो पनि आफ्नै क्षेत्रबाट लड्छु,’ उपाध्यक्ष महराले भने ‘हुन त, अन्य क्षेत्रबाट पनि साथीहरुले मेरो उम्मेदवारीको अपेक्षा गर्नुभएको छ, तर म आफ्नो क्षेत्र छोडेर अन्त जान्नँ। ’

 

उनले आफ्नो क्षेत्रका मतदाताहरुले उम्मेदवार बनोस् भन्ने चाहिरहेको भन्दै आम मतदाताको चाहनालाई आफूले नकार्न नसक्ने समेत बताए।

 

‘मलाई मतदाता साथीहरुले चाँडै उम्मेदवारी घोषणा गर्नुस् भनेर भनिरहनु भएको छ,’ उनले भने ‘मतदाताहरुले यसै निर्वाचन क्षेत्रबाट उठ्नका लागि गरेको चिन्तनको कदर गर्दै म आफ्नै क्षेत्रबाट चुनाव लड्छु। ’

 

माओवादी केन्द्रले आईतबारै महराको नाम यसै क्षेत्रबाट उम्मेदवार सिफारीस गरिसकेको छ। महराले आफू यसै निर्वाचन क्षेत्रबाट चुनाव लड्नका लागि आफ्नो नाम पहिलो नम्बरमै सिफारीस गर्न समेत माओवादी क्षेत्र नम्बर २ समन्वय समितिलाई भनेका थिए।

 

‘म यसै क्षेत्रबाट चुनाव लड्ने हुँ, सिफारीसका लागि बोलाईएको बैठकमा मेरो नाम एक नम्बरमा सिफारीस गर्नु भनेर भन्ने छु,’ नाम सिफारीस हुनु अघि नागरिकसंग उनले भनेका थिए ‘मेरो नाम पहिलो नम्बरमा सिफारीस हुन्छ।’

 

दाङ २ माओवादी केन्द्रले पाउने निर्णय गठबन्धनका बिचमा भैसकेको भन्दै उनले थपे, ‘मेरो क्षेत्र दाङ २ मा माओवादी केन्द्रले नै टिकट पाउने निर्णय भैसकेको छ, यहाँको उम्मेदवार म नै हो। ’

 

यस अघिसम्म महराले आफू चुनाव लड्ने वा नलड्ने बारेमा केहि बोलेका थिएनन्। ‘म अहिलेको भन्दा पनि पछिको परिस्थती आँकलन गरेर खुलेको थिएन,’ महराले भने, ‘पार्टीको निर्णयलाई मानेर अघि बढ्नु पर्छ, फलतः पार्टीको आधिकारीक मनासाय नबन्दै खुल्नु पनि उचित हुँदैन।’

 

महरा दाङ २ बाट निर्वाचन लड्ने भए महरा र एमाले महासचिव शंकर पोख्रेलका बिचमा चुनावी प्रतिष्पर्धा हुने छ। एमालेले पोख्रेलको नाम यो क्षेत्रबाट सिफारीस गरिसकेको छ।

 

साथै महासचिव पोख्रेलले आफू दाङ २ बाटै निर्वाचन लड्ने निर्णयमा पुगिसकेका छन्। उनले आइतबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा आफू दाङ २ बाट चुनाव लड्नका लागि नभई चुनाव जित्नका लागि उम्मेदवार बन्ने बताएका छन्।

 

यो पनि हेर्नुहोस, पहाडमा खान नपुगेर बसाई सरेको परिवारको बच्चा दुईपटक गणतन्त्र नेपालको प्रधानमन्त्री भएँ : प्रचण्ड – ‘सपना बनाउनुस्, दृढता राख्नुस्, सफलता चुम्न आउँछ’

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवाहरुको अठोटबाट मात्रै नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताएका छन् ।

 

आइतबार काठमाडौमा युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले हजारौ युवाहरुले अठोट गर्ने हो भने नेपाललाई आत्मनिर्भरसहितको सम्मृद्ध मुलुक बनाउन सकिने बताएका हुन् ।

 

‘सपना बनाउनुस्, दृढता राख्नुस्, लागि पर्नुस्, सफलता चुम्न आउँछ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।

 

उनले नेपाल र नेपालीका लागि कृषिमा आत्मनिर्भर हुने कुरा सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै ५०, ६० वर्षअघिसम्म कृषि सामग्री निर्यात गर्ने मुलुक अहिले आयात गर्नुपर्ने अवस्था आउनु ठुलो चिन्ताको विषय भएको बताए ।

 

उनले पैसा कमाउने र देशलाई सम्मृद्ध बनाउने कुरा एउटै नभएको भन्दै उनले भने, ‘अहिले भ्रष्टाचार, ठगीबाट छिटो पैसा कमाउने प्रवृति हावी हुने होइन त भन्ने खतरा देखिँदैछ ।

 

सम्पत्ति कमाउनु सभ्य हुनु होइन । सम्पति कसरी कमाइन्छ र सम्पति कसरी खर्च गरिन्छ ? त्यो महत्वपूर्ण कुरा हो’, प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले आफु पहाडमा खान नपुगेर चितवन बसाई सरेको प्रसंग निकाल्दै अहिले विगतलाई फर्केर हेर्दा अचम्म लाग्ने गरेको बताए ।

 

‘म तपाईहरुले हेर्नुभयो भने साँच्चै नै, पहाडमा खान नपुगेर चितवन बसाइसराइ गरेर आएको परिवारको एउटा बच्चा ।

 

दुईचोटी त प्रधानमन्त्री भइसकेँ गणतन्त्र नेपालको’, प्रचण्डले भने, ‘कसरी यो सम्भव भयो ? यसो हेर्यो भने आफैलाई सपना हो कि विपना जस्तो लाग्छ । तर हुँदो रहेछ ।’

 

उनले यसमा आफुलाई गौरवशाली ठानेको भन्दै विगतमा आफुले युद्धको कमाण्डर पनि भएको तथा युद्धलाई शान्तिमा रुपान्तरण गर्ने अवसर पनि पाएको बताए ।

 

‘संविधान निर्माण गर्ने अवसर पनि प्राप्त भयो, संविधान जारी पछि पनि दोस्रो पटक प्रम भएर संविधान कार्यान्वयनको ऐतिहासिक अवसर पनि प्राप्त भयो’,

 

 

एउटै व्यक्तिलाई यति धेरै युगान्तकारी अवसर प्राप्त भएको भन्दै यो सबै आफ्नो अठोटका कारण यो सवै सम्भव भएको बताए ।

 

अध्यक्ष प्रचण्डले आफु जीवनको उत्तरार्द्धमा आइपुगेको भन्दै अब आफ्नो अठोट मुलुकको समृद्धि मात्र रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय