मंगलबार , फागुण १५, २०८०

राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले २०७४ कै निर्वाचनमा ‘बुढो भएँ’ भनेर चुनाव नलड्ने घोषणा गरेका थिए । पाँच वर्षपछि उनै केसी उमेर घटेर तन्नेरी भएझैँ चुनावी दौडमा उत्रिएका छन् ।

 

राष्ट्रिय जनमोर्चा संसदीय बोर्डको १८ भदौमा बसेको बैठकले बाग्लुङ–१ बाट अध्यक्ष केसी र प्युठानबाट उपाध्यक्ष दुर्गा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

 

‘अघिल्लो चुनावमा बुढो भए लड्दिन भन्नुभएको थियो । अहिले म फर्किए भनेर उम्मेदवार बन्नुभयो,’ जनमोर्चा स्रोत भन्छ, ‘उहाँलाई संसदमा ल्याउन बालुवाटारले पनि चाहेको देखियो ।’

 

अध्यक्ष केसी स्वयम् भने पार्टी नेतृत्व र कार्यकर्ताको चाहना अनुसार आफू उम्मेदवार बनेको बताउँछन् । ‘साथीहरूले भने । गठबन्धनका नेताले पनि तपाईं आउनु राम्रो हुन्छ भने । त्यसैले चुनाव लड्ने निर्णयमा पुगेँ,’ ८२ वर्षीय केसीले भने ।

 

प्रतिनिधिसभाका लागि नेता केसी नयाँ अनुहार होइनन् । जनमोर्चाले २०५१ देखि संसदीय चुनावमा भाग लिन थालेको हो । सो पहिलो निर्वाचनमा केसी बागलुङबाट उम्मेदवार थिए । २०५६ को निर्वाचनमा एमालेसँगको तालमेलमा चुनाव जितेका उनी २०६४ को संविधानसभा निर्वाचनमा एक्लै लडेर जिते ।

 

 

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेर संसद पुगेका केसी २०७२ कात्तिकमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसमेत बने । जनमोर्चाबाट मन्त्री हुने उनी एक्ला नेता हुन् ।

 

प्युठानमा पुनः उठ्न लागेकी पौडेल नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी हुन् । एमाले–माओवादी गठबन्धनको सहयोगमा उनी पहिलोपल्ट २०७४ मा प्युठानबाट निर्वाचित भएकी थिइन् । पाँच दलीय सत्ता गठबन्धन अहिले चुनावी भागवण्डामा व्यस्त छ ।

 

 

जनमोर्चाले बागलुङ र प्युठान मागेको छ । केही दिनअघि प्युठान पुगेका मसाल महामन्त्री सिंहले यी दुई क्षेत्र नपाए गठबन्धन छाड्ने बताएका थिए ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेता वामदेव गौतमलाई प्युठानबाट लडाउने वचन दिएका छन् । गौतम माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने तयारीमा छन् । जनमोर्चाले अडान लिँदा गौतमको निर्वाचन क्षेत्र अनिश्चित हुने स्थिति छ ।

 

 

 

जनमोर्चाले प्युठानलाई आफ्नो लालकिल्ला दाबी गर्दै आएको छ । २०५१ सालको निर्वाचनमा प्युठान २ बाट नवराज सुवेदी निर्वाचित भएका थिए । ०५६ को निर्वाचनमा प्युठानका दुवै क्षेत्र जनमोर्चाले जित्यो । क्षेत्र नम्बर १ बाट हरि आचार्य र २ बाट सुवेदीले जितेका थिए ।

 

२०६४ को माओवादी र २०७० मा एमालेले प्युठानका दुवै निर्वाचन क्षेत्र जितेका थिए । त्यसैले २०५६ पछि २०७४ मा मात्र एमाले–माओवादीको सहयोग लिएर जनमोर्चाले प्युठानमा चुनाव जितेको थियो ।

 

 

 

प्युठान र बागलुङको निर्वाचनलाई जनमोर्चाले प्रतिष्ठाको विषय बनाएको छ । ती क्षेत्र नपाए गठबन्धनबाटै बाहिरिने चेतावनी उसले सिट बाँडफाँट कार्यदल र शीर्ष तहलाई दिइसकेको छ ।

 

अध्यक्ष केसी भन्छन्, ‘सम्मानजनक सिट नपाए गठबन्धन हुँदैन । प्रस्टै भनौँ न प्युठान र बागलुङ जनमोर्चाले नपाए हामी गठबन्धनमा बस्दैनौँ । देशैभर उम्मेदवार उठाउँछौँ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय